दल

सरकार नै पहिचानवादको पक्षमा लागेर देशभर जनता भड्काइरहेको छ : अध्यक्ष ओली

इकागज |
जेठ २५, २०८० बिहीबार १५:३८ बजे

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले पहिचानवादीहरूलाई प्रोत्साहित गरी एमालेमाथि आक्रमण गराइरहेको आरोप लगाएका छन् । बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा नेकपा (एकीकृत समाजवादी) पार्टी परित्याग गरी एमालेमा समाहित भएका मुकुन्द न्यौपानेसहितका नेता, कार्यकर्तालाई स्वागत गर्दै उनले यस्तो बताएका हुन् ।

उनले पहिचानवादीका नाममा एमालेमाथि देशभर नै हमला गरिरहेको उल्लेख गरे । उनले कोशी प्रदेशमा सत्ता संरक्षित आपराधिक घटनाहरू भइरहेको दाबी गरे ।  उनले पहिचानवादीका नाममा सत्तापक्ष नै मुठभेड गराउन लागिपरेको भन्दै अब नेकपा एमाले प्रतिवादमा उत्रिने बताए ।


अध्यक्ष ओलीले एमालेले पहिचानका नाममा भइरहेका आपराधिक क्रियाकलापको सामना गर्न नडराउने जिकिर गरे । अध्यक्ष ओलीले नेपाललाई जातिजातिका नाममा दङ्गाफसाद गराउने षड्यन्त्रबाट प्रधानमन्त्री पुष्पकमल दाहालले देशभर पहिचानको विष फैलाउने कोसिस गरे पनि सफल नबनेको बताए । पहिचानवादको संरक्षक पुष्पकमलवादीहरू भएको भन्दै प्रचण्डपथ देशद्रोही र अपराधी पथ भएको जिकिर गरे । 

उनले भने, ‘अहिले पहिचानवादीका नाममा विभिन्न ठाउँमा हमला भइरहेको छ । सरकार केही गर्दैन । प्रहरीलाई टाउको फुटे पनि केही नगर्नु भनेको छ । पहिचानका नाममा एउटै मानिसहरू बाइक लिएर पुग्ने गरेका छन् हरेक ठाउँमा । कार्यक्रम गर्न नपाउने, केपी ओली निषेध, एमाले निषेध के के निषेध, अहिले प्रदेश नम्बर १ मा सत्ता संरक्षित, आपराधिक घटनाहरू भइरहेका छन्, आफैँले आफ्नै मान्छे मारे सुरुमै । पहिचानवादको संरक्षक यो पुष्पकमलवादीहरू प्रचण्डपथ हो । प्रचण्डपथ अझै गएको छैन । यो देशद्रोही र अपराधी पथ हो ।’

अध्यक्ष ओलीले प्रधानमन्त्री दाहालले कोशी प्रदेशको नाम आफैँ सहमतिका साथ राखेर देशमा आन्दोलन भड्काउन फेरि पहिचानवादीको पक्ष लिइरहेको बताए ।


Author

थप समाचार
x