दल

देउवालाई शेखरको सन्देश- सम्मानजनक सहभागिता नभए सरकारमा जान्‍नौँ

इकागज |
चैत १७, २०७९ शुक्रवार ११:१६ बजे

फाइल तस्बिर

काठमाडौँ - नेपाली कांग्रेसको संस्थापनइतर समूहले मन्त्रिपरिषद्‍मा सम्मानजनक सहभागिता नभए सरकारमा नजाने चेतावनी दिएको छ । सभापति शेरबहादुर देउवालाई शुक्रबार बिहान सन्देश पठाउँदै शेखर कोइराला समूहले मन्त्रिपरिषद्‍मा आफूहरूको सम्मानजनक सहभागिता नभर सरकारमा नजाने चेतावनी दिएको हो । 

समूहका एक नेताका अनुसार नेता शेखर कोइरालाले मन्त्रिपरिषद्मा सम्मानजनक सहभागिता नभए सरकारमा नगएर बाहिरै बसेर सहयोग गर्ने सन्देश देउवालाई पठाएका छन् । 'हामीले सम्मानजनक सहभागिताका लागि सभापतिज्यूलाई आग्रह गरेका छौँ,' ती नेताले इकागजसँग भने, 'सम्मानजक सहभागिता नभए सरकार बाहिरै बसेर सहयोग गर्छौँ भनेका छौँ ।'


ती नेताका अनुसार शुक्रबार बिहानै समूहका नेता कोइरालाले उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियारसँग छलफल गरेका थिए । छलफलपछि शेखरले देउवालाई सन्देश पठाएका हुन्।

आज मन्त्रिपरिषद् विस्तार हुँदैछ । कांग्रेसले अर्थ मन्त्रालयसहित आठ मन्त्रालयले पाएको छ । शेखर समूहले तीन मन्त्रालयमा दाबी गरेको छ । सभापति देउवाले भने दुई मन्त्रालय लिन शेखरलाई सुझाएका छन् ।

कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने तयारीमा छ । 

कांग्रेसबाट खड्कासहित उपसभापति धनराज गुरुङ्, एनपी साउँद, सिता गुरुङ, डिगबहादुर लिम्बू, प्रकाश शरण र मोहन बहादुर बस्नेत मन्त्री बन्ने चर्चा छ । 


Author

थप समाचार
x