दल

रेशम चौधरीलाई आम माफी दिनु अदालतमाथि बलमिचाइँ : महामन्त्री थापा

इकागज |
जेठ १५, २०८० सोमवार १४:२५ बजे

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले रेशम चौधरीलाई आम माफी दिएर सरकारले सर्वोच्च अदालतको आदेशको बलमिचाइँ गरेको बताएका छन् ।​ सोमबार ललितपुरमा आयोजित कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आवश्यकताका आधारमा निर्णय गर्ने भन्दा पनि सरकारले कानुनको शासन मान्नुपर्ने जिकिर गरे । उनले नेपालको कानुनले कुनै पनि विषयमा अदालतले निर्णय गरिसकेपछि अदालतले गरेको अन्तिम फैसला कसुरका सन्दर्भमा सजाय मिनाहा हुन्छ कि हुँदैन भनेर कानुनले बन्दोबस्त गरेको उल्लेख गर्दै कानुनको बन्दोबस्त गरे भन्दा बाहिर कोही पनि जान नमिल्ने बताए ।


थापाले सरकारलाई मन लाग्यो, सरकारले निर्णय गर्यो, राष्ट्रपतिले सजाय मिनाहा गरिदिनुभयो भन्ने हिसाबले मात्रै यसलाई लिन नहुने भनाइ राखे । उनले यो राजाको शासन नभएकाले कसैको हुकुम नचल्ने पनि उल्लेख गरे । सरकार चलाउने कुरामा केही गाह्रो भयो भनेर प्रचलित कानुनलाई मिच्न नहुने उनकाे भनाइ छ । उनले राष्ट्रहीत विपरीत गरिने निर्णयले भविष्यमा आफैँलाई पछुतो हुने बताए ।

महामन्त्री थापाले रेशम चौधरीका बारेमा अदालतको पूर्णपाठ नआइसकेको अवस्थामा अदालतलाई हेप्नुले जे गरे पनि हुन्छ भन्ने मानसिकता विकसित हुँदै गएको प्रमाणित भएको बताए । विधिको शासन वकालत गर्ने बेलामा सरकार परिवर्तन भएर केही फरक नपर्ने बताए ।

महामन्त्री थापाले नेपाली कांग्रेस सत्ता र सरकारमा लिप्त हुन थालेको बताए । उनले आजका युवाहरूमा कांग्रेसप्रति निराशा हुनुको मूल कारण सत्ता र सरकारका लागि कांग्रेसले मरिमेट्नु रहेको उल्लेख गरे । यस्ता गल्ती भएकै ठाउँबाट सच्याउनुपर्ने उनकाे भनाइ छ । उनले पार्टीमा अब पनि यस्ता गल्तीहरू स्वीकारेर अघि नबढ्ने पनि उल्लेख गरे ।

महामन्त्री थापाले नेपाली कांग्रेसले अब कहिल्यै पनि चुनावअघि गठबन्धन नगर्ने प्रतिबद्धता जनाए ।


Author

थप समाचार
x