दल

प्रचण्डलाई एकपछि अर्को संकट

अनिष भट्टराई |
चैत ७, २०७८ सोमबार १६:३५ बजे

काठमाडौँ– माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राजनीतिमा चतुर खेलाडी मानिन्छन् । आफूमा कुनै संकट आइलाग्न लाग्यो भने त्यसलाई टार्न उनले गन्जागोल सिर्जना गराउँछन्, तर पनि राजनीतिमा उनका संकट कम भएका छैनन्, बरु गहिरिदैं गएका छन् । 

‘आफू ताक्छ मुढो, बञ्चरो ताक्छ घुँडो’ भनेजस्तो प्रचण्डले एकातिर निशाना साँध्दा परिस्थितिले उनलाई हुत्याएर अप्ठ्यारो ठाउँमा पार्ने गरेको छ । दश वर्ष लामो सशस्त्र द्वन्द्व बिसाएर खुला राजनीतिमा आएपछि प्रचण्डका लागि आरोह कम र अवरोह धेरै भएका छन् । खुला राजनीतिमा आएपछि पहिलो संविधानसभाको निर्वाचनमा पहिलो दल बन्नु र एमालेसँग सम्झौतामा आधारित एकता गरेरै भएपनि माओवादी केन्द्रको राजनीति बचाएर दुई तिहाई बहुमत प्राप्त दलको अध्यक्षमा साझेदारी गर्नु उनको खुला राजनीतिक जीवनको आरोह हो भने, बाँकी समय राजनीतिक सौदाबाजी र अवरोहमा बितेको छ ।


अहिले पुनः प्रचण्ड कार्यकर्तालाई निर्वाचनमा माओवादी पहिलो दल बन्ने तिलस्मी सपना बाँडिरहेका छन् । माओवादीसँग अरुले गठबन्धन गर्न आउने हो, हामी जाने होइन भनेर उनले माओवादी कांग्रेस वा एमाले दुवै ध्रुवमा लाग्न सक्ने सम्भावनालाई पनि खुला राखेका छन् । 

वितगमा एमालेसँग पार्टी एकता गरेर नेपालको इतिहासमै ठूलो कम्युनिष्ट पार्टी बनाएर त्यसमा विद्रोह गरेका प्रचण्डलाई पुनः एमालेसँग मिल्नु सहज छैन । एमालेले अन्य कम्युनिष्ट पार्टीलाई स्याटेलाइट दलहरू भनिरहेको छ । त्यसो त आजभोलिका प्रचण्डका अभिव्यक्तिहरू पनि कम रोचक छैनन् । 

माओवादी केन्द्रको फागुन २० मा बसेको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दैै अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउन नै अमेरिकी सहयोग परियोजना (एमसीसी) पास गर्नुपरेको बताएका थिए । 

‘संसदबाट हामीले एमसीसीलाई ट्याक्टफुल्ली पास गरेसँगै गठबन्धन चुनावसम्म जाने निश्चित भएको छ,’ प्रचण्डले भनेका थिए, ‘यो गठबन्धन तीनै तहका चुनावमा पनि कायम राख्ने प्रयास गर्छौं ।’ एमसीसीकै कारण गठबन्धन फुट्ने परिस्थिति आएपछि एमसीसी पास गर्नुपरेको उनको स्वीकारोक्ति थियो । 

त्यसको पाँच दिनपछि (२५ फागुन) प्रचण्डले वागमती प्रदेशस्तरीय बैठकमा बोल्दै प्रचण्डले अपमानजनक अभिव्यक्ति नदिन कांग्रेस नेताहरुलाई आग्रह गरे । माओवादीलाई चुनाव जित्न गठबन्धन नचाहिने भएकाले आफूहरुलाई हात्तीको कानमा बसेको चमेरा नभन्न उनको चेतावनी दियो । 

२८ फागुनमा माओवादीका स्वर्गीय नेता पोष्टबहादुर बोगटीको शालिक अनावरणमा बोल्दै प्रचण्डले निर्वाचनमा आफूहरु एक्लै प्रतिस्पर्धा गर्न सक्ने बताए । निर्वाचनमा तालमेलका लागि कोसिश गर्ने, सहमति नभए एक्लै चुनाव लड्न सक्ने क्षमता माओवादीसँग भएको उनको भनाइ थियो । 

