राजनीति

बनेपामा कांग्रेसको विशाल विजयी र्‍याली

इकागज |
जेठ ५, २०७९ बिहीबार १९:१५ बजे

बनेपा – स्थानीय तहको निर्वाचन अन्तरगत बनेपा नगरपालिकामा जित हासिल गरेपछि नेपाली कांग्रेस बनेपा नगरले विशाल विजयी र्‍याली निकालेको छ । 

बनेपाको टेलिकम चोक नजिक रहेको पार्टी नगर सम्पर्क कार्यालयबाट हजारौँको संख्यामा नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले विशाल विजयी र्‍याली निकाली बनेपा बजार परिकर्मा गरेका थिए ।


बजार परिकर्मा पश्चात बनेपाको चण्डेश्वरी मन्दिरमा पुगी विजयी सभामा परिणत भएको थियो । नेपाली कांग्रेसको गढ मानिने बनेपा नगरपालिकामा २०७४ सालको स्थानीय निर्वाचनमा नेकपा एमाले विजयी भएको थिए । पाँच वर्ष पछि पुनः कांग्रेसले आफ्नो विरासत फर्काएपछि नेपाली कांग्रेसका नेता, कार्यकर्ता उत्साहित भई विजय जुलुसमा सहभागी भएका थिए । 

विजय जुलुसपछि विजयी सभामा बोल्दै नवनिर्वाचित मेयर शान्तिरत्न शाक्यले बनेपाली जनताको सुख दुःखमा दिनरात नभनी खटिने बताए । शाक्यले आफूले पार्टीबाट चुनाव जिते पनि समग्र बनेपालीको मेयर बनेर काम गर्ने बताए । उनले कुनै दल तथा कार्यकर्ता नभनी प्रतिपक्षी दलहरुलाई समेत समेट्दै बनेपाको समृद्धिमा सदैव लागिपर्ने बताए ।

वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा बनेपा नगरपालिकाको मेयर पदमा नेपाली कांग्रेसका शान्तिरत्न शाक्य १३ हजार ७ सय ९३ मत प्राप्त गरी विजयी भएका थिए भने उनका निकटम प्रतिद्वन्द्वी एमालेका रत्नकुश रंजितकारले ११ हजार ८ सय ३५ मत पाएका थिए । उप प्रमुखमा भने नेकपा एमालेका विमला सापकोटा दाहालले ११ हजार ९ सय ९२ मत ल्याइ विजयी भएकी छन् ।


Author

थप समाचार
x