दल

मन्त्रिपरिषद्‌ विस्तारको तयारी : कांग्रेसभित्र कुन मन्त्रालयमा कसको चर्चा ?

इकागज |
चैत १२, २०७९ आइतबार ११:५२ बजे

फाइल तस्बिर

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्‌ विस्तारको तयारी गरीरहेका छन् । चैत १० गतेभित्र मन्त्रिपरिषद्‌ विस्तार गर्ने बताएका प्रधानमन्त्री प्रचण्डले मंगलबारसम्म विस्तार हुनेगरी तयारी थालेका छन् ।

मन्त्रिपरिषद्‌ विस्तारका लागि सत्ता गठबन्धनमा रहेका दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन् । शनिबार मात्रै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र उपसभापति पूर्णबहादुर खड्‌कासँग छलफल गरेका थिए ।


छलफलमा देउवाले ८ मन्त्रालय पाउनुपर्ने दाबी गरेका थिए । तर प्रधानमन्त्री प्रचण्डले गठबन्धनमा धेरै दल भएका कारण सात मन्त्रालय दिने बताएका थिए । छलफलमा कुन मन्त्रालय कसले पाउने भन्‍नेबारे पनि छलफल भएको थियो ।

प्रधानमन्त्री प्रचण्डसँग छलफल भएपछि कांग्रेसमा मन्त्री हुनेहरूको चर्चा चल्न थालेको छ । कांग्रेस पूर्णबहादुर खड्‌काको नेतृत्वमा सरकारमा जाने गरी छलफल चलेको देउवा निकट एक नेताले इकागजलाई बताए । जसमा उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालय लिएर खड्‌का सरकारमा जाने चर्चा छ ।

त्यसैगरी रक्षा मन्त्रालयमा एनपी साउदलाई पठाउनेगरी छलफल चलिरहेको कांग्रेस निकट स्रोतले बतायो । कांग्रेसमा प्रकाशशरण महत परराष्ट्र मन्त्री हुने चर्चा छ । उनी सभापति देउवा निकट मानिन्छन् । महतले आफू यसपटक मन्त्री हुनपर्ने भन्दै देउवालाई दबाब बढाइरहेका छन् ।

सीता गुरुङ पनि महिला तथा बालबालिका मन्त्री हुने चर्चा कांग्रेसभित्र चलेको छ । त्यसैगरी डिकबहादुर लिम्बू पनि भूमी सुधार मन्त्री हुने चर्चा कांग्रेसभित्र रहेको ति नेताले बताए ।

धनराज गुरुङ र रामहरी खतिवडा पनि मन्त्री हुने चर्चा छ । उनीहरूको मन्त्रालय भने टुंगिन बाँकी रहेको ति नेताले बताए । खतिवडालाई सहरी वा स्वास्थ्य मन्त्री बनाउने यसअघि नै कांग्रेसभित्र चर्चा चलेको थियो ।

कुन मन्त्रालय कसले पाउने भन्‍नेबारे अन्तिम निर्णय हुन बाँकी रहेको उपसभापति खड्‌काले इकागजलाई बताए । 'छलफल चलिरहेको छ' खड्‌काले इकागजसँग भने 'को-कसलाई सरकारमा पठाउने भन्‍नेबारे पार्टीले छिट्टै निर्णय गर्छ ।'

र, यो पनि


Author

थप समाचार
x