३० फागुनमा सुदूरपश्चिममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै प्रचण्डले आफ्नै खुट्टामा उभिएर चुनाव लड्ने नीति माओवादीको भएको बताए । सहायक रुपमा अरु दलसँग पनि तालमेल गर्ने नीति लिन सकिने भएपनि पहिलो प्राथमिकता आफ्नै तागतमा निर्वाचन लड्ने हुुनुपर्ने उनको जिकिर थियो । 

३ चैतमा प्रेस सेन्टर नेपाल, लुम्बिनीको कार्यक्रममा बोल्दै एमालेसँग तालमेल असम्भव नरहेको र कांग्रेसले लखेट्न थाले परिस्थिति के हुन्छ भन्न नसकिने बताए । कांग्रेसका केही नेता अतिवादी देखिएकाले एमालेसँगको सहकार्यको सम्भावनलाई पनि असम्भव भन्न नसकिने उनको तर्क थियो । 

५ चैतमा उनै प्रचण्डले एमाले अध्यक्ष केपी ओलीलाई ‘भिलेन’ भन्दै चुनावमा परिवर्तन विरोधीलाई हराउनु पर्ने बताए । ओली राम्रो ‘भिलेन’ भएकाले आफू राम्रो ‘हिरो’ हुन सकेको उनको बुझाइ थियो । 

आइतबार प्रेस सेन्टर गण्डकीको कार्यक्रममा बोल्दै आउँदो चुनावमा माओवादीले बहुमत ल्याउने सम्भावना बढिसकेको बताए । चुनावमा माओवादीले अरुको वैशाखी टेक्ने नभइ अरु पार्टीहरु माओवादीसँग तालमेल गर्न आउनुपर्ने उनको भनाइ थियो । ‘हामी गठबन्धन होला र चुनाव जितौंला भनेर बस्ने होइन, आफ्नै खुट्टामा उभिने हो । आफ्नै संगठनलाई बलियो पार्ने हो,’ प्रचण्डले भने । 

अध्यक्ष प्रचण्डले थरि–थरिका अभिव्यक्ति दिइरहेका छन् । उनी गठबन्धन रहन्छ÷रहँदैन भन्नेमा ढुक्क हुन नसक्दा थरिथरिका भाषण दिइरहेका छन् । गठबन्धनको नेतृत्व लिएको दल नेपाली कांग्रेसले अहिलेसम्म औपचारिक रुपमा गठबन्धन कायम राख्ने वा नराख्ने बारे निर्णय लिइसकेको छैन । 

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ११ चैतमा बस्ने कांग्रेस केन्द्रीय समितिको बैठकले चुनावमा गठबन्धन गर्ने/नगर्ने निर्णय लिने बताए । ‘बाहिर को नेताले के बोल्यो भन्नेले फरक पार्दैन । ११ गते बस्ने बैठकले नै यसबारे निर्णय गर्नेछ,’ शर्माले भने । गठबन्धनको भविष्यबारे विश्वस्त हुन नसकेका प्रचण्ड कहिले एक्लै लड्ने बताइरहेका छन् भने कहिले एमालेसँगको सहकार्य असम्भव नरहेको भन्दै कांग्रेसलाई ‘घुर्की’ लगाइरहेका छन् । 

त्रिभुवन विश्वविद्यालयमा राजनीतिशास्त्रका प्राध्यापक तथा राजनीतिक विश्लेषक राजेन्द्र चापागाईं प्रचण्ड अहिले ‘कन्फिडेन्ट’ देखिनु चुनावी रणनीतिमात्र भएको बताउँछन् । ‘कांग्रेसका एक नेताले माओवादी चमेरा भएर कांग्रेसको हात्ती चढिरहेको बताएपछि उनले आफू कन्फिडेन्ट भएको देखाउने बाध्यता आइलागेको छ,’ उनले भने । अर्का राजनीतिक विश्लेषक राधेश्याम अधिकारी यो केबल चुनावी दाउपेच भएको बताउँछन् । ‘राजनीतिमा ब्लफ कल भन्ने हुन्छ, यो दाउपेचमात्र हो,’ उनले भने ।

शान्ति सम्झौतापछि निरन्तर ओरालो यात्रा !

