दल

७७ वटै जिल्लामा कांग्रेस अधिवेशन सकियो, देउवा र शेखर पक्ष कुन बलियो ?

दुर्गा आचार्य |
फागुन ३०, २०७८ सोमवार ११:१७ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सबै जिल्लाको अधिवेशन सकिएको छ । बाँकी रहेका १६ जिल्लाको अन्तिम नतिजा आएसँगै ७७ वटै जिल्ला अधिवेशन सकिएको​​ कांगेस केन्द्रीय निर्वाचन समित सदस्य सिताराम केसीले जानकारी दिए । 

उनका अनुसार महाधिवेशनअघि ६१ जिल्लाको जिल्ला अधिवेशन भएको थियो । बाँकी १६ जिल्लाको अधिवेशनको नतिजा सोमबार आएको केसीले बताए । 


७७ जिल्ला अधिवेशन सम्पन्न हुँदा पार्टी सभापति शेरबहादुर देउवा पक्ष बलियो देखिको छ । १४औँ महाधिवेशनपछि कृष्ण प्रसाद सिटौला, विमलेन्द्र निधि र प्रकाशमान सिंहसमेत देउवासँग मिल्न गएपछि धेरै जिल्लामा देउवा निकटमा जिल्ला सभापतिहरू विजयी भएका हुन् ।

सिटौला निकटमा २, निधि निकटका १ र प्रकाशमान निकटका एक सभापति निर्वाचितसमेत गरी देउवा पक्षका ४१ जिल्ला सभापतिहरू निर्वाचित भएका छन् । यता, सभापतिका प्रत्याशी नेता डा. शेखर कोइराला पक्षका ३१ जिल्ला सभापतिहरू निर्वाचित भएका छन् । पाँच जना जिल्ला सभापति भने कतै खुलेका छैनन् । 

देउवा पक्षबाट प्रदेश १ का ताप्लेजुङ, इलाम, धनकुटा, सोलुखुम्बु, वखलढुंगा र उदयपुर सभापति विजयी भएका छन् ।

प्रदेश २ का सिरहा, सर्लाही, रौतहट, बारा र पर्सा सभापति विजयी भएका छन् । सिरहामा निर्वाचनमा फर्जी मत हालेको विवाद भएपछि अर्को पक्षले चुनाव नै बहिष्कार गरेको थियो । त्यहाँ रामचन्द्र यादवलाई निर्वाचन समितिले विजयी भनेर घोषणा गरेपनि रामसुन्दर चौधरीलाई सभापति घोषणा गरेर अर्को पक्षले समानान्तर समिति बनाएको छ । 

यस्तै धनुषामा निधि निकट विजयी उम्मेदवार योगेन्द्र पञ्जियारलाई शेखर समूहले सहयोग गरेको थियो ।

यस्तै बागमतीमा रामेछाप, रसुवा, काठमाडौँ, भक्तपुर, भक्तपुर, काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुरमा देउवा पक्षका सभापति विजयी भएका छन् ।

गण्डकीका मनाङ, लमजुङ , तनहुँ, म्याग्दी, बागलुङ , पर्वत, लुम्बिनीका रुपन्देही, र बर्दियामा देउवा पक्षका सभापति विजयी भए । 

यता, कर्णालीमा डोल्पा, मुगु, जुम्ला, रुकुम पश्चिम, हुम्ला, जाजरकोट, सुर्खेतमा पनि देउवा पक्षका सभापति विजयी भएका छन् ।

सुदूरपश्चिममा कैलाली, डडेल्धुरा, कञ्चनपुर, अछाम, डोटी र बझाङमा देउवा निकट सभापतिले जितेका छन्  । बझाङमा देउवा समूहका उम्मेदवारलाई पराजित गर्दै खड्गबहादुर बोहोरा निर्वाचित भएका हुन् । यदपि बोहोरा पनि देउवा निकट नै मानिन्छन् । उनलाई शेखर समूहको सहयोग थियो । 

७७ मध्ये डा. शेखर निकटले ३१ जिल्ला जितेको छ । प्रदेश १ मा तेह्रथुम, भोजपुर, मोरङ, सुनसरी, खोटाङ र संखुवासभामा शेखर पक्षका सभापति निर्वाचित भए । संखुवासभाका सभापति दीपक खड्का संस्थापनइतरपक्षबाट जिल्ला सभापति भए पनि उनले १४औँ महाधिवेशनमा पार्टी सभापति शेरबहादुर देउवालाई सहयोग गरेका थिए । 

प्रदेश २ मा सप्तरीमा मात्रै शेखरनिकटका सभापति विजयी भएका छन् । यद्यपि बारा, धनुषा र महोत्तरीका जिल्ला सभापति निर्वाचित हुँदा शेखर समूहको सहयोग रहेको थियो ।

बागमती प्रदेशमा दोलखा, सिन्धुली, धादिङ, नुवाकोट र चितवन शेखर पक्षले जितेको छ । गण्डकीमा गोरखा, स्याङजा, नवलपुर, मुस्ताङ यस्तै, लुम्बिनीमा गुल्मी, पाल्पा, अर्घाखाँची, परासी, कपिललवस्तु, रुकुमपूर्व, रोल्पा, बाके, दाङ  र प्युठानमा शेखर पक्षका सभापति विजयी भए । कर्णालीमा शेखर समूहले कालिकोट र दैलेख जितेको छ । यता सुदूरपश्चिममा बाजुरा, दार्चुला र बैतडी सभापति जितेको छ । 

पाँच जना जिल्ला सभापति भने दुवै समूहमा खुलेका छैनन् । सल्यानका केशबबहादुर विष्ट, कास्कीका किशोरदत्त बराल, महोतरीका नागेश्वर यादव, पाँचथरका रुपनारायण जबेगु र ललितपुरका जितेन्द्र श्रेष्ठ कतै खुलेका छैनन् । ललितपुरका सभापति श्रेष्ठलाई शेखरपक्षले सहयोग गरेर जिताएपनि अन्तत उनी कतै खुलेनन् । 


Author

थप समाचार
x