दल

चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा एकीकृत समाजवादीबीच पहिलोपटक वार्ता

अजय अलौकिक |
कात्तिक २०, २०७८ शनिबार १२:२ बजे

बेइजिङः कार्तिक २० गते चिनियाँ कम्युनिस्ट पार्टीले पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग भिडियो वार्ता गरेको छ । चिनियाँ कम्युनिस्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री छन चौले एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग चिनियाँ कम्युनिस्ट पार्टी १९औँ केन्द्रीय समितिको छैठौँ बैठकअघि भिडियो वार्ता गरेका हुन् । साथै यो चिनियाँ कम्युनिस्ट पार्टी र नेकपा एकीकृत समाजवादीबीचको पहिलो वार्ता पनि हो ।

वार्ताको क्रममा, उपमन्त्री छन चौले नेकपा एकीकृत समाजवादीसँगै नेपालका अन्य प्रमुख राजनीतिक दलहरूसँग नयाँ पार्टी सम्बन्धको आधारमा आदानप्रदान र सहयोगलाई सुदृढ गर्न चीन इच्छुक रहेको बताएका छन् । उनले भने, 'मतभेदलाई थाँती राखी आपसी सम्मान, पारस्परिक सिकाइबाट स्वस्थ तथा स्थिर रूपमा चीन नेपाल सम्बन्धको प्रवर्द्धन गर्न चाहन्छ ।' नेपालसँग साझा विकास लक्ष्य प्राप्ति तथा चिनियाँ अनुभव बाँड्न चीन तयार रहेको पनि बताए ।


पार्टी महासचिव सी चिनफिङद्वारा प्रस्तावित ‘विश्व विकास पहल’, ‘साँचो बहुपक्षवाद’ र ‘जनताको प्रजातन्त्रको पूर्ण चरण’ बारेमा पनि चर्चा गरेका थिए । उनले चिनियाँ कम्युनिस्ट पार्टीको १९औँ केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकको आयोजना हुनलागेको जानकारी दिँदै एक शताब्दीको सङ्घर्ष र प्राप्त उपलब्धी र ऐतिहासिक अनुभवको समीक्षा हुने पनि औँल्याएका थिए ।

वार्ताको क्रममा, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले चिनियाँ कम्युनिस्ट पार्टीको अमूल्य अनुभव सिक्न चाहेको बताएका छन् । उनले पार्टी निर्माणको क्रममा चीन, चिनियाँ पार्टीको अनुभव र चिनियाँकरण गरिएको माक्स्वाद अन्तरपार्टी च्यानलमार्फत् सिक्न चाहेको व्यक्त गरेको पार्टीको वेबसाइटमा जनाइएको छ । साथै, उनले नेपाल सदैव एक चीन नीतिमा अडिग रहेको बताउँदै चिनियाँ कम्युनिस्ट पार्टीले विगत शताब्दीमा प्राप्त उपलब्धिको उच्च मुल्याङ्कन गर्दै १९औँ केन्द्रीय समितिको छैठौँ पूर्ण बैठकको अवसरमा बधाइ ज्ञापन गरे ।


Author

थप समाचार
x