दल

कांग्रेसमा क्रियाशील विवाद

छानबिनका संयोजक लेखक न विकल्प दिन्छन्, न मापदण्ड बनाउन सहमत हुन्छन्

मधुसुधन भट्टराई |
असार ९, २०७८ बुधवार २०:५२ बजे

काठमाडौँ : नेपाली कांग्रेसको केन्द्रीय क्रियाशील सदस्यता छानबिन समितिमा देखिएको विवाद समाधान गर्न मापदण्ड बनाउने विषयमा नै विवाद देखिएको छ । क्रियाशील सदस्यतामा विवाद देखिएपछि बनाइएको छानबिन समितिले समाधान गर्न खाेजे पनि समिति भित्रै विवाद देखिएको हो ।

३८ जिल्लामा देखिएका सहजै मिल्न नसक्ने जटिल खालका सदस्यतासम्बन्धी विवाद मिलाउन मापदण्ड बनाउने विषयमा छानबिन समितिमा भइरहेको छलफल अझै निष्कर्षमा पुग्‍न सकेको छैन । छानबिन समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य प्रदीप पौडेलले जटिल खालका विवाद मिलाउन मापदण्ड बनाउने विषयमा लगातार छलफल भइरहे पनि टुंगोमा पुग्‍न नसकेको जानकारी दिए ।


‘विवादको प्रकृत्ति हेरेर सम्बोधन गर्न मिल्ने मापदण्ड बनाउन कोसिस समितिमा हामीले गरिरहेका छौं । तर, समितिमा सहमति हुन सकिरहेको छैन,’ सदस्य पौडेलले इकागजसँग भने । सदस्यताका विषयमा संस्थापन पक्षले धेरै विवाद झिकिरहेको छ । मापदण्ड बनाएपछि सबैका माग समेटिने भएकाले सभापति देउवाका विश्वासपात्र रहेको संयोजक रमेश लेखकले मापदण्ड बनाउन चाहिरहेका छैनन् ।

‘संयोजकले मापदण्ड बनाउन पनि चाहनुहुन्‍न । र समस्या समाधानको अर्को विकल्प पनि दिन सक्नुहुन्‍न,’ समितिका एक सदस्यले भने, ‘यसले विवाद समाधान गर्ने मापदण्ड बनाउने विषयमा पटक-पटक छलफल भए पनि टुंगोमा पुग्‍न सकिएको छैन ।’ लेखकले मापदण्ड बनाउन सकिँदै सकिन्‍न भन्‍ने अडान लिएकाले समस्या निम्त्याएको भन्दै सदस्यहरूले आपत्ति जनाउँदै आएका छन् । तर लेखक भने यस विषयमा भोलि छलफल गरौंला भनेर टारिरहेका छन् । आज पनि लामो समय बसेको बैठक यही विषयमा कुरा नमिल्दा विना निष्कर्ष सकियो । 

छानबिन समितिका सदस्य तथा पार्टी केन्द्रीय सदस्य जीवन परियारले पार्टीको संस्थापन पक्षका कारण विवादित सदस्यता टुंग्याउन मापदण्ड बनाउन गाह्रो भइरहेको बताए । 'संस्थापनले मलमिच्याइँ गरेर सदस्यता बाडेको छ । त्यसलाई प्रणालीमा ल्याउन मापदण्ड बनाउ भन्दा मानिरहेको छैन । त्यसले समस्या निम्तयाइरहेको छ,' सदस्य परियारले इकागजसँग भने । 

