दल

विराटनगरमा स्वतन्त्र उम्मेदवारको गठबन्धन ! २१ जनाले लिए ‘लालटिन’ चुनाव चिह्न

बाबुराम भण्डारी |
बैशाख १८, २०७९ आइतबार १३:५ बजे

विराटनगर - विराटनगर महानगरपालिकामा स्वतन्त्र उम्मेदवारी दिएर चुनावमा होमिएका २१ जनाले एउटै चुनाव रोजेका छन् । शनिबार मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरमा सबै स्वतन्त्र उम्मेदवारहरूले एउटै चुनाव चिह्न रोजेका हुन् ।

उनीहरूको रोजाइका आधारमा निर्वाचन अधिकृतको कार्यालय विराटनगरले साझा चुनाव चिह्न ‘लालटिल’ दिएको हो । मेयर र उपमेयरदेखि वडाध्यक्ष र सदस्यसम्मले लालटिन चुनाव चिह्न पाएका हुन् । दलहरू गठबन्धन गरेर चुनावमा होमिरहेका बेला विराटनगरमा स्वतन्त्र उम्मेदवारहरूले पनि गठबनधन गरेको चर्चा हुन थालेको छ । 


स्वतन्त्रतर्फका अन्य ७ जनाले पनि एउटै चिह्न ‘चापाकल’ पाएका छन् । जनता समाजवादी परित्याग गरेर मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका उमेश यादव र माओवादी केन्द्र विराटनगर महानगर समितिकी सचिव नमिता न्यौपाने उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएर दुवैले लालटिन चिह्न पाए । त्यसैगरी वडाध्यक्षहरू तर्फ ९ जना स्वतन्त्र उम्मेदवारले पनि लालटिन चिह्न नै रोजेका हुन् । 

मुख्य निर्वाचन अधिकृतको कार्यालय विराटनगरका सूचना अधिकारी हेम बहादुर बुढाथोकीका अनुसार मेयरका उम्मेदवार यादव, उपमेयरकी न्यौपानेसहित वडा नं. २ का भरत ठाकुर, ३ का विक्रम कार्की, ४ का सुवासचन्द्र यादव, ८ का फुल मोहमद, ९ का देशबन्धु ढकाल, १० मा माधवराज वाग्ले, ११ मा निर्मल तामाङ, १४ मा बगुवा तामाङ र १८ मा जितेन्द्र कुमार साहले लालटिन चुनाव चिह्न पाएका हुन् । बाँकी १० जना वडा सदस्य, महिला सदस्य र दलित महिला सदस्यतर्फका उम्मेदवार पनि लालटिन छापबाट चुनाव लड्दैछन् ।

मेयर र उपमेयरका स्वतन्त्र उम्मेदवार यादव र न्यौपानेले २०७४ को स्थानीय तह निर्वाचनमा पनि सोही पदमा उठेर तेस्रो मत प्राप्त गरेका थिए । यादव तत्कालीन संघीय समाजवादी फोरम र न्यौपाने माओवादी केन्द्रको संयुक्त गठबन्धनबाट चुनाव लडेका थिए । 

यसपटक उनीहरूले साझा चुनाव चिह्न रोजेको र स्वतन्त्र उम्मेदवारी दिएका अरु वडाध्यक्षहरू समेतले लालटिन चिह्न रोजेका कारण स्वतन्त्रहरूको पनि गठबन्धन बन्न लागेको राजनीतिक बृत्तमा चर्चा हुन थालेको छ । स्वतन्त्र उम्मेदवारी दिएका उनीहरूले चुनाव चिह्न लालटिन पाएपछि मुख्य निर्वाचन अधिकृतको कार्यालय परिसरमै संयुक्त रुपमा फोटो समेत खिचाएर सार्वजनिक गरिसकेका छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवका छोरा अमरेन्द्र यादव कांग्रेससँगको गठबन्धनबाट उपमेयरको दौडमा छन् । विराटनगरमा गठबन्धन दलहरूबीच भागबण्डाको कुरा नमिल्दा गठबन्धन भनिएपनि एक्लाएक्लै चुनावी मैदानमा छन् । गठबन्धन दलहरू चुनावी मैदानमा मिलेर उत्रिन नसक्दा तीन दलसँग जोडिएकाहरूले स्वतन्त्र उम्मेदवारी दिएर ‘स्वतन्त्र गठबन्धन’ निर्माण गरिरहेका छन् ।

गठबन्धन दलभित्रको माओवादी केन्द्रबाट उपमेयरमा स्वतन्त्र उम्मेदवारी दिएकी न्यौपानेलाई अहिलेसम्म पार्टी नेतृत्वले कारबाही नगरेका कारण गठबन्धनभित्र झन आशंका बढाउँदै लगेको छ । माओवादी निकटका नेताहरूले नै न्यौपानेलाई उपमेयरमा स्वीकारेको भान हुने गरी सामाजिक संजालमा आफ्ना अभिव्यक्ति दिंदै आएका छन् । 

यसले विराटनगरमा कांग्रेसमात्रै होइन, गठबन्धनभित्रका अन्य दलहरू पनि चुनावी तालमेलमा सन्तुष्ट नभएको देखाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयले विराटनगरमा स्वतन्त्र उम्मेदवार रहेका ४४ जनालाई निर्वाचन चिह्न प्रदान गरिएको जनाइएको छ ।

स्वतन्त्र उम्मेदवारी दिएका मध्ये २ मेयर, ३ उपमेयर, १७ वडाध्यक्ष, २ महिला सदस्य र सदस्यमा २० जना रहेका छन् । उनीहरूलाई निर्वाचन आयोगले तोकेका चुनाव चिह्नमध्ये रोजेको चिह्न प्रदान गरिएको जनाइएको छ ।

मेयरका स्वतन्त्र उम्मेदवार सक्रिय गौतमले घण्टाघर, उपमेयरकी गंगादेवी सुवेदीले चापाकल र बसुन्धरा देवी झाले जेब्रा चिह्न पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
 


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x