राजनीति

बागमतीको मुख्यमन्त्री बन्दै इन्द्र बानियाँ

सरिता दाहाल |
जेठ १३, २०७९ शुक्रवार १५:३३ बजे

मकवानपुर । गत ११ कात्तिकमा बागमती प्रदेशको मुख्यमन्त्रीको सपथ लिएका राजेन्द्र पाण्डे अब ब्याक हुने भएका छन् । प्रदेश सरकारको पदावधि १ वर्ष बाँकी रहँदा आधा समयका लागि मुख्यमन्त्री बनेका पाण्डेले अब कांग्रेस नेता इन्द्रबहादुर बानियाँलाई पद छाड्नु पर्ने भएकाे हाे । 

१ वर्षको समयमा ६/६ महिना मुख्यमन्त्री चलाउन पाउने सत्ताधारी गठबन्धनको सहमति अनुसार अब बानियाँ मुख्यमन्त्री बन्ने पालो आएको हो ।  बागमती प्रदेशको चौथो मुख्यमन्त्री बन्दै गरेका का‌ंग्रेस नेता बानियाँले पूर्व सहमति अनुसारको तयारी हुँदै गरेको बताए ।

अब आर्थिक वर्ष २०७९/०८० को लागि बजेट सार्वजनिक गर्ने बेला भएकोले जिम्मेवारीको बाँडफाँट पनि यसै अनुरुप गरिएको छ । “बजेट एउटाले ल्याउने र चुनावी सरकारको नेतृत्व अर्कोले गर्ने भन्ने जेन्टलमेन्ट एग्रिमेन्ट भएको छ” बानियाँले भने “यसै हुनेछ ।”

स्रोतका अनुसार प्रदेश सरकारले आगामी आर्थिक वर्षको लागि बजेट सार्वजनिक गरेपछि मुख्यमन्त्रीको रुपमा बानियाँ आउँदै छन् । बानियाँ मुख्यमन्त्री बनेसँगै हाल  रहेका अन्य मन्त्रीहरुले पनि पालो दिनुपर्ने छ ।

गत कात्तिकमै मुख्यमन्त्रीको दाबेदार रहेका नेपाली कांग्रेस मकवानपुरका निवर्तमान सभापति तथा कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ गठबन्धनको सहमति अनुसार मुख्यमन्त्रीको होडबाट बाहिरिएर राजेन्द्र पाण्डेलाई अघि सारेका थिए ।

कात्तिकमा संघीय सरकारमा मन्त्रालयको भागबण्डाको क्रममा भएको सहमति अनुसार बानियाँ मुख्यमन्त्रीको होडबाट बाहिरिएका थिए भने नवगठित एकीकृत समाजवादीको केन्द्रीय उपाध्यक्ष तथा बागमती प्रदेश संसदीय दलको नेता राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्य मन्त्री बनेका थिए ।

नेकपा एमालेको विभाजनसँगै एमालेको तर्फबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्य अल्पमतमा परेपछि बागमती प्रदेशको मुख्यमन्त्रीको रुपमा पाण्डे नियुक्त भएका थिए ।
नेकपा एमाले विभाजनपूर्व मुख्यमन्त्री बनेकी शाक्य एमाले विभाजनपछि अल्पमतमा परेकी थिइन् । यो सँगै गठबन्धनको सहमतिमा पाण्डेलाई बागमती प्रदेशको मुख्यमन्त्री बन्ने माहोल बनेको थियो । बागमती प्रदेशमा अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले २ भदौदेखि १० कात्तिक सम्म प्रदेश सरकार चलाएकी थिइन् ।

सत्तारुढ दल विभाजन भएको ३० दिनभित्र मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान अनुसार नेकपा एमालेको स्पष्ट बहुमतबाट मुख्यमन्त्री नियुक्त भएकी शाक्य एमाले परित्याग गरी १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै अल्पमतमा परेकी थिइन् ।

बागमती प्रदेशसभामा हाल १०९ जना प्रदेशसभा सदस्य रहेका छन् । प्रदेश सरकार गठनको लागि ५५ सांसदको साथ आवश्यकता पर्दछ । तर, एमालेका १३ जना सांसदले एकीकृत समाजवादीमा सनाखत गरेसँगै एमालेमा ४३ सांसद मात्र रहेका छन् ।

नेपाली कांग्रेसले नयाँ सरकार गठनका लागि कात्तिक मै दाबी गरेको भएपनि गठबन्धनमा सहभागी भएपछि पहिलो ६ महिना पाण्डे मुख्यमन्त्री बन्ने र बाँकी ६ महिना बानियाँ मुख्यमन्त्री बन्ने सहमति भएको थियो ।

यता नेकपा एकीकृत समाजवादी केन्द्रिय सदस्य तथा बागमती प्रदेश सभा सदस्य मुनु सिग्देलले मुख्यमन्त्रीको आलोपालोबारे आफू अनविज्ञ रहेको बताइन् । "विगतमा भएको सहमति पनि मलाई थाहा छैन, अहिले फेरिने कुरो पनि थाहा छैन" सिग्देलले भनिन् "यो पार्टीको आन्तरिक कुरा हो ।"



Author

थप समाचार
x