दल

सभापतिमा संस्थापनकै वर्चस्व

कांग्रेस महाधिवेशन : ६ प्रदेशमा अधिवेशन सम्पन्‍न, कहाँ कसले जिते ?

इकागज |
मंसिर २०, २०७८ सोमवार ८:७ बजे

काठमाडौँ - नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्‍ततर्गत ६ प्रदेशमा अधिवेशन सम्पन्‍न भएका छन् । प्रदेश २ बाहेकका ६ वटा प्रदेशमा शनिबार प्रदेश कार्यसमिति चयनका लागि निर्वाचन भएको थियो । सोमबार बिहान लुम्बिनी र प्रदेश १ को नतिजा आएसँगै ६ प्रदेशले पहिलो पटक नयाँ कार्यसमिति पाएको हो । यसअघि आइतबार बागमती, गण्‍डकी, कर्णाली र सुदूरपश्‍चिमको नतिजा आएको थियो । ६ वटै प्रदेशमा संस्थापन र इतर समूहबीच प्रतिस्पर्धा भएको थियो । प्राप्‍त नतिजाअनुसार सुदूरपश्‍चिम, कर्णाली र बागमतीमा वर्तमान सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार विजयी भएका छन् । लुम्बिनी र गण्‍डकीमा नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार विजयी भएका छन् । प्रदेश १ मा भने सिटौला पक्षका उम्मेदवार विजयी भएका छन् । जसमा संस्थापन अर्थात देउवा पक्षले साथ दिएको थियो। 

प्रदेश १ 
कांग्रेस प्रदेश १ सभापतिमा उद्वव थापा विजयी भएका छन् । संस्थापन पक्षका थापाले पौडेल-कोइराला पक्षका गुरुराज घिमिरेलाई दुई मतले हराएका हुन् । सोमबार बिहान सार्वजनिक मतपरीणाम अनुसार थापाले ८४४ मत पाउँदा घिमिरेले ८४२ मतमा चित्त बुझाए ।  अन्य पदाधिकारीमा पनि संस्थापन पक्षको वर्चस्व छ । 


बागमती प्रदेश
कांग्रेस बागमती प्रदेश सभापतिमा इन्द्र बानियाँ विजयी भएका छन् । संस्थापन पक्ष सभापति शेरबहादुर देउवा पक्षका बानियाँले १०८५ मत ल्याएर विजयी भएका हुन् । उनका प्रत्यासी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेद्वार जगदिश्वर नरसिंह केसीले ९२७ मत प्राप्त गरे । बानियाँले १५८ मतान्तरले केसीलाई सभापतिमा पराजित गरेका हुन् । शनिबार भएको निर्वाचनमा प्रदेश सभापतिको लागि ५० प्रतिशत बढी मत ३ जना उम्मेदवारले ल्याउन नसकेपछि आइतबार फेरि मतदान भएको थियो ।

गण्डकी प्रदेश
नेपाली  कांग्रेस गण्डकी प्रदेशको सभापतिमा शुक्रराज शर्मा विजयी  भएका छन् । शर्मा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका हुन् । उनले सभापति पदमा ८४ मतअन्तरले प्रदेशको नेतृत्व आफ्नो हातमा पारेका हुन्। कुल ११४६ मत खसेकोमा उनले ६१२ मत ल्याउँदा उनका प्रतिद्वन्द्वी पार्टी सभापति शेरबहादुर देउवा पक्षका अर्जुनप्रसाद जोशीले ५२८ मत ल्याए । 

लुम्बिनी प्रदेश
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापतिमा अमरसिंह पुन निर्वाचित भएका छन् । उनी रामचन्द्र पौडेल पक्षका हुन् । सोमबार बिहान सम्पन्न मतगणनाको अन्तिम परिणामअनुसार पुनले  सभापतिका अर्का प्रत्यासी संस्थापन समूहका भरतकुमार शाहलाई ८५ मतले हराएका हुन् । सभापतिमा निर्वाचित पुनले ८५२ मत पाउँदा शाहले ७६७ मतमै चित्त बुझाए । पदाधिकारीमा पनि पुन प्यानलकै वर्चश्व छ । 

कांग्रेस कर्णाली
नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा  ललितजंग शाही विजयी भएका छन् । प्रदेश अधिवेशनअन्तर्गत शनिबार सम्पन्न मतदानबाट शाही ४२२ मत ल्याएर सभापितमा विजयी भएका हुन् ।  विजयी शाही सभापति शेरबहादुर देउवा पक्षका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी भूपेन्द्रजंग शाहीले ३१७ मत ल्याएका हुन् । सभापतिका अर्का उम्मेदवार मोतिराम बमले भने सात मत मात्रै ल्याए ।

सुदूरपश्चिम
नेपाली काँग्रेस सुदूरपश्चिमको सभापतिमा देउवा पक्षका वीरबहादुर बलायर विजयी भएका छन् । प्रदेशमा कुल खसेको मत १००३ मध्ये बलायरले ६८८ मत ल्याउँदा प्रतिस्पर्धी नारायणदत्त मिश्रले २८० मत्र मात्र ल्याए। 


Author

थप समाचार
x