दल

जसपा उपेन्द्रको नेतृत्वमा सरकारमा जाने, मन्त्रीको सूचीमा यी नेताका नाम

मधुसुधन भट्टराई |
साउन १७, २०७८ आइतबार ११:२३ बजे

काठमाडौँ – सत्ता गठबन्धनको एक घटक जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष तथा संसदीय दलका नेता उपेन्द्र यादवकै नेतृत्वमा सरकारमा सहभागी हुने भएको छ । शनिबार मात्रै संसदीय दलको नेता सर्वसम्मत चुनिएका यादवको नेतृत्वमा सरकारमा जाने एक नेताले जानकारी दिए । 

यादवले आफू उपप्रधानमन्त्रीसहित परराष्ट्र मन्त्रालय लिएर सरकारमा आउने जानकारी प्रधानमन्त्री शेरबहादुर देउवालाई गराएको स्रोत बताउँछ । 


सत्ताको नेतृत्वकर्ता नेपाली कांग्रेस र अर्को ठूलो घटक नेकपा (माओवादी केन्द्र)ले मन्त्रालय भागबण्डा टुंगिनसकेको बताए पनि जसपाले आफ्नो भागमा ७ मन्त्रालय परेको भन्दै मन्त्री बन्नेहरूको प्रारम्भिक सूची तयार गर्न छलफल गरिरहेको छ ।  अहिले तयार गरिएको सूची  ९५ प्रतिशत ‘फाइनल’ जस्तै रहेको एक नेताले बताए । 

अहिले सरकारमा सहभागी बनाउनका लागि अध्यक्ष यादवले नेताहरू महेन्द्र राय यादव र राजेन्द्र श्रेष्ठको नाम तय गरेका छन् । राय यादव पार्टी विवादमा महन्थ ठाकुर समूहबाट आफूतिर आएको र सिनियर नेता भएकाले मन्त्रीमा लैजाने निश्चित गरेका हुन् । श्रेष्‍ठको नाम यसअघि पार्टी केपी शर्मा ओली नेतृत्वकाे सरकारमा सहभागी हुँदा पनि अन्तिम समयमा काटिएको थियो । 

त्यस्तै महिलाबाट रेणु यादवको नाम मन्त्री बन्नेहरूको सूचीमा छ । पार्टीले आधिकारिकता पाउने बेलामा ठाकुर समूह छोडेर आएका प्रमोद साहलाई सकभर विभागीय मन्त्री नभए राज्यमन्त्री बनाउने भन्दै सूचीमा राखेका छन् । 

राजकिशोर यादव र रामसहाय यादवमध्य एक जनालाई मन्त्री बनाउने तयारी छ । रामसहाय आफ्ना विश्वास पात्र तथा राजकिशोर ठाकुरलाई छोडेर आफूसँग आएकाले कसलाई बनाउने भन्नेमा यादव अप्ठेरोमा छन् । 

त्यस्तै लुम्बिनी प्रदेशको प्रतिनिधित्व गराउन त्यहाँबाट इस्तियाक राई/अमृता अग्रहरीमध्ये एक जनालाई मन्त्री बनाउने अध्यक्ष यादवले निकटस्थ नेताहरूलाई बताएका छन् । जसपामा ठाकुरकी विश्वासपात्र मानिने अग्रहरी केही दिन अघि मात्रै यादव समूहमा खुलेकी थिइन् । उनलाई जसरी भए पनि मन्त्री दिनुपर्ने दबाबमा यादव छन् । 

क्षेत्रीय र भेगीय सन्तुलन मिलाउन पर्ने भएकाले प्रदेश-१ बाट प्रमिला यादव पनि मन्त्री बन्न सक्ने सभावित सूचीमा परेकी छन् । 

पार्टीको मुख्य पकड प्रदेश-२ रहेकाले त्यहाँबाट धेरै मन्त्री बन्नु स्वाभाविक भए पनि अन्य प्रदेशबाट पनि प्रतिनिधित्वका आधारमा मन्त्री बनाइने यादवले निकटस्थहरूलाई बताउने गरेका छन् । जसपाको गण्डकी प्रदेशमा डा.बाबुराम भट्टराई भन्दा अन्य संघीय सांसद छैनन् । त्यस्तै कर्णाली र सुदूरपश्चिममा पनि जसपाका संघीय सांसद छैनन् । कैलालीबाट निर्वाचित पार्टीका सांसद रेशमलाल चौधरी ज्यान मार्ने उद्योगसम्बन्धी मुद्दामा कारागारमा छन् । 

सांसद र मन्त्री बन्ने लाइनमा रहेका प्रदीप यादव मन्त्रालयको संख्या र कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि मात्रै मन्त्रीको नाम तय हुने बताए । ‘पहिला कति मन्त्रालय पाउने र कुन कुन मन्त्रालय पाउने भन्ने निश्चित भएपछि मात्रै व्यक्ति छनोट हुन्छ,’ यादवले इकागजसँग भने ।
 
तर संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफू निकटका संघीय सांसद् नभएकाले आफ्नी पत्नी हिसिला यमी र कार्यकारिणी सदस्य गंगानारायण श्रेष्ठमध्ये एक जनालाई मन्त्री बनाउन दबाब दिइरहेका छन् ।  

नेता राययादवले आफूहरूले सरकारमा जाने तयारीमा रहेको बताए । ‘हामी सरकारमा जाने तयारीमा छौं । कसको नेतृत्वमा जाने र को को मन्त्री बन्ने भन्ने विषयमा छलफल भइरहेको छ,’ राययादवले इकागजसँग भने, ‘अहिलेसम्म नाम टुंगिसकेको छैन । अब छिट्टै टुंग्याएर प्रधानमन्त्रीलाई सिफारिस गर्छौँ ।’  

पार्टीको कार्यकारिणी समिति बैठकले अध्यक्ष यादव, संघीय परिषद् अध्यक्ष डा. भट्टराई र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मेवारी दिएको थियो । तीन नेताहरूबीच निरन्तर औपचारिक र अनौपचारिक बैठक भइरहेका स्रोतले बतायो ।

डा. भट्टराईले सांसद नभएका नेतालाई मन्त्री बनाउन पर्ने दबाब दिए पनि प्रधानमन्त्री देउवाले सांसदलाई मात्र सिफारिस गर्न भनेकाले नेताहरू अफ्टेरोमा परेका छन् । ‘संघीय परिषद् अध्यक्षज्यू सांसद नभएका नेतालाई पनि मन्त्रीमा सिफारिस गर्नु पर्ने बताइरहनु भएको छ । प्रधानमन्त्रीले सांसदलाई मात्र सिफारिस गर्न भन्नुभएको छ । यसले समस्या परिरहेको छ,’ एक नेताले भने । 

बालुवाटार निकट स्रोतका अनुसार प्रधानमन्त्री शेरबहादुर देउवाले सोमबार साँझसम्म मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा छन् । मन्त्रिपरिषद्लाई पूर्णता नदिने तर केही मन्त्री थप्ने योजनामा प्रधानमन्त्री छन् । अमेरिकी सहयोग नियोक (एमसीसी) प्रतिनिधि सभामा पेस गरेर पारित गरेपछि मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन देउवालाई उनको पार्टी नेपाली कांग्रेस र सत्तारूढ दलका अन्य नेताहरूले सुझाव दिएका छन् । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x