प्रचण्ड आफूलाई राष्ट्रिय राजनीतिका केन्द्र बनाउन चाहन्छन् । तर राजनीतिक विश्लेषकहरु भने शान्ति सम्झौतापछि प्रचण्डको ओरालो यात्रा सुरु भएको बताउँछन् । विश्लेषक राधेश्याम अधिकारी गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति नबनाउनु र कटवाल प्रकरण  गर्नु प्रचण्ड र माओवादी आन्दोलनको राजनीतिक यात्रामा ‘टर्निङ पोइन्ट’ भएको बताउँछन् । ‘अझै पनि प्रचण्डको आलोकाँचो व्यवहारले दिनहुँ साथीहरु छुट्दै छन्, माओवादीको साख घटेको देखिन्छ,’ उनले भने । 

राजनीतिक विश्लेषक चापागाईं अहिले प्रचण्डले आफ्नो पार्टी बिसाउने ठाउँ खोजिरहेको बताउँछन् । माओवादी आन्दोलन अहिले खिइँदै जाँदा प्रचण्ड पनि पार्टीको भारी बिसाउन खोजिरहेको बताउँछन् । ‘भारी बिसाउने प्रयास स्वरुप एमालेमा लगेर पार्टी मिसाए, अहिले फेरि सम्भावना देखे पार्टीको भारी बिसाउँछन्,’ उनले भने ।
सशस्त्र जनयुद्धबाट आफ्ना एजेन्डा स्थापित गरेपनि एजेन्डाको सफलतासम्म डोर्याउन नसक्नु नै प्रचण्डको गल्ती भएको बताउँछन् । माओवादी नेतृत्वले पदको लाभ, हानिको पछि लाग्दा अहिले विचार, दृष्टिकोण गुमाएको उनले बताए । ‘प्रचण्डमा भावुकता धेरै देखिन्छ । सरकारी कर्मचारी कटवालसँग झगडा गरेर सरकार गुमाउनु परेकै हो, त्यहीँबाट माओवादी आन्दोलन शिथिल बन्यो,’ चापागाईंले भने ।

यसमा प्रचण्ड स्वयं पनि सहमत छन् । प्रचण्डले आइतबार पोखरामा आयोजित प्रशिक्षणमा बोल्दै रुकमाङ्गत कटवाल प्रकरण पछि माओवादी आन्दोलन विभाजित भएको स्वीकारेका छन् । माओवादी आन्दोलन बिटुलिनुको अर्थ उनी स्वयं असफल हुनु नै हो । 

दश वर्षे सशस्त्र जनयुद्ध हाँकेर संसदीय राजनीतिमा आएका प्रचण्ड गणतन्त्र नेपालको पहिलो प्रधानमन्त्री बने । पहिलो संविधानसभा निर्वाचनमा उनी दुई निर्वाचन क्षेत्रबाट विजयी बने, रोल्पा २ र काठमाडौं १० बाट निर्वाचित बने । तर प्रधानसेनापति कटवाल काण्डका कारण उनी नौ महिनामै सरकारबाट बाहिरिनु पर्यो । कांग्रेसलाई राष्ट्रपति दिने गरि प्रचण्डले तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालासँग सहमति गरेका थिए । गिरिजालाई राष्ट्रपति बनाउने भद्र सहमति तोड्दै प्रचण्डले रामराजाप्रसाद सिंहलाई राष्ट्रपतिको उम्मेदवार बनाइदिए । कोइरालाले राष्ट्रपति बन्ने अवस्था नदेखेपछि रामवरण यादवलाई कांग्रेसको उम्मेदवार बनाए, उनै यादवलाई नेकपा एमालेले साथ दिएपछि यादव देशको पहिलो राष्ट्रपति बने । 

पहिलो संविधानसभा निर्वाचनमा दुई ठाउँबाट निर्वाचित प्रचण्ड दोस्रो संविधानसभा निर्वाचनमा भने दुई ठाउँमा १ मा पराजित बने । सिरहा ५ बाट निर्वाचित भएका उनी त्यसबेला काठमाडौं १० मा हारेका थिए । पहिलो संविधानसभामा पहिलो दल बनेको माओवादी पनि दोस्रो संविधानसभामा तेस्रो दलमा खुम्चियो । 

