दल

राप्रपा सामन्ती र दलाल नोकरशाही वर्ग चरित्रको पार्टी हो : माधव नेपाल

इकागज |
माघ २१, २०७९ १६:१ बजे

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)लाई सामन्ती तथा दलाल नोकरशाही वर्ग चरित्रको पार्टीको संज्ञा दिएका छन् । शनिबार उनले पार्टीको केन्द्रीय कमिटी बैठकमा पेस गरेको राजनीतिक प्रतिवेदनमा राप्रपाबारे यस्तो टिप्पणी गरेका हुन् । 

पछिल्लो राजनीतिक परिस्थितिदेखि निर्वाचनमा अपेक्षित नतिजा आउन नसक्नुका कारणबारे केलाइएको उक्त प्रतिवेदनमा उनले राप्रपाबारे लेखेका छन्, ‘प्रतिनिधि सभाको पाँचौ स्थानमा रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी सामन्ती तथा दलाल नोकरशाही पुँजीपति वर्ग चरित्रको पार्टी हो । यो पार्टी समाजमा अवशेषका रूपमा रहेको सामन्ती पछौटे एवं लम्पट चिन्तनको प्रतिनिधि हो । यो संविधान, गणतन्त्र र सङ्घीयता विरोधी पार्टी हो । यसले जनताको क्रान्तिकारी आन्दोलनले उखेलेर फ्याँकेको सामन्ती राजतन्त्रलाई पुनःस्थापना गर्न चाहन्छ ।’


प्रतिवेदनमा राप्रपासहित नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा (माओवादी केन्द्र) गरी १२ राजनीतिक शक्तिबारे उनले आफ्नो धारणा व्यक्त गरेका छन् । 

उनले बैठकमा प्रस्तुत गरेको प्रतिवेदनमा राष्ट्रिय राजनीतिक परिस्थिति, राजनीतिक शक्तिहरूलगायत विभिन्न विषय समेटिएका छन् । 

एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक शनिबारदेखि सुरु भएको हो । यो भोलिसम्म चल्नेछ ।


Author

थप समाचार
ad
x