दल

फेरि सरकारमा सहभागी हुँदै डा. सिके राउतको जनमत पार्टी

कमल विष्ट |
जेठ १०, २०८० बुधबार १६:६ बजे

काठमाडौं– जनमत पार्टी पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा जाने भएको छ । नयाँ आर्थिक वर्ष २०८०–८१ को बजेट प्रस्तुत भएपछि जनमत सरकारमा सहभागी हुने भएको हो । 

जनमतका उपाध्यक्ष तथा सांसद अब्दुल खानले सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्री प्रचण्डसँग छलफल भइरहेको जानकारी दिए । ‘अहिलेसम्म सरकारमा जाने नै कुरा भएको छ । १४ गतेको आसपासमा सरकारमा जाने कुरा छ,’ उनले इकागजसँग भने ।


पूर्वमन्त्रीसमेत रहेका खानले मन्त्रालयको विषयमा भने अहिले टुंगो लागिनसकेको बताए । ‘सरकारमा सहभागी हुनेबारे प्रधानमन्त्रीज्यूसँग छलफल  भइहेकाे छ । तर मन्त्रालयको विषयमा टुंगो लागिसकेको छैन । हामीले पनि कुनै त्यस्तो डिमान्ड भने गरेका छैनौँ,’ उनले भने, ‘हेरौँ सरकारले कसरी म्यानेज गर्छ ।’

गत पुस १० मा सरकारलाई समर्थन दिएको जनमत पार्टी चैत २३ गते सरकारबाट बाहिरिएको थियो । आफूले मागेको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय नपाएको भन्दै खानले खानेपानी मन्त्रालयबाट राजीनामा दिएका थिए । 

जनमतले सुरुदेखि नै उद्योग मन्त्रालय माग्दै आएको थियो । अहिले उक्त मन्त्रालयको नेतृत्व कांग्रेसले गरिरहेको छ । कांग्रेसका रमेश रिजालले चैत १७ गतेदेखि यो मन्त्रालय सम्हालिरहेका छन् । 

यस्तो अवस्थामा जनमतले चाहेकै मन्त्रालय पाउन सहज देखिँदैन । 

यता मंगलबार प्रधानमन्त्री प्रचण्डको क्याबिनेटले पनि पूर्णता पाइसकेको छ । मंगलबार जसपाबाट एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएपछि सरकारले पूर्णता पाएको हो । 

एक नेताका अनुसार यसपालि जनमतले उद्योगबाहेकको मन्त्रालय पनि लिन तयार छ । ‘जनमतले उद्योग नभए कृषि मन्त्रालय पाउँछ सायद,’ ती नेताले इकागजलाई भने, ‘प्रधानमन्त्री र अध्यक्ष राउतबीच थुप्रै पटक यस विषयमा छलफल भएको छ । प्रधानमन्त्रीज्यूले म जसरी पनि मिलाउँछु भन्नुभएको छ ।’

ती नेताले जेठ १२ गते काठमाडौंमा बस्ने पार्टीको केन्द्रीय समिति बैठकमा सरकारमा जानेबारे पनि छलफल हुने बताए । 

किन उद्योग मन्त्रालय नै चाहन्छ जनमत ? 

जनमतका अध्यक्ष डा. सिके राउत शिक्षा र स्वास्थ्य क्षेत्रमा प्रदेश सरकारबाटै काम गर्न सकिने भएकाले केन्द्र सरकारबाट उद्योग, आपूर्ति तथा वाणिज्य मन्त्रालय पाउँदा आफूहरूलाई काम गर्न सजिलो हुने बताउँदै आएका छन् । 

‘रोजगारीको क्षेत्रमा केन्द्रबाटै केही हुनुपर्ने आवश्यकता छ । यसका लागि उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय भयो भने उपयुक्त हुन्छ,’ एक मिडियासँगको अन्तर्वार्तामा उनले भनेका थिए । 

सो मन्त्रालय सम्हाल्न कठिन हुने भए पनि आफ्नो पार्टी यही मन्त्रालयको पक्षमा रहेको उनको भनाइ थियो । तर, आफूहरू जोखिम उठाउन तयार रहेको उनको जिकिर थियो ।

‘हुन त यो सबैभन्दा कठिन मन्त्रालय हो जस्तो लाग्छ । बजेट पनि कम छ । त्यसमाथि ५–१० अरू मन्त्रालयसँग मिलेर काम गर्नुपर्छ,’ उनले भने ।

उनले अगाडि थपेका थिए, ‘तर, त्यो रिस्क मोल्न हामी तयार छौँ । आज होस वा भोलि, रोजगारी सिर्जना उद्योग धन्दा गरेरै हुन्छ ।’ 

पहिलाेचाेटी चुनावमा हाेमिएकाे जनमतका प्रतिनिधिसभामा ६ सांसद छन् ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x