राजनीति

नवनिर्वाचित ६ पालिकाका प्रमुखहरूलाई शपथ ग्रहण

इकागज |
जेठ ७, २०७९ शनिवार २०:४ बजे

उदयपुर – नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षहरूलाई शनिवार जिल्ला अदालत उदयपुरका न्यायाधीश दीपक खनालले पद तथा गोपनीयताको शपथ खुवाएका छन्। जिल्ला अदालत उदयपुरको सभाहलमा नवनिर्वाचित नगर प्रमुख तथा अध्यक्षलाई अनुसूची २ को दफा १०९ अनुरूप शपथ खुवाएको हो ।

उदयपुरमा ४ नगरपालिका र ४ गाउँपालिका गरी ८ स्थानीय तह मध्ये ६ पालिकाका प्रमुखहरूलाई शपथ ग्रहण खुवाइएको छ । गाईघाटस्थित उदयपुर जिल्ला अदालतमा न्यायाधीश दीपक खनालले ४ गाउँपालिका र दुई नगरपालिका गरी जम्मा ६ प्रमुखलाई शपथ खुवाएका हुन् ।


शपथ लिनेहरूमा लिम्चुङबुङ गाउँपालिकाबाट निर्वाचित मेजरकुमार राई, रौतामाई गाउँपालिकाबाट निर्वाचित बिरेन्द्रकुमार मगर, उदयपुरगढी गाउँपालिकाबाट निर्वाचित मानबहादुर केप्छाकी मगर, ताप्ली गाउँपालिकाबाट निर्वाचित ढुंङ्गराज विक र नगरपालिका तर्फ चौदण्डीगढी नगरपालिकाबाट निर्वाचित कालुमान लामा र बेलका नगरपालिकाबाट निर्वाचित अशोक कार्की रहेका छन् ।

न्यायाधीश खनालले नगरपालिका तर्फबाट निर्वाचित लामा र कार्कीलाई पहिलो चरणमा र दोस्रो चरणमा गाउँपालिका तर्फबाट निर्वाचित चार जना अध्यक्षलाई शपथ खुवाएका थिए । उदयपुरमा दुई नगरपालिकाको भने मत परिणाम आउनै बाँकी रहेको छ । 

विवादका कारण त्रियुगामा मतगणनै हुनसकेको छैन भने कटारीमा भइरहेको छ । विवाद रहित समयमै सकिएका ६ गाउँपालिका मध्ये लिम्चुङबुङ गाउँपालिकाले सबैभन्दा पहिले मत परिणाम सार्वजनिक गरेका थिए ।


Author

थप समाचार
x