दल

राष्ट्रिय सभा निर्वाचन

गठबन्धनभित्रको अन्तरघात छानबिन गर्न माओवादी र जसपाको माग

बाबुराम भण्डारी |
माघ १३, २०७८ बिहिवार १८:७ बजे

विराटनगर । बुधबार सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा गणतीय जित सुनिश्चित रहे पनि एमालेका अल्पसंख्यकतर्फका उम्मेदवार सोनाम ग्याल्जेन शेर्पा विजयी भएपछि सत्ता गठबन्धनभित्रको माओवादी केन्द्र र जनता समाजवादी पार्टीले त्यसको छानबिनका लागि माग गरेका छन् ।

माओवादी केन्द्र संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र बहादुर आङ्बो र जनता समाजवादी दलका नेता एवं सामाजिक विकासमन्त्री जयराम यादवले आफ्ना उम्मेदवारको पराजयको छानबिनका लागि गठबन्धनभित्र माग गरेका हुन् ।


नेता आङ्बोले निर्वाचनमा मतदान गर्ने गठबन्धनभित्रकै प्रदेश सांसद र स्थानीय तहका जनप्रतिनिधिलाई लक्षित गर्दै ऐजेन्डा, जनता, पार्टी र नेतृत्वप्रति इमान्दार बन्न नसकेको आरोप लगाएका छन् । उनले गठबन्धनतर्फका जनप्रतिनिधिहरु लालच र प्रलोभनमा परेको समेत दाबी गरेका छन् । 

‘लालच र प्रलोभनमा परेर भएको यो गम्भीर अन्तरघात कुनैपनि पार्टीको निम्ति क्षम्य हुन्न’ उनले सामाजिक संजालमा लेखेका छन् ‘निर्मतापूर्वक गम्भीर समिक्षा र पारदर्शी छानबिन गरेर प्रदेशको गठबन्धन अगाडि बढ्नुपर्छ, बढ्नेछ ।’

राष्ट्रियसभा निर्वाचनमा गठबन्धनभन्दा केही मतले पछि रहेको नेकपा एमालेका उम्मेदवार शेर्पाले अल्पसंख्यकतर्फ गठबन्धनभित्रको जनता समाजवादी पार्टीका उम्मेदवार हेमराज राई थुलुङलाई ३ सय ८४ मतको अन्तरले पराजित गरेका थिए । त्यसैगरी अन्यतर्फ गठबन्धनकै बलियो उम्मेदवार भनिएका कांग्रेसका गोपाल बस्नेत पनि एमालेकै उम्मेदवार गुरु बरालसँग मत बराबरी भएपछि गोलाप्रथाबाट ‘भाग्यवस्’ विजयी भएका थिए । 

महिलातर्फ भने एमालेकी उम्मेदवार सुमित्रा सुवेदी भण्डारीलाई गठबन्धनतर्फ नेकपा एकीकृत समाजवादीकी उम्मेदवार जयन्ती राईले ३ सय ३० मतान्तरले पराजित गरेकी थिइन् । प्रदेश १ मा गठबन्धनभन्दा नेकपा एमाले १४४ मतले पछि रहेको एमालेकै ठम्याई थियो । एमालेले आफ्ना उम्मेदवारहरुको जित सुनिश्चितताका लागि गठबन्धनभित्रकै मतलाई आफ्नो पक्षमा पार्नुपर्ने बाध्यात्मक अवस्था थियो । जुनकुरा अल्पसंख्यकतर्फको जित निकालेर एमालेले पुष्टि गरिसकेको छ भने अन्यतर्फ गठबन्धनका उम्मेदवार बस्नेतलाई कठिन चुनौती सिर्जना गरेर एमालेले चुनौती दिएको थियो ।

जित सुनिश्चित हुँदाहुँदैपनि अल्पसंख्यकतर्फ आफ्नो पार्टीका उम्मेद्दवार पराजित भएपछि जनता समाजवादीले समेत अन्तरघातको छानबिनका लागि गठबन्धनभित्र माग गरेको छ । जसपा संसदीय दलका नेता तथा सामाजिक विकासमन्त्री जयराम यादवले सत्ताधारी गठबन्धनको बहुमत हुँदाहुँदै आफ्नो पार्टीका उम्मेद्दवार पराजित भएकोमा असन्तुष्टि जनाएका छन् ।

‘बहुमत मतभार हुँदाहुँदै अन्तरगतले गर्दा हार भएको छ’ यादवले पनि फेसबुकमा लेखेका छन्, ‘यसको बारेमा गम्भीर समिक्षा हुनुपर्छ ।’ प्रदेश १ मा सत्ता गठबन्धनसँग ५० जना प्रदेश सांसद र स्थानीय तहतर्फका प्रमुख/उपप्रमुख १२६ जना थिए । एमालेतर्फ प्रदेश सांसद ४१ र स्थानीयतहतर्फ १४२ जना जनप्रतिनिधि रहेका छन् । ४१ सांसदमध्ये एमालेकी प्रदेश सांसद गुलेफुन खातुन फरार रहेका कारण पक्राउ पर्ने डरले मतदानमा उपस्थित नभएपछि ४० सांसदको मत खसेको थियो ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x