दल

महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि प्रचण्डको जक्सन बन्छ सुकुटे

जनयुद्ध तयारीका लागि एक रात प्रशिक्षण दिन चौतारा पुगेका थिए प्रचण्ड

इकागज |
मंसिर १५, २०७९ बिहिवार ८:३६ बजे

तस्बिर : प्रदिप पराजुली

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड बुधबार परिवारसहित सुटुक्क सिन्धुपाल्चोकको सुकुटे पुगे । प्रचण्ड केही महत्वपूर्ण राजनीतिक निर्णय लिनुअघि सुटुक्क सुकुटे पुग्छन् ।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको केही ठाउँबाहेक अन्तिम मत परिणाम आइसकेको छ । प्रतिनिधिसभाको प्रत्यक्षमा हालसम्म माओवादीले १७ स्थानमा जित हासिल गरेको छ । अघिल्लो निर्वाचनमा प्रत्यक्षमा ३६ सिट जितेको माओवादी यो पटक १७ सिटमा खुँम्चिएको छ । त्यसोत समानुपातिकमा पनि अघिल्लो निर्वाचनभन्दा निकै मत माओवादीको खस्किएको छ । यो तनावका बीच प्रचण्ड सुकुटे पुगेका छन् । त्यसोत अब सरकार गठनको पनि महत्वपूर्ण निर्णय प्रचण्डलाई लिनुछ । पार्टीका तल्लो तहका नेताहरूले पाँच वर्ष प्रतिपक्षमा बसेर सरकारको भण्डाफोर गर्न प्रचण्डमाथि अर्को दबाब छ ।


प्रचण्ड पहिलो पटक २०३८ सालमा सिन्धुपाल्चोक पुगेका थिए । हालको चौतारा साँगाचोकगढी नगरपालिका तत्कालीन साँगाचोकमा प्रचण्ड तत्कालीन माओवादी नेता धुब्र पराजुलीको बेसीघरमा बसेका थिए । पराजुली यो पटकको चुनावमा स्वतन्त्रबाट सिन्धुपाल्चोक प्रतिनिधि सभा २ मा उठेका थिए । पराजुली पराजित भए ।

जनयुद्धको तयारीका लागि प्रचण्ड दोस्रो पटक २०५१ सालमा सिन्धुपाल्चोक सदरमुकाम चौतारास्थित गौरीगाउँको तामाङ टोलमा एकरात प्रशिक्षण दिएर फर्किएका थिए । तर त्यसपछि भने प्रचण्ड जनयुद्धभर सिन्धुपाल्चोक गएनन् ।

शान्ति प्रक्रियापछि २०६३ सालको दसैँ मनाउन प्रचण्ड परिवारसहित निवर्तमान सभामुख अग्नि सापकोटाको नौबिसेमा रहेको घरमा गएका थिए । सापकोटाको घरमा तीन दिन बसेर प्रचण्ड काठमाडौँ फर्किएका थिए । २०६८ सालमा तत्कालीन माओवादीको स्थायी कमिटी बैठक पनि प्रचण्डले सुकुटेमै राखेका थिए ।  

२०७१ सालमा जुरेमा पहिरो गएको बेलामा पनि प्रचण्ड पहिरोबाटै बाह्रबिसे पुगेका थिए ।  प्रचण्ड ०७२ सालको भूकम्पले ढलेको साँगाचोकस्थित जनजागृति माविमा टहरा बनाउन  गएका थिए । त्यसपछि ०७५ बैशाख ७ गते पनि उनी सुकुटे गएका थिए । त्यसपछि पनि प्रचण्ड पटक-पटक सुकुटे पुगेका छन् ।
 


Author

थप समाचार
x