दल

राष्ट्रिय सभा निर्वाचन परिणाम

एमालेको ‌ओरालो यात्रा : सकियो कि अझै बाँकी छ ?

विनोद देवकोटा |
माघ १३, २०७८ बिहीबार १७:१५ बजे

काठमाडौँ : एमालेका निम्ति राष्ट्रिय सभाको चुनावी परिणाम पूर्व–निर्धारित पराजय थियो । जुन एमालेकै निम्ति पनि ‘अनपेक्षित’ थिएन, १९ मध्ये १ सिट मात्र जित्‍नु । जुन कुरा स्वयं अध्यक्ष ओलीले गत पुसमै स्वीकारेका थिए ।

राष्ट्रिय सभाका मतदातालाई ‘पुरानो जनमत’ (आजको होइन) को संज्ञा दिएका ओलीले भनेजस्तै नतिजा प्रतिकूल आयो । ‘राष्ट्रिय सभा निर्वाचनको परिणाम हाम्रा निम्ति अलि प्रतिकूल आउन सक्छ’ गत पुस २३ गते ओलीले भनेका थिए, ‘त्यसकारण यसमा हाम्रो अलिकति सकारात्मक परिणाम आएन भनेर अनौठो मान्नुपर्ने कुनै अवस्था छैन ।’ नतिजा ओलीले भनेजस्तै आयो । अनौठो भएन । 


एमालेले हालसम्म जति गुमाएको छ, त्यो चाहिँ अनौठो छ । अब तत्काललाई गुमाउन एमालेसँग बाँकी केही छैन । नेकपा र एमाले विग्रह/विभाजनपछि सुरु भएको एमालेको आरोलो यात्रा निरन्तर छ । एमालेले संघदेखि प्रदेश सरकारसम्‍म गुमायो । पार्टीका नेता-कार्यकर्ता गुमायो । पार्टी विभाजन रोक्न सकेन ।

अब प्रश्न उठ्छ, ‘एमालेको ओरालो यात्रा कहिलेसम्म ?’ प्रश्न जति सजिलो गरी उठ्छ उत्तर त्यति सजिलो छैन । यदि एमालेजनका विचार सुन्ने हो बुधबारको राष्ट्रिय सभा निर्वाचनमा व्यहोरेको पराजय नै एमालेको अन्तिम हो । अब गुमाउनुपर्ने केही छैन । एमाले अब उकालो लाग्छ ।

फेरि अध्यक्ष ओलीको पुस २३ को भनाइ स्मरण गरौँ, ‘नेकपा एमालेलाई संसदीय क्षेत्रमा, संसदीय संघर्षको मैदानमा र तीनै तहको निर्वाचनहरूमा नेकपा एमालेमाथि गर्न सक्ने हानिकारक प्रहारको अन्तिम किस्सा यो हो । अन्तिम प्रहार यही हो । यसभन्दा पछि उनीहरूसँग त्यो हैसियत रहँदैन ।’

एमाले महासचिव शंकर पोखरेलको तर्क पनि ओलीको जस्तै छ । उनकै शब्दमा, राष्ट्रिय सभा निर्वाचनको परिणाम ‘विगतको जनादेशलाई खण्डित गर्ने षड्यन्त्रको अन्तिम भोज’ बन्न पुगेको छ । यो निर्वाचनमा माओवादी र नेकपा एसले दलीय हैसियतभन्दा अतिरिक्त लाभ प्राप्त गरेको उनको दाबी छ ।

कांग्रेसका उम्मेदवारले पनि तुलनात्मक रूपमा कम मत पाएको उनी बताउँछन् । ‘गठबन्धनका अन्य उम्मेदवारको तुलनामा नेपाली कांग्रेसका उम्मेदवारले सबै प्रदेशमा कम भोट पाएका छन्,’ पोखरेलको तर्क छ, ‘अब हुने सबै निर्वाचन प्रत्यक्ष हुने भएकोले गठबन्धन कमजोर हुने र एमाले थप सुदृढ हुने आधार समेत यस निर्वाचनले संकेत गरेको छ ।’

