दल

अध्यक्ष सिके राउत भन्छन्- उहाँले जित्ने प्रबल सम्भावना छ, भोट काट्ने काम नगरौं

बारा-२ मा जनमत पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने

इकागज |
चैत १५, २०७९ बुधवार १३:४७ बजे

काठमाडौँ - जनमत पार्टीका अध्यक्ष सिके राउतले बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले नछोड्ने स्पष्ट पारेका छन् । बुधबार माओवादी केन्द्रका नेता शिवचन्द्र प्रसाद कुशवाहलाई पार्टीमा प्रवेश गराउन काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष राउतले आफ्नो पार्टीले कुशवाहलाई उम्मेदवार बनाउने र उनको जित हुने प्रवल सम्भावना रहेको पनि बताए । 

उनले मधेश प्रदेशको मुख्यमन्त्री आफ्नो पार्टीलाई दिने सहमति सत्तारूढ गठबन्धनमा भएको उल्लेख गर्दै त्यसलाई बारा क्षेत्र नम्बर २ को उपनिर्वाचनसँग जोडेर नहेर्न पनि पटकपटक आग्रह गरे । अध्यक्ष राउतले वैकल्पिक नयाँ राजनीतिक दलहरूलाई आफ्नो पार्टीको पक्षमा मतदान गरी बारा क्षेत्र नम्बर २ बाट कुशवाहलाई जिताउन पनि आग्रह गरे । 


ठूला पार्टीहरू पदका लागि मिल्ने गरेकाले नयाँ राजनीतिक शक्तिहरूले पनि मिलेर चुनावमा आफ्नो पार्टीको उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ थियो । ‘वैकल्पिक सबै राजनीतिक पार्टीहरू सत्यको पक्षमा उभिने हो । माथिका ठूलो दलहरू सिद्धान्त नमिले पनि पदकै लागि जहिले पनि मिल्नुहुन्छ । तर वैकल्पिक राजनीतिक शक्तिहरूले चाँही किन सकिरहेका छैनन ? त्यो सोच्नु पर्छ,' उनले भने, 'हामी जति पनि वैकल्पिक नयाँ राजनीतिक शक्तिहरू छौं । तिनीहरू मिलेर अब शिवचन्द्र कुशवाहजीलाई पछिल्लो निर्वाचनमा पनि उहाँले साढे ३ सय झिनो मतले पराजित हुनु भएको थियो । उहाँले जित्ने प्रबल सम्भावना भएकाले त्यसमा अन्यथा भोट काट्ने काम नगरौं । हामी आफैं लड्दै गयौँ भने त ती पुराना शक्तिहरूले नै जित्छन् । अत्याचार गरिराख्छन्।’

बारा २ मा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव उठ्ने चर्चा भइरहेको छ । सो निर्वाचन क्षेत्रबाट निर्वाचित रामसहाय यादव उपराष्ट्रपतिमा निर्वाचित भएपछि सो क्षेत्रमा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । 

बारा-२ बाट जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । यादवले १३ हजार आठ सय २२ मत प्राप्त गरेका थिए । उनका निकटतम नेकपा (माओवादी केन्द्र)का शिवचन्द्रप्रसाद कुशवाहाले १३ हजार चार सय ६८ मत प्राप्त गरेका थिए ।


Author

थप समाचार
x