दल

दलित भनेर छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय दिनुपर्ने वामदेवको प्रस्ताव

इकागज |
चैत १२, २०७९ आइतवार १६:८ बजे

फाइल फोटो

काठमाडौँ - राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुन नसक्ने बताएका छन् । 

आइतबार राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले नेपालको संविधान संसारकै उत्कृष्ट संविधान भन्ने गरिएको तर दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्ने संविधान उत्कृष्ट हुनै नसक्ने बताएका हुन् । उनले संविधानको भाषा उत्पीडितलाई रही रहोस् भन्ने नभएपनि भावना दलित र उत्पीडित व्यवस्था भइरहनुपर्छ भन्ने किसिमको रहेको दाबी गरे । 


सांसद गौतमले नेपालको संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था नगरेको दाबी गरे । उनले संविधानमा दलित समुदायको हक र अधिकार भन्नु नै दलितको र उत्पीडन रही रहन्छ भन्ने रहेको बताए । उनले दलित भनेर छुवाछुत गर्ने कुरालाई जघन्य अपराध मानेर जन्मकैदको फैसलाको व्यवस्था संविधानमा गर्नुपर्ने बताए । 

उनले भने, ‘हाम्रो संविधानले छुवाछुत र भेदभाव अन्त्य गर्ने व्यवस्था गरेको छैन । हाम्रो ऐनले गरेको छैन । नियमावलीले झनै गर्नेकुरा नै भएन । यो संविधानमा दलित समुदायको हक र अधिकार भन्छ । भाषा उपयुक्त छ, कतै मलाई लाग्दैन । यसलाई अनुवाद गरेर अंग्रेजीमा भन्नुस्, संस्कृतमा भन्नुस्, उपयुक्त छैन । दलित व्यक्तिको अधिकार कर्तव्य के हो रु भनेपछि यसले स्वीकार गरेको छ की दलित समुदाय रही रहनेछ । त्यसलाई मद्दत हुनेगरी हामीले आरक्षण व्यवस्था गरेका छौँ । दलित भएको हुनाले संसदमा आउनुपर्ने व्यवस्था छ । जघन्य अपराधमा त्यो अपराध गर्ने व्यक्तिहरुलाई मुक्ति दिनको निम्ति पीडित पक्षलाई केही न केही दिएर खुशी पारेको जस्तो देखाउने र सधैँभर दलित राखिरहने, पीडित राखिरहने, उत्पीडन गरिरहने र यो जघन्य अपराधले हाम्रो समाज, हाम्रो संस्कृति र हाम्रो भविष्य कलंकित भइरहेको छ । कलंकित हुनेछ । हामीले सानातिना टालो लगाएर कपडा चुन्ने जस्तो होइन । नयाँ व्यवस्थामा ल्याउँ । नयाँ अवस्थामा प्रवेश गरौँ । मान्छेले मान्छे जस्तै व्यवहार गर्नुपर्छ । मान्छेले जंगली व्यवहार गर्ने, मानवले अमानवीय व्यवहार गर्ने त्यो व्यवस्था गर्नेमाथि कारबाही हुने व्यवस्था गरौँ । यो संविधानमा भएको दलितको अधिकार र कर्तव्य भन्ने समाप्त गर्नुपर्छ । जतिसक्दो छिटो संशोधन गर्नुपर्छ । हामीले कलंक बोकेर संसारको सबैभन्दा उत्कृष्ट संविधान भन्छौँ । उत्कृष्ट संविधान हो, जसले दलित र उत्पीडित व्यवस्थालाई समर्थन गर्छ ? भाषा त्यस्तै छैन, त्यो भन्दा अर्को अर्थ लाग्दैन । हामी उनीहरुलाई खुशी बनाउन चकलेट दिन चाहन्छौँ, चुप लागेर बस भनेर । कसको निम्ति ? त्यही उत्पीडन गर्ने समुदायको निम्ति ? भेदभाव र छुवाछुत गर्नेलाई आजीवन कारावासको सजाय हुनुपर्छ । छुवाछुत र भेदभाव गर्नेलाई जघन्य अपराध घोषणा गरौँ ।’

सांसद गौतमले छुवाछुत र भेदभावलाई जघन्य अपराध घोषणा गर्न माग गरे । 


Author

थप समाचार
x