दल

राष्ट्रिय सभा निर्वाचन : गण्डकीमा मतदान सकियो, राप्रपामा विभाजन

इकागज |
माघ १२, २०७८ बुधबार १६:३ बजे

पोखरा – राष्ट्रिय सभा सदस्य निर्वाचनमा आफ्नो पार्टीको उम्मेदवार नरहेको प्रदेशमा मतदान नगर्ने पार्टी ह्वीप विपरीत म्याग्दी बेनीकी उपमेयर सन्जु बरुवालले मतदान गरिन् । राप्रपाले चुनावको अघिल्लो दिन सूचना जारी गरेरै मतदानमा सहभागी नहुन निर्देशन गरेको थियो ।

सन्जु मंगलबार नै मतदानका लागि पोखरा आएकी हुन् । ‘मलाई सूचना आएको थिएन । मतदान नगर्ने कुरा थाहा पनि छैन,’ उनले भनिन्, ‘मैले मतदान गरेँ । पार्टीले कारबाही गरे पनि भोग्ने होला अब ।’


राप्रपाबाटै निर्वाचित भएका बागलुङका उपमेयर सुरेन्द्र खड्का भने मतदानमा सहभागी भएनन् । २२९ मतदातामध्ये दुई जनाले मतदान नगरेका हुन् । अर्का एक जना मुस्ताङको लो घेकर दामोदर कुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट हुन् । उनी हाल अमेरिकामा रहेको परिवार स्रोतले जनाएको छ । विष्ट यसअघिको राष्ट्रियसभा निर्वाचनमा पनि सहभागी थिएनन् ।

स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनाङेले सबैभन्दा अन्तिममा आएर मतदान गरेका हुन् । गण्डकीमा सत्ता गठबन्धन निकै बलियो छ । गठबन्धनको तीन हजार ३०० मतभार छ भने एक्लै लडेको एमालेको दुई हजार ५५६ मतभार छ । विष्ट स्वतन्त्र चुनाव जितेर एमाले छिरेका थिए । उनी नआएपनि उनको सट्टा राप्रपाकी उपमेयरले एमालेलाई मतदान गरेको बुझिएको छ ।

राष्ट्रिय सभा निर्वाचनअन्तर्गत गण्डकीमा तीन पदका लागि ६ जना उम्मेद्वार छन् । कांग्रेसले नेतृत्व गरेको सत्ता गठबन्धनबाट महिला कोटामा कांग्रेस नेतृ कमला पन्त, खुलामा माओवादीका सुरेश आले मगर र दलितमा माओवादीकै भुवन सुनार उम्मेद्वार छन् । एमालेबाट भने महिलामा लिला थनेत, खुलामा पुण्य पौडेल र दलितमा अर्जुनकुमार सुनामले उम्मेद्वारी दिएका थिए ।

गत २० फागुनबाट गण्डकीमा दिनानाथ शर्मा, खिमबहादुर विक र शान्तिकुमारी अधिकारीको पद  रिक्त हुन लागेको हो । मतदान सकिएकाले बुधबारै मतगणना हुने निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिए ।

राष्ट्रिय सभाको १९ सिटमध्ये प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन सदस्य चयनका लागि बुधबार निर्वाचन भएको हो । 


Author

थप समाचार
x