अवस्था के ओलीले भनेजस्तै हो त ? राजनीतिक विश्लेषक पुरन्जन आचार्य भने एमालेका लागि आगामी निर्वाचन पनि सहज देख्दैनन् । गठबन्धन कायमै रहे एमालेलाई आगामी निर्वाचन जित्न पनि निकै सकस हुने उनको बुझाइ छ । 

उनी भन्छन्, ‘गठबन्धन गरे जितिन्छ भन्ने एउटा सन्देश त राष्ट्रिय सभा निर्वाचनले दिएको छ । गठबन्धन मजबुत हुँदैछ भन्ने अर्को सन्देश पनि हो । गठबन्धन आबद्ध दल मिल्दा ओलीलाई सहजै हराउन सक्छन् । ओलीविरुद्ध मोर्चा खडा गर्दा आम निर्वाचन पनि गठबन्धनको पक्षमा जान सक्छ ।’

तर, राष्ट्रिय सभा निर्वाचन र आमनिर्वाचनमा मतदाताको मानसिकता भने एउटै नहुने उनको भनाइ छ । मतपरिणाम हेरेर आएको जस्तो सुखद परिणाम गठबन्धनका लागि आगामी आमनिर्वाचनमा नआउने उनले आँकलन गरे । ‘यो निर्वाचिन जनप्रतिनिधिहरूको गठबन्धन हो । आम निर्वाचनमा हाल्ने भोटरको मानसिकता भिन्नै हुन्छ,’ उनी भन्छन्, ‘अहिले आएकोजस्तो सुखद परिणाम गठबन्धनका लागि आगामी निर्वाचनमा हुनेवाला छैन । म देख्दिनँ ।’

राजनीतिक विश्लेषक प्रा. डा. राजेन्द्र चापागाईंको मत पनि यस्तै छ । उनी एमालेको शक्ति क्षीण हुँदै गएको बताउँछन् । उनको तर्क छ, ‘राष्ट्रिय सभा निर्वाचनको सन्देश पूर्वअनुमानित जस्तै भयो । गठबन्धन सफल भएकै हो । एमाले शक्ति क्षीण हुँदै गएको छ । आगामी निर्वाचनसम्म गठबन्धन यदि सँगै जाने हो भने एमाले क्षीण हुने देखिन्छ ।’

पर्टीेभित्रै हुनसक्ने अन्तर्घातका कारण पनि एमालेलाई सकस हुने उनको बुझाइ छ । एमालेबाट छुटेर गएकाहरूसँग् जित्ने मत नभए पनि एमालेलाई हराउन पर्याप्‍त रहेको उनले बताए ।

‘एमालेभित्र पनि १० भाइ र ओली टिम छ । दुईथरि मानसिकता छ । त्यो मानसकिता विलय भएर जाँदैन । त्यसको प्रभाव आगामी निर्वाचनमा पनि देखिन सक्छ,’ उनले भने, ‘एमालेबाट ठूलो तप्का छुटेर गएको छ । त्यसमा पनि केही राम्रा नेताहरू छन् । उनीहरूको जनाधार छ । जित्न नसके पनि हराउन लागि उनीहरूको मत पर्याप्‍त हुनसक्छ ।’

राष्ट्रिय सभाजस्तो आम निर्वाचनमा हुँदैन !

राष्ट्रिय सभा निर्वाचनको परिणामले सत्ता गठबन्धनमा आबद्ध दल र तिनका नेता भने हर्षित भएका छन् । उनीहरूले यसलाई आगामी निर्वाचन परिणामको पूर्व परिणामका रूपमा लिएका छन् । आगामी निर्वाचनसम्म संयुक्तरूपमा जानुपर्ने मत गठबन्धनमा बलियो छ । 

गठबन्धन आबद्ध नेताहरू एकसाथ जाँदा एमालेलाई सजिलै हराउन सकिने आँकलन गरिरहेका छन् । तर, राष्ट्रिय सभा निर्वाचनमा देखिएका कतिपय दृष्यले गठबन्धनलाई धक्का लाग्ने संकेत देखिएको छ । जसले एमालेलाई थोरै भए पनि उत्साहित बनाएको हुनुपर्छ । प्रदेश–१ मा यही कारण एमालेका सोनाम ग्याल्जेन विजयी भएका छन् । जसले सत्ता गठबन्धनलाई ‘क्लिनस्वीप’ गर्नबाट जोगायो ।

