दल

शेखरलाई सन्देश पठाउँदै स्वर्णिमले भने: देउवा-आरजु गिरोहको हेपाइ र अपमान सहेर कांग्रेसमा बस्न सकिनँ

इकागज |
चैत १६, २०७९ बिहिवार १५:५४ बजे

फाइल फोटो

काठमाडौँ - अर्थविद् स्वर्णिम वाग्लेले नेपाली कांग्रेस परित्याग गर्ने भएका छन् । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालाई भावुक सन्देश पठाउँदै वाग्लेले पार्टी परित्याग गर्ने घोषणा गरेको स्रोतले बताएको छ । 

वाग्लेले भनेका छन्, 'प्रिय शेखर दाई हजुरहरूको अपार सद्भावका बाबजुद म कांग्रेसमा रहन नसक्ने अवस्था आएको छ । देउवा-आरजु गिरोहको निरन्तर हेपाइ र अपमानले यो स्थिति ल्याएको हो ।' उनले कृपा र निगाहाको जीवनपर्यन्त राजनिति भन्दा समयसीमा तोकेर आफ्नो उमेर, ज्ञान र उर्जा सान्दर्भिक रहँदै डेलिभरिको प्रयोगमा जान चाहेको उनले लेखेको सन्देशमा भनिएको स्रोतले जानकारी दिएको छ । वाग्लेले पार्टी छाड्नुअघि कांग्रेसका नेतासँग परामर्श लिएको भए पार्टी छाड्न गाह्रो हुने पनि उल्लेख गरेको बताइएको छ । 


उनी कांग्रेस त्यागेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) बाट तनहुँ-१ बाट निर्वाचन लड्ने तयारीमा छन् । गत मंसिरमा नै चितवन-१ बाट निर्वाचन लड्ने मनस्थिति बनाएका वाग्लेले कांग्रेसबाट टिकट नपाएपछि पछि हटेका थिए । पार्टी सभापति शेरबहादुर देउवाको मनपर्ने पात्र हुँदाहुँदै पनि सभापति पत्नी आरजु राणाको जोडबलका कारण वाग्लेले टिकट नपाएका हुन् । 

उनको स्थानमा राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा तत्कालीन अवस्थामा रहेका विश्व पौडेललाई टिकट दिइएको थियो । उनी नेकपा एमालेका सुरेन्द्र पाण्डेसँग पराजित भएका थिए । 


Author

थप समाचार
x