दल

गृहमन्त्री र राष्ट्रपति पूर्वसहमति अनुसार नै हुन्छ : ओली

बाबुराम भण्डारी |
माघ १९, २०७९ बिहिवार १४:४५ बजे

विराटनगर- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्री र राष्ट्रपति पदमा पूर्वसहमति अनुसार हुने बताएका छन् । बिहीबार विराटनगर विमानस्थल ओर्लिएका ओलीले गृहमन्त्री राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रपति एमालेबाटै हुने बताएका हुन् ।

सहमति अनुसार गृहमन्त्री पद राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिइएकाले उसैले पाउने उनकाे तर्क छ । रास्वपाबाट गृहमन्त्री बनेका रवि लामिछाने पदमुक्त भएपछि अहिले गृहमन्त्री पद खाली छ ।


'त्यो पार्टीले पाएको गृहमन्त्री कसलाई बनाउँछ भन्ने विषय राष्ट्रिय स्वतन्त्र पार्टीले नै निर्णय गर्ने हो,' ओलीले भने, 'कसलाई गृहमन्त्री बनाउने भन्ने उसैले जानोस्, हामीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई दिएको हो ।’

रास्वपालाई गृह मन्त्रालय नदिने छुट्टै ढंगको निर्णय कसैले गर्न नहुने पनि ‌ओलिले बताए । रास्वपालाई गृह मन्त्रालय दिन अदालतको पूर्णपाठ नचाहिने पनि उनकाे भनाइ छ । ओलीले सत्ता गठबन्धनभित्र कुनै समस्या नरहेको समेत दाबी गरे ।

ओलीले भने, ‘अदालतको पूर्णपाठ कण्ठ गर्ने हो र ? पूर्णपाठ किन चाइयो ?'

ओलीले पूर्वसहमति अनुसार नै राष्ट्रपतिको उम्मेदवार सत्तापक्षको एमालेबाट हुने दाेहाेर्‍याए । नेकपा एमालेबाट राष्ट्रपतिको उम्मेदवार बनाउने व्यक्ति सरकारको आधिकारिक उम्मेदवार हुने ओलीको भनाइ छ ।

उनले कांग्रेसमा राजनीतिक संस्कार नभएको आरोप लगाउँदै गृह राज्यमन्त्री दिँदा पनि काङ्ग्रेस सरकारमा आउने भन्दै टिप्पणी गरे । राजनीति एजेण्डा र त्यसलाई कार्यान्वायन गर्ने कुराले सरकार संकटमा नपर्ने उल्लेख गरे ।

प्रणालीमा नै अस्थिरता रोपिएको भन्दै २००७ सालमा प्रजातन्त्र आएपछि कुनै पनि सरकार ५ वर्षसम्म नचलेको यथार्थ रहेको उनले सुनाए ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x