दल

'संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाउन सबै दलले साथ दिनुपर्छ'

इकागज |
चैत ५, २०७९ आइतवार १४:४३ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई अघि बढाउन सबै दलले साथ दिनुपर्ने बताएका छन् ।

आइतबार संसद् भवन नयाँ बानेश्वरमा संचारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले सत्य निरूपण तथा मेलमिलाप सम्बन्धी विधेयकमा धेरै लामो समयदेखि चर्चा चल्दै आएकाले अब शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउन सबै दलहरूले साथ दिनुपर्ने बताएका हुन् ।


यस विषयमा यसअघि नै दलहरूबीच सहमति भइरहेको र अहिले पनि प्रतिपक्षी दलमा पनि विपक्षी नरहेको उनकाे भनाइ छ । अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वासको मत दिए पनि प्रतिपक्षीमा बस्न सकिने भएकाले सबै दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिँदा राम्रो हुने धारणा राखे ।

त्यस्तै नेकपा एकीकृत समाजवादका नेता प्रकाश ज्वालाले पनि शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्‍याउनका लागि निकै ढिलाई भइसकेको अवस्थामा टिआरसी विधेयकमा राष्ट्रिय सहमति खोजिनुपर्ने बताए ।

त्यस्तै नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले टिआरसी विधेयकमा आपत्ति जनाउनुपर्ने कुनै कारण नरहेको सबैले सहयोग गर्नुपर्ने बताए । उनले संक्रमणकालीन न्यायसँग सम्बन्धित कानुनलाई फास्ट ट्रयाकबाट अघि बढाउनुपर्नेमा जोड दिए ।

निधिले राष्ट्रपति/उपराष्ट्रपति निर्वाचनका कारण पार्टीभित्रको काम अघि बढ्न नसकेको भन्दै अब बिस्तारै महाधिवेशनपछि कांग्रेस पार्टीभित्र बाँकी रहेका काम अघि बढ्ने जानकारी दिए ।


Author

थप समाचार
x