यो गठबन्धनप्रति जनप्रतिनिधिहरूको पनि चित्त नबुझेको प्रमाण हो  । प्रदेश–१ मा मात्रै होइन अन्य प्रदेशमा पनि गठबन्धनमा रहेको दलका प्रदेश सभा सदस्यहरूले एमालेलाई मत दिएको पाइएको छ ।

राष्ट्रिय सभा निर्वाचनमा भाग लिने मतदाता सचेत मतदाता हुन् । उनीहरूले नै गठबन्धनइतर गएर मतदान गरेका छन् । यसले आम निर्वाचनमा सत्ता गठबन्धन संयुक्त रूपमा गए पनि नतिजा सोचेजस्तो नआउनसक्ने संकेत गर्छ ।

विश्लेषक पुरन्जन आचार्य प्रदेश १ को परिणामले गठबन्धनलाई धक्का दिएको बताउँछन् । ‘अहिलेका मतदाता सचेत मतदाता हुन् । चुनिएर आएका गठबन्धनका विभिन्न स्वार्थ हुन्छन् । त्यसैले जितेको हो,’ उनी भन्छन्, ‘आमनिर्वाचन राष्ट्रिय सभा निर्वाचनजस्तो सहज हुँदैन । प्रदेश–१ ले कहीँ न कहीँ गम्भीर धक्का दिएकै हो । एमालेले एक सिट मात्रै जिते पनि भूकम्प आएकै हो । गठबन्धनमात्रै सबै कुरा हो भन्ने देखिदैनँ ।’

विश्लेषक प्रा. डा. राजेन्द्र चापागाईंले आमनिर्वाचन र अहिलेको निर्वाचन फरक हुने बताए । तर, जेसुकै भए पनि गठबन्धन कायम रहे एमालेलाई निर्वाचनमा गाह्रै हुने उनको तर्क छ । ‘अहिलेको निर्वाचन र आम निर्वाचनमा स्वाभाविक रूपमा फरक हुन्छ,’ उनी भन्छन्, ‘नेपालमा मतदान गर्ने परम्परागतशैली छ । राम्रोभन्दा हाम्रोलाई मत दिने चलन छ । यसले गठबन्धन गएरै जाँदा पनि सोचेजस्तो सहजै त हुन्नँ ।’

एमाले अहिले पनि प्रतिनिधि सभा र राष्ट्रिय सभामा पहिलो दल छ । संघीय सरकारदेखि प्रदेश सरकारबाट बाहिरिएको एमालेसँग संसदीयरूपमा बलियो शक्ति छ । यो शक्ति अर्को निर्वाचन नहुन्जेल रहनेछ । अहिलेको शक्ति एमाले एक्लैले आर्जन गरेको होइन ।

एमाले ठूलो पार्टी हुनुमा एकीकृत (अविभाजित) एमाले र माओवादीको पनि हात छ । दुवै शक्ति एमालेविरुद्धमा छन् । आगामी निर्वाचनमा एमालेले उनीहरूको सामना गर्नुपर्नेछ । एमालेलाई हराउन उनीहरूको मत निर्णायक हुनसक्छ ।

उनीहरूको जोड पनि आगामी निर्वाचनमा गठबन्धन संयुक्तरूपमा जाने नै छ । जसमा कांग्रेस सभापति शेरबहादर देउवा सहमत जस्तै छन् । कांग्रेसले कुनै अन्यथा निर्णय गरेन भने महत्वपूर्ण ठाउँमा गठबन्धनका संयुक्त उम्मेदवार हुने देखिन्छ । जसमा एमालेलाई जित निकाल्न सहज हुनेछैन । आगामी निर्वाचनको परिणमपछि एमालेकाे हालको संसदीय शक्ति थप क्षीण हुनसक्छ ।
 


Author

विनोद देवकोटा

समसामयिक/राजनीतिक विषयमा कलम चलाउने देवकोटा सिनियर करेस्पोन्डेन्ट हुन्।


थप समाचार
x