दल

सुनसरी–४ मा पुनः मतगणना गर्न कांग्रेसको माग

इकागज |
मंसिर ११, २०७९ आइतबार १४:३१ बजे

फाइल फोटो

इनरुवा - सुनसरी क्षेत्र नं ४ को मतगणना पुनः गर्न कांग्रेस कार्यकर्ताले माग गरेका छन् । शनिबार साँझदेखि स्थगित भएको मतगणना पुनः गर्न कांग्रेस कार्यकर्ताले माग गरेका हुन् । 

हिजो मतगणनाका क्रममा आयोगले नै छ सय छ मत एमालेतर्फ जोडेको आरोप सो क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्कीको छ । त्यसपछि विवाद उत्पन्न भएको र अपरान्ह सर्वदलीय बैठक बसेको थियो । सो बैठकमा सर्वदलीय सहमति हुन नसकेपछि साँझदेखि नै मतगणना स्थगित हुन पुगेको थियो । 


लोकतान्त्रिक वाम–गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार कार्कीले एमाले पक्षले मतगणनामा धाँधली गरेको र आयोगकै मिलेमतोमा छ सय छ मत एमाले उम्मेदवारका पक्षमा जोडेको बताएका छन् । 

सञ्चार तथा सूचना प्रविधिमन्त्रीसमेत रहेका कार्कीले सो आरोप लगाउँदै सुरुदेखि नै पुनः मतगणना गर्न माग राखेका छन् । उनले आयोगकै मिलेमतोमा मत हिनामिना भएको सूचना आफूले पाएको बताए । आज बिहान पनि सर्वदलीय बैठक बसेको छ तर कांग्रेसका कार्यकर्ताले पुनःमतगणना गर्नुपर्ने माग दोहोर्‍याए । 

उम्मेदवार कार्कीले २३ हजार चार सय ३९ मत प्राप्त गरेका छन् भने एमाले उम्मेदवार जगदीशप्रसाद कुसियतले २३ हजार तीन सय ४१ मत पाएका छन् । कार्की कुसियतभन्दा ९८ मत अगाडि छन् । यस क्षेत्रमा जम्मा ८१ हजार दुई सय ३३ मत खसेको छ । रासस


Author

थप समाचार
x