दल

भारत भ्रमणमा गएका प्रधानमन्त्रीले गलत सहमति गर्नसक्ने : नेता पोखरेल

इकागज |
जेठ १८, २०८० बिहीबार ८:४९ बजे

सिरहा - नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले भारत भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ले गलत सहमति गर्नसक्ने बताउँदै त्यसको लागि खबरदारी गर्नुपर्ने जनाएका छन् ।

नेकपा एमाले जिल्ला कमिटी सिरहाले गोलबजारमा आयोजना गरेको वृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै भारत भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्डले देशको हित विपरीत सम्झौता गरे पार्टी चुप लागेर नबस्ने समेत बताएका छन् ।


एमाले सच्चा राष्ट्रवादी भएको बताउँदै राष्ट्रको हित विपरीत कुनैपनि सहमति सम्झौता मान्य नहुने उनकाे भनाई थियाे । उनले पार्टीलाई राष्ट्रको हितमा परिचालन गरी वृहत् र व्यवस्थित पार्टी बनाउन कार्यकर्ताहरूलाई आव्हानसमेत गरेका छन् ।

साेही अवसरमा नेकपा (एकीकृत समाजवादी) नेता तथा पूर्व प्रदेश सभा सदस्य अशोक यादव र जनता समाजवादी पार्टीका प्रदेश सदस्य विना शर्मा, टीका लामा, जिल्ला सदस्य कृष्णा सिंह ज्ञान कुमार सिंहसहित विभिन्न पार्टी परित्याग गरी सयौंको संख्यामा नेकपा एमालेमा प्रवेश गरेका छन्।​

गोलबजार नगरपालिकामा भने आज पार्टी प्रवेश कार्यक्रममा धेरैजसोले गएको प्रदेश तथा प्रतिनिधीसभाकै निर्वाचनको वेला पार्टी प्रवेश गरेकाहरुको लर्को रहेको देखिएको बताए। नेकपा एमालेकै एक कार्यकर्ताले भने, ‘पार्टी प्रवेश भनेपनि गत प्रदेश तथा प्रतिनीधिसभाको निर्वाचनकै क्रममा पार्टीमा आएकाहरुलाई प्रमाणपत्र वितरण गर्ने कार्यजस्तो भयो।’

कार्यक्रममा नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्व मन्त्री लिलानाथ श्रेष्ठ, जिल्लाका निर्वाचित नगरपालिकाका मेयर तथा अध्यक्षहरू र पार्टीका नेताहरूको उपस्थिति रहेको थियो।

 


Author

थप समाचार
x