दल

नागरिकता विधेयक प्रमाणीकरण गरेर संसदको विशेषाधिकार हनन भएको एमालेकाे निष्कर्ष

वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३३ वटा विभागको संयोजन गर्ने जिम्मेवारी

इकागज |
जेठ १९, २०८० शुक्रबार १९:८ बजे

काठमाडौँ- प्रमुख प्रतिपक्षी नेकपा एमालेले नागरिकता विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन र संसदको विशेषाधिकार हनन भएको निष्कर्ष निकालेको छ । पार्टी कार्यालय च्यासलमा शुक्रबार बसेको एमाले सचिवालय बैठकले नागरिकता विधेयक प्रमाणीकरणप्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै विधेयक प्रमाणीकरण गरेर संविधानको उल्लंघन र संसदको विशेषाधिकार हनन भएको निष्कर्ष निकालेको हो ।

मन्त्रिपरिषद्को सिफारिसमा प्रमाणीकरण गरिएको भन्ने राष्ट्रपति कार्यालयको वक्तव्य संविधान, प्रचलित कानुन र स्थापित संसदीय मान्यताविपरीत भएको बैठकले ठहर गरेको एमाले उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । उनले नागरिकता विधेयक प्रमाणीकरण गरेर राष्ट्रपतिले संसदको अपमान गरेको बताए ।


त्यस्तै बैठकले गणतन्त्र दिवसको सन्दर्भ पारेर टिकापुर घटनाको दोषी रेशम चौधरीलाई आममाफी दिइएको प्रति पार्टी गम्भीर बनेको भन्दै नितान्त सत्ता स्वार्थका लागि गरिएको निर्णयले विधिको शासनलाई चुनौती दिएको ठहर गरेको छ ।

बैठकले सरकारले प्रस्तुत गरेको बजेटले मुलुकको आर्थिक समस्या समाधान गर्न नसक्ने निष्कर्ष निकालेको छ भने जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने र प्रशासन कार्यालयमा निर्वाचन इकाई राख्ने सरकारको निर्णयलाई पार्टीले गम्भीर रूपमा लिँदै सच्चाउन माग गरिएको उपमहासचिव ज्ञवालीले बताए ।

उनले प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा नेपालको प्राथमिकतामा रहेको विषय ओझेलमा परेको र भारतले चाहेको विषय फटाफट निर्णय भएको बताए ।

त्यस्तै एमाले सचिवालय बैठकले वरिष्ठ उपाध्यक्षसहित ७ जना उपाध्यक्षलाई पार्टीका ३३  वटा विभागको संयोजन गर्ने जिम्मेवारी दिएको ज्ञवालीले जानकारी दिए । बैठकले स्थायी कमिटी र पोलिटब्युरो सदस्यहरूलाई जिल्लाको इन्चार्ज बनाइएको छ भने केन्द्रीय कमिटी सदस्यहरूलाई जिल्लाभित्र पालिका नै तोकेर भुगोलमा केन्द्रित हुने गरि कामको जिम्मेवारी दिइएको ज्ञवालीले बताए ।


Author

थप समाचार
x