दल

विराटनगरको मेयरमा १६ र उपमेयरमा १७ जनाको उम्मेदवारी

बाबुराम भण्डारी |
बैशाख १३, २०७९ मंगलबार ११:२७ बजे

विराटनगर - विराटनगर महानगरपालिकाको मेयरमा १६ जनाको उम्मेद्दवारी दर्ता भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार उपमेयरम १७ जनाले उम्मेदवारी दिएका छन् । 

मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकृत हेमबहादुर बुढाथोकीका अनुसार विराटनगर महानगरपालिकाको मेयर, उपमेयर, वडाध्यक्ष र सदस्यहरूमा जम्मा ७२४ वटा मनोनयन दर्ता भएको छ । 


सोमबार मध्यान्नपछि गठबन्धनमा सहभागी दल र नेकपा एमालेका उम्मेदवार एकैचोटी मनोनयन दर्ताका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालय पुगेका थिए । 

ठूलो संख्यामा एकैचोटी उम्मेदवारहरू मनोनयनका लागि गएका कारण कर्मचारीलाई दर्ताको सबै प्रक्रिया पुरा गर्न कठिन भएको हो । मुख्य निर्वाचन अधिकृतको कार्यालयले मंगलबार बेलुकासम्म मात्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्न सक्ने जनाएको छ । 

राति साढे २ बजेमात्रै मनोनयनको फाइलहरू रुजु भएको बताए । त्यसलाई दर्ता किताबमा दर्ता र आयोगको प्रणालीमा प्रविष्ट गर्ने काम अझै बाँकी रहेको सूचना अधिकारी बुढाथोकीले बताए ।

‘७२४ वटा मनोनयन पत्र दर्ता भएका छन्, जसमध्ये अहिले ९ बजेसम्म ५०८ जनाको उम्मेदवारी मात्रै आयोगको प्रणालीमा राख्न सकिएको छ, बाँकी काम सक्दा साँझ पर्ने अवस्था छ ।’ उनले मनोनयन फारम लिएर आएका उम्मेद्दवारहरुले फारममा उल्लेख गर्नुपर्ने सूचना र जानकारी नै उल्लेख नगरेकोले अत्याधिक समय लागेको बताए । 

‘मनोनयन दर्ताका लागि बसेका कर्मचारीहरूले उम्मेदवारी फाराम मिलाउनतिर लागिदिनु परेपछि के हुन्छ ?’ उनले भने, ‘दलहरूले जुन भूमिका खेलिदिनु पर्ने थियो, त्यो भएन, दलहरूलाई पटक-पटक भनेको कुरा पनि उम्मेदवारी दिने क्रममा त्रुटिपूर्णरूपमा ल्याएकोले समस्या भयो ।’ 

बुढाथोकीले उम्मेदवार बनेको व्यक्ति अर्को उम्मेदवारको प्रस्ताव समर्थक बस्न नहुने भने पनि मनोनयन पत्रमा त्यसलाई वेवास्ता गरेर फायल आएको जानकारी दिए ।

१९ वटा वडा रहेको विराटनगर महानगरपालिकामा १७० जना बढीको उम्मेदवारी परेको जनाइएको छ । अहिले पनि मनोनयन पत्र दर्ता गर्ने फाइलको अध्ययन भइरहेकोले वडाध्यक्षको उम्मेद्दवारको संख्या यकिन हुन बाँकी रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x