दल

सुनसरी-४ मा कांग्रेसको 'क्लिन स्वीप', कडा प्रतिस्पर्धाबीच कार्कीको जित

बाबुराम भण्डारी |
मंसिर १५, २०७९ बिहिवार १२:० बजे

विराटनगर - प्रदेश १ को २८ वटा संघीय निर्वाचन क्षेत्र मध्ये मतगणनाको अन्तिम क्षेत्र बनेको सुनसरी–४ मा नेपाली कांग्रेसका ज्ञानेन्द्र बहादुर कार्की निर्वाचित भएका छन् । कार्कीले ११२ मतान्तरले नेकपा एमालेका केन्द्रीय सदस्य जगदीशप्रसाद कुसियैतलाई पराजित गरेका हुन् ।

अन्तिम मतपरिणाम अनुसार सरकार प्रवक्ता समेत रहेका संचार तथा सूचना प्रविधिमन्त्री कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका छन् । पराजित भएका कुसियैतले ३० हजार ३७१ मत पाएका छन् ।


कार्कीले बराहक्षेत्र नगरपालिका–१० को अन्तिम २०० मत गन्न बाँकी हुँदा ३१ मतले अगाडि थिए कांग्रेसले निरन्तर अग्रता लिएको उक्त वडाकै मतले कार्की निर्वाचित हुने संकेत देखिएपछि मतगणनास्थल इनरुवास्थित भगवती मावि प्राङगणमा कांग्रेसका सयौं नेता कार्यकर्ता विजय उत्सवको तयारी रहेका थिए । कार्कीको जितलाई उनीहरूले सुनसरीका बाँकी तीनवटा निर्वाचन क्षेत्रमा व्यहोरेको हारको बदलाका रुपमा लिएका छन् ।

सुनसरीका चारवटा निर्वाचन क्षेत्रमध्ये १ मा जसपाका अशोक राई, २ मा भीम आचार्य र ३ मा भगवती चौधरी निर्वाचित भइसकेका छन् । 

क्षेत्र नम्बर ४ मा एमाले नेता कुसियैत र कार्कीबीच सुरुवाती गणनादेखि नै कडा टक्कर थियो । मतगणनाको अधिकांश परिणाम कुसियैतका पक्षमा देखिएपछि मन्त्री कार्कीले गणनामा धाँदली भएको भन्दै विरोध जनाएका थिए । विरोधका कारण तीन दिनसम्म मतगणना रोकिएको थियो । 

निर्वाचन आयोगले मतगणना गर्न निर्देशन दिएपछि बुधबारदेखि पुनः मतगणना सुरु भएको थियो । गणनाको सुरुवातदेखि अग्रता बनाएका कांग्रेसका कार्की बिहीबार बिहान पुनः एमालेका कुसियैतसँग ४१ मतले परेका थिए । 

आफ्नो प्रभावक्षेत्र रहेको सुनसरीको कोसी गाउँपालिका–६ मा एमालेका कुसियैतले अग्रता बनाए पनि गणना बाँकी रहेको बराहक्षेत्र–१० ले पुनः कार्कीलाई साथ दिएको हो । 

बराहक्षेत्र–१० मन्त्रीकै मतदान केन्द्र भएको वडा पनि हो । सुनसरी ४ मा ८१ हजार १८१ मत खसेको जनाइएको छ । 

प्रदेशमा पनि कांग्रेसकै मन्सुरी र मण्डल निर्वाचित

प्रदेशसभातर्फका क्षेत्र नम्बर (१) मा नेपाली कांग्रेसका इस्राइल मन्सुरी र (२) मा सदानन्द मण्डल निर्वाचित भएका छन् । उनीहरूको जीतसँगै प्रदेश १ मा नेपाली कांग्रेसको प्रत्यक्षतर्फ १७ सिट सुरक्षित भएको छ ।

प्रदेशसभा (१) मा मण्डलले एमाले–जसपा गठबन्धनबाट उम्मेदवार बनेका जसपाका परशु राम बस्नेतलाई ३ हजार १६८ मतको भारी अन्तरले पराजित गरेका छन् । मण्डलले १५ हजार १९८ मत पाउँदा बस्नेतले १२ हजार ३० मत ल्याएका हुन् ।

प्रदेशसभा (२) मा निर्वाचित मन्सुरीले नेकपा एमालेका अब्बास अन्सारीलाई २ हजार १४६ मतान्तरले पराजित गरेका हुन् ।

मन्सुरीले १४ हजार ३५८ मत पाएका छन् । त्यस्तै अन्सारीले १२ हजार २१२ मत पाएर पराजित भएका हुन् । राप्रपाका चन्दन मेहताले पनि ४ हजार ९६२ मत प्राप्त गरेका छन् ।


Author

बाबुराम भण्डारी

भण्डारी इकागजका कोशी प्रदेश प्रतिनिधि हुन् ।


थप समाचार
x