माओवादी आन्दोलनको निरन्तर ओरालो यात्रा देखेका प्रचण्डले २०७४ को निर्वाचनमा भने एक्लै लड्ने आँट गरेनन् । स्थानीय तह निर्वाचनमा उनले कांग्रेसको आड लिए भने प्रदेश र संघको निर्वाचनमा एमालेसँग वाम गठबन्धन गरे । आगामी निर्वाचनमा पनि एक्लै लड्न नसक्ने देखेका प्रचण्ड अहिलेकै सत्ता गठबन्धनलाई कायम राखेर निर्वाचन लड्नुपर्ने बताइरहेका छन् । 

प्रचण्ड अहिले पार्टीभित्रै पनि कमजोर बन्दै गएका छन् । एमसीसीका विषयमा पार्टीका शीर्ष नेताले फरक मत राखेका थिए । नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, देव गुरुङ, लिलामणी पोखरेलले केन्द्रीय समिति बैठकमा फरक मत राखेका थिए । केन्द्रीय समिति बैठकमा श्रेष्ठले माओवादी नेतृत्व चरम व्यक्तिवादी बनेर पुँजीपति, दलालसँग साँठगाँठ गरेको आरोप समेत लगाएका थिए । महाधिवेशन सकाएपनि माओवादीमा अहिलेसम्म पदाधिकारीको टुङ्गो लगाउन पनि पैचण्ड असफल भएका छन् । उनले नाम पढेर सुनाएका केन्द्रीय समितिको नामावलीमा पनि सहमति पार्टीभित्र देखिँदैन ।

बाबुराम र बादलहरूले फसाएः माओवादी नेताहरू

माओवादी केन्द्रका नेताहरू माओवादी आन्दोलनको क्षयीकरणलाई स्वीकार्छन् । अध्यक्ष प्रचण्डले पनि बेलाबखत आफ्ना गल्तीहरुको समिक्षा गर्दा केही त्यस्ता घटना औंल्याउने गरेका छन्, जसबाट माओवादी केन्द्रको ओरालो यात्राले तीव्रता पाएको थियो । गिरिजालाई राष्ट्रपति नबनाउनु र कटवाल प्रकरणका कारण माओवादी ओरालो लागेको तथ्य प्रचण्डले पनि स्वीकारिसकेका छन् । 

माओवादी नेता हरिबोल गजुरेल आफूहरुका गल्तिले माओवादीमा क्षयीकरण आएको र अब बिस्तारै ती कमजोरी सच्याएर जनताको भरोसा जित्ने बताउँछन् । ‘व्यवहारतः हाम्रै गल्ति, कमजोरीले जनता हामीबाट टाढिए । हामीले गल्ती गरेकै हो, आन्दोलनमा क्षयीकरण भएकै हो,’ गजुरेलले भने । 

पार्टीका केही नेताले नेतृत्वलाई गलत दबाब दिएकै कारण अहिले माओवादी कठिन परिस्थितिमा आएको गजुरेल बताउँछन् । तर अहिले नेतृत्वमा वैचारिक स्पष्टता आइसकेको कारण अब कुनै दबाबले काम नगर्ने हुँदा माओवादी फेरि जनताको माझ लोकप्रिय बन्ने उनको दाबी छ । ‘गिरिजाप्रसाद कोइरालालाई राष्ट्रपति बनाइदिएको भए पनि त्यस्तो केही हुन्थेन । बाबुराम र बादलजीहरूले कटवाल प्रकरण गर्न उकास्नु भयो । नेतृत्वलाई उकासेर माओवादीलाई बद्नाम पारियो,’ उनले थपे । 

पार्टीमा वैचारिक स्पष्टता आएपछि आउँदो चुनावमा जान माओवादी तयार भएको गजुरेल बताउँछन् । जनताले अब माओवादीलाई पत्याउने आधार प्रशस्त भएकाले माओवादी आगामी चुनावपछि बलियो पार्टी बनेर आउने बताए । ‘एमसीसीका विषयमा अध्यक्षज्यूले साहसिक काम गर्नुभयो, अब पार्टीमा वैचारिक स्पष्टता छ । कार्यकर्तामा स्पष्टता छ,’ उनले भने, ‘गरेका गल्तीका समीक्षा गरेर सुधारिरहेका छौं, माओवादी अब फेरि उकालो यात्रामा आउँछ ।’


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x