राजनीति

महोत्तरीमा माओवादी केन्द्र खुम्चियो, अघिल्लो निर्वाचनमा जितेका सबै पालिका गुमायो

इकागज |
जेठ ७, २०७९ शनिवार २२:६ बजे

महोत्तरी – माओवादी केन्द्रले महोत्तरीमा २० वर्षे लामो विरासत गुमाएको छ । तत्कालीन जनमोर्चा र माओवादी केन्द्र एकीकरण भएपछि विशेषगरी बर्दिबास, रामगोपालपुर, गौशाला र सम्सीमा वर्चस्व कायम राख्दै आएको माओवादीले यो निर्वाचनबाट आफ्नो साख गुमाएको हो  ।

कतिपयले निर्वाचित जनप्रतिनिधिहरूको दम्भ र जनताको प्रतिनिधि बन्न नसक्दा पराजित बन्नुपरेको विश्लेषण गरेका छन् । तर माओवादी केन्द्रले भने पार्टीभित्रैको आन्तरिक कलह र अन्तर्घातले पराजय बेहोर्नु परेको बताउँदै आएको छ ।


माओवादी केन्द्र महोत्तरीका इन्चार्ज राजु खडका पार्टीले आफ्नै कारणले पराजय बेहोरेको स्वीकार गर्छन् । उनी भन्छन्, 'हामीले हामीभित्रै मिलाउन सकेनौं, जसको परिणाम आज भोग्दै छौं । तर, यसबाट केही सिकेका छौं ।'

लामो समयसम्म राज गर्दै आएको माओवादी केन्द्रको किल्ला भत्काउनु नै विपक्षी दलहरूले प्रमुख उपलब्धि ठानेका छन् । नेता गिरिराजमणि पोखरेल पनि महोत्तरीकै जनप्रतिनिधि हुन अझ पोखरेलको वडाबाट नै माओवादी केन्द्रले पराजय बेहोर्नुपर्‍यो । 'माओवादीहरूले पाल्दै आएको अहमतालाई पनि परास्त गरेका छौं,' नेकपा एमालेका स्थानीय नेता दिलीप थापाले भने ।

अघिल्लो निर्वाचनमा  माओवादी केन्द्रले बर्दिबाससहित गौशाला नगरपालिका, सम्सी गाउँपालिका, रामगोपालपुर नगरपालिकामा जित हासिल गरेको थियो ।

अहिलेसम्मको मतपरिणाम अनुसार तिनै रामगोपालपुर, बर्दिबास नगरपालिका, सम्सी गाउँपालिका र गौशाला नगरपालिका माओवादी केन्द्रले गुमाइसकेको छ ।

माओवादी केन्द्र बर्दिबास जस्तो लाल किल्लाबाट नै किन पराजित भयो भन्ने विषयमा पाटीभित्र समीक्षा र बहस हुन थालेको छ। निर्वाचनमा किन लज्जास्पद हार बेहोर्नु पर्‍यो भन्ने विषयमा नेताहरूको आफ्नै आकलन छन् ।

माओवादी भित्र जिल्लामा दुई धार छ । पूर्व जनमोर्चाहरु एकातिर छन् भने संस्थापन पक्ष अर्कोतिर छन् । टिकट बाँडफाँडमा समेत महोत्तरीमा यी दुई धारबीच निक्कै संघर्ष चल्यो ।

अन्तिम समयमा संस्थापन पक्षले आफ्नो वर्चस्व जमाउन खोजेपछि कतिपयले पूर्व जनमोर्चाका नेताहरूले नै निर्वाचनलाई कमजोर बनाएको आरोप प्रत्यारोप चल्न थालेको छ ।

जनमोर्चा धारका समूहहरू अझै नेता गिरिराजमणि पोखरेललाई स्थापित बनाउन चाहन्छन् तर अर्को पक्ष भने पोखरेललाई अब स्वीकार गर्न नसकिने बताउँदै आएको छ ।

यदि बर्दिबास नगरपालिकामा राजु खडकाले जितेको भए नेता पोखरेललाई विस्थापन गरेर प्रचण्डको उदय हुने आकलन गरिएको थियो । तर लगातार २०६४  देखि नै जित्दै आएका पोखरेललाई  पार्टीभित्रैका केही नेताहरू हटाउन लागिपरिरहेको स्रोतको भनाइ छ 

तर स्थानीय तहको निर्वाचनले सबैको आकलनलाई ठिक विपरीत बनाइदिएको छ । रणनीतिअनुसार काम नभएपछि बरु महोत्तरीबाट माओवादी खुम्चिएको छ ।


Author

थप समाचार
x