दल

मौनताभित्र डा. शेखरको दौडधुप

इकागज |
मंसिर १७, २०७९ शनिवार १६:४१ बजे

काठमाडौँ - निर्वाचन परिणामले नेपाली कांग्रेसलाई पहिलो पार्टी बनाएको छ । परिणाम आएसँगै कांग्रेसमा प्रधानमन्त्रीको दौडमा धेरै नेताहरू रहेका छन् । कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्व महामन्त्री शशांक कोइराला र महामन्त्री गगन थापाले आफू प्रधानमन्त्रीको दौडमा रहेको बताइसकेका छन् । तर, प्रधानमन्त्री बन्न त्यति सजिलो छैन । कांग्रेसमा एउटा परम्परा छ संसदीय दलको नेता नै प्रधानमन्त्री बन्ने । 

कांग्रेसको १४ औं महाधिवेशनले सभापतिमा देउवा र पार्टी भित्रको वैकल्पिक नेताको रुपमा डा. शेखर कोइरालालाई स्थापित गर्यो । यद्यपि १२ हजार बढी मतान्तरले चुनाव जितेका शेखर आफैले भने संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्ने वा नगर्ने भन्नेबारे मुख खोलेका छैनन् । गृहजिल्लाबाट काठमाडौँ फर्किएलगतै कोइरालाले पार्र्टीभित्रको राजनीतिक भेटघाट र परामर्शलाई निकै तीव्रता बनाएका छन् ।  उनको परामर्श र भेटघाटको तीव्रताले संसदीय दलको नेतामा प्रतिस्पर्धा गर्छन् भन्ने छनक दिएको छ । काठमाडौँ फर्किनुअघि विराटनगरस्थित कोइराला निवासमा शेखरले संसदीय दलको नेता बन्नु भनेको अंकगणितीय खेल हो, म काठमाडौँ फर्किएलगत्तै पार्टीका साथीहरूसँग परामर्श गर्छु र आफ्नो निर्णय लिन्छु भनेका थिए । 


काठमाडौँ फर्किए लगत्तै उनलाई भेट्न महामन्त्री गगन थापा पुगेका थिए । संस्थापनइतरका नेताहरूले भने कोइरालाले चाहँदैमा संसदीय दलको नेता लड्ने वा नलड्ने भन्ने हुँदैन । डा. शेखर कांग्रेसभित्रको मात्रै होइन राष्ट्रिय राजनीतिका नै वैकल्पिक नेता भएकाले यो प्रतिस्पर्धाबाट उनी बाहिर जान मिल्दैन भन्ने दबाब दिएका छन् । यद्यपि कोइराला र उनी निकटले भने संसदीय दलको नेताको बारे मुख खोलेका छैनन् । 


Author

थप समाचार
x