दल

माओवादी महाधिवेशन

‘गुटवाद’ र ‘व्यक्तिवाद’ हटाउने उद्घोष गरेका पुष्‍पकमल दाहाल ‘व्यक्तिवाद’का नाइके

अनिष भट्टराई |
पुस ११, २०७८ आइतबार १६:४४ बजे

काठमाडौँ – गत मंसिरमा भएको नेकपा एमालेको दशौं महाधिवेशनमा पदाधिकारी र कार्यसमिति छनौटमा अध्यक्ष केपी ओलीले अन्यौल सिर्जना गर्दै बिहान ३ बजे केन्द्रीय कमिटी र पदाधिकारीको नामावली पढेर सुनाए । यता निर्वाचन लड्नका लागि मनोनयन दिइराख्दा अध्यक्ष ओलीले नामावली सुनाएपछि नाम नपरेकाहरुलाई मनोनयन नगरेर सहयोग गर्न आग्रह गरे । 

पछि उपाध्यक्ष भीम रावललगायतले चुनाव लड्ने ढिपी कसेपछि पदाधिकारी र केन्द्रीय समिति चयनका लागि चुनाव त भयो, तर नामको मात्र । अध्यक्षका आकांक्षी रावलविरुद्ध प्रचारबाजी भयो, उनी पराजित बने । ओलीको सूचीमा नपरेकाहरूलाई हराउन भन्दै ओली समूहले पर्चा बाँडेको थियो । प्राविधिक रूपमा ओलीको जित त भयो तर मुलुकको प्रमुख कम्युनिष्ट पार्टी एमालेको महाधिवेशन ‘बा कल्चर’ को सिको भएको भन्दै आम रूपमा आलोचित बन्यो ।


पुसमा नेपाली कांग्रेसले आफ्नो १४ औं महाधिवेशन गर्यो । कांग्रेसको महाधिवेशनमा भने चुनाव भयो । तर सभापति शेरबहादुर देउवाविरुद्ध उम्मेदवारी दिएका तीन उम्मेदवारले पहिलो चरणको चुनावपछि देउवालाई नै सहयोग गरे । आफ्नो उम्मेदवारीको औचित्य नै नरहने गरी उनीहरु देउवाको पक्षमा विलय भए । देउवा पनि सभापतिमा दोहोरिए । 

यी दुई महाधिवेशनबीच माओवादी केन्द्रले आफ्नो अधिवेशनको तयारी गरिरहेको थियो । प्रदेश सम्मेलनलाई काठमाडौंबाट उद्धाटन गदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एमाले महाधिवेशनमा व्यक्तिको पूजा गरिएको भन्दै कांग्रेस महाधिवेशन ‘विचार शून्य महाधिवेशन’ बन्ने प्रक्षेपण गरे । ‘एमाले त मैले पञ्च¥यालीभन्दा अरू देख्दिनँ । त्यो विलकुल पञ्च¥याली, निभ्ने बेलाको बत्ती भन्या जस्तो मात्रै हो । निरंकुशताको, विचार शून्यता र विचारहीनताको अधिवेशनको रूपमा गयो,’ प्रचण्डले भनेका थिए, ‘कांग्रेसको पनि हामी हेरिराख्या छौँ, उहाँहरूको त झन् विचार, सिद्धान्त, सम्मेलन भनेको हिजो उद्घाटन भयो, आज मनोनयन हुन्छ, भोलि फिर्ता लिने गर्ने हुन्छ । पर्सि चुनाव हुन्छ सिद्धियो ।’

दाहालले नेपाली कांग्रेस र नेकपा एमालेको महाधिवेशन भन्दा आफूहरुको महाधिवेशन फरक हुने सन्देश दिन खोजिरहेका छन् । उनले अब विचारमा ‘क्रमभंगता’ गरेर आफ्नो राजनीतिक प्रतिवेदन तयार पारिसकेका छन् । माओवादीको वैचारिकस्तर कमजोर बनेकाले अब विचारमा क्रम भंग गरेर गुटवाद, व्यक्तिवाद र अराजकतावादलाई सुधार्नुपर्ने उनको प्रतिवेदनमा लेखिएको छ । 

आफ्नो राजनीतिक प्रतिवेदनमा गुटवाद, व्यक्तिवादलाई परास्त गर्ने सपना उल्लेख गरेका दाहाल भने गुटवाद र व्यक्तिवादलाई नै निरन्तरता दिन उद्दत छन् । राजनीतिक प्रतिवेदन ल्याएर, विचारमा छलफल गरेर मात्र माओवादी अन्य ‘बुर्जुवा’ पार्टीभन्दा फरक नहुने सत्यताबाट दाहाल भागिरहेका छन् । माओवादीको आन्तरिक लोकतन्त्रमा दाहाल एक्लैको रजगज छ । प्रदेश अध्यक्षहरुको टुङ्गो लगाउनेदेखि अखिल क्रान्तिकारी, प्रेस सेन्टरको नेतृत्व चयनमा पनि दाहालकै हस्तक्षेप रह्यो । 

आठौं महाधिवेशनमा अध्यक्ष दाहालले नै पदाधिकारीको नामावली पढेर सुनाउने तयारी छ । माओवादीका एक केन्द्रीय सदस्यले भने, ‘सबै प्रक्रिया अपनाउँछौं, तर चुनाव भने नहोला । अध्यक्षले नामावली सुनाउनुहुन्छ, सहमतिमा टुङ्ग्याउँछौं ।’

माओवादी नेता लीलामणि पोखरेलले सहमतिको आधारमा सामूहिक नेतृत्वमा जाने बताए । ‘पार्टीमा अहिले नेतृत्व लिन नचाहेको, अक्षम रहेको भन्ने होइन । सबै सक्षम हुनुहुन्छ । तर सामूहिक नेतृत्वमा सहमतिका आधारमा जाने हो,’ पोखरेलले भने । महाधिवेशनमा आफूहरुको समीक्षा गरिने, नेतृत्व भन्दा विचारमा बहस गरिने, सांगठनिक कार्यदिशालाई बहसको विषय बनाइने उनको दाबी छ । 

‘हामी नेतृत्वमा होइन अहिले विचारमा बहस गर्छौं । माक्र्सवाद, समाजवादका बारेमा छलफल हुनेछ । अरु पार्टीको भन्दा हाम्रो महाधिवेशन विल्कुल फरक हुनेछ,’ पोखरेलले भने । 

माओवादीको आठौं महाधिवेशन आजबाट सुरु हुँदैछ । महाधिवेशनमा एक हजार ६३१ जनाको प्रतिनिधित्व हुनेछ । नियमित प्रक्रियाबाट छानिएका एक हजार ४८३ र मनोनित १४८ गरी कूल एक हजार ६३१ को सहभागिता रहने छ ।
 


Author

अनिष भट्टराई

भट्टराई इकागजका संवाददाता हुन् ।


थप समाचार
x