मापदण्ड नबनाएमा सदस्यतासम्बन्धी विवाद टुंगिन नसक्ने उनले बताए । ‘मापदण्ड बन्यो भने एकैपटक टुंगिन्छ । मापदण्ड बनेन भने टुंगिदै टुंगिन्‍न,’ पौडेलले भने । 
कांग्रेस केन्द्रीय समितिले ४ असारमा आगामी भदौ १६ देखि १९ गतेसम्म पार्टीको १४ औं महाधिवेशन गर्ने कार्यतालिकासहितको मिति निर्धारण गर्दा केन्द्रीय छानबिन समितिमा क्रियाशील सदस्यता सम्बन्धी परेका उजुरी उपर अन्तिम निर्णय गरी क्रियाशील सदस्यताको नयाँ र नवीकरणको अन्तिम सूची तयार गरी केन्द्रीय सभापतिलाई बुझाउने अवधि २० असारसम्म तोकिएको छ । 

तर, अहिलेसम्म पार्टी केन्द्रीय कार्यालयको सर्भरमा ७३ जिल्लाका नयाँ र नविकरण गर्ने क्रियाशील सदस्यता इन्ट्री भएका छन् । ती मध्य ३५ जिल्लामा सामान्य विवाद छन् । छानबिन समितिले मिलाउन सक्ने र मापदण्ड बनाउने पर्ने विवाद छुट्टयाउँदा ३५ जिल्लामा मिलाउन सक्ने खालका विवाद देखिएको सदस्य पौडेलले जानकारी दिए ।

‘हामीले छानबिन समितिमा सहजै मिलाउन सक्ने विवाद र अलि जटिल खालका विवाद गरी दुई प्रकृतिका विवाद छुट्टयाएका छौं,’ पौडेलले भने, ‘यसरी छुट्टयाउँदा ३५ जिल्लामा मिलाउन सक्ने खालका विवाद छन् । ३८ जिल्लामा अलि जटिल खालका विवाद देखिएका छन् ।’ चार जिल्लाको नयाँ र नविकरण पार्टीको सर्भरमा नै इन्ट्री भएको छैन । बारा, सप्तरी, सिन्धुपाल्चोक र बर्दियाका नयाँ र नविकरणसम्बन्धी सदस्यता सर्भरमा इन्ट्री नभएको पौडेलले जानकारी दिए ।

१४ औं महाधिवेशनसम्म १० लाख सदस्य पु¥याउने लक्ष लिएको कांग्रेसले अहिलेसम्म ८ लाख तीन सय १४ सदस्यको नामावली सर्भरमा इन्ट्री गरेर सार्वजनिक गरिसकेको छ । अब एक लाख १५ हजारजति जिल्ला-जिल्लाबाट आउन र सर्भरमा इन्ट्री गर्न बाँकी रहेको पौडेलले जानकारी दिए । कांग्रेसमा क्रियाशील सदस्यता फाइनल गर्न लामो प्रक्रिया छ ।

‘पहिला जिल्लाबाट नयाँ र नविकरणको सूची आउन प¥यो । त्यसपछि पार्टीको सर्भरमा इन्ट्री गरेर, सार्वजनिक गर्नुप¥यो,’ सदस्य पौडेल प्रक्रियाबारे बताउँदै भन्छन्, ‘बल्ल त्यसउपर उजुरी माग हुन्छ । चित्त नबुझेकाले उजुरी दिन्छन् । समितिले उजुरीमाथि छानबिन गरेपछि मात्रै टुंगिन्छ ।’ यति लामो प्रक्रिया पूरा गरेर इन्ट्री हुन बाँकी रहेका क्रियाशील सदस्यताहरू काम पुरा गर्न २० गतेसम्म टुंग्याउन सम्भव नहुँने पौडेलले बताए । 

कांग्रेसको ६ फागुनमा बसेको केन्द्रीय कार्यसमिति बैठकले केन्द्रीय सदस्य रमेश लेखकको संयोजकत्वमा गुटगत आधारमा भागवण्डा गर्दै क्रियाशील सदस्यता छानबिन समिति बनाएको थियो । विवादका कारण पटक–पटक म्याद थप्दा पनि समितिले आफ्नो काम टुंग्याउन सकेको छैन । 


Author

मधुसुधन भट्टराई

राजनीतिक मामिलामा कलम चलाउँदै आएका भट्टराई विशेष संवाददाता हुन् ।


थप समाचार
x