दल

एकीकृत समाजवादी राष्ट्रिय पार्टी बन्‍ने सम्भावना न्यून

कमल विष्ट |
मंसिर ११, २०७९ आइतबार १२:७ बजे

काठमाडौं– मंसिर ४ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ । कुल १६५ मध्ये १५६ स्थानको परिणाम आइसकेको छ ।

प्रतिनिधिसभा समानुपातिकतर्फको मतगणना पनि जारी छ । समानुपातिकतर्फको गणना चलिरहँदा धेरैको चासो छ– नेकपा एकीकृत समाजवादी(एस) राष्ट्रिय बन्छ कि बन्दैन ? 


समानुपातिकतर्फ हालसम्म गनिएको मतमा एकीकृत समाजवादीले प्राप्त गरेको मतरेटलाई हेर्दा उसलाई राष्ट्रिय दल बन्न गाह्रो देखिन्छ । यसलाई विस्तृत रूपमा हेरौँ । 

राजनीतिक दलसम्बन्धी ऐन, २०७३ अनुसार राष्ट्रिय दल हुन प्रत्यक्षतर्फ कम्तीमा एक सिट र समानुपातिकतर्फ सदर मतको तीन प्रतिशत मत ल्याउनुपर्छ । कुल १ करोड ७९ लाख ८८ हाजर ५७० मतदातामध्ये यसपालि देशभरबाट १ करोड ९ लाख ७० हजार बढी मतदाता निर्वाचनमा सहभागी भएका थिए । 

निर्वाचन आयोगले यसपालि खसेको मतमध्ये तीन प्रतिशत बदर हुने आँकलन गरेको छ । आयोगको अनुमान अनुसार तीन प्रतिशत बदर हुँदा १ करोड ६ लाख ६४ हजार ९ सय मत सदर हुन्छ । यसको आधारमा राष्ट्रिय पार्टी बन्न नेकपा एसले ३ लाख १९ हजार २ सय २७ मत ल्याउनुपर्छ । 

तर अहिलेसम्म ८३ लाख ९२ हजार २९८ मत गणनामा उसले २ लाख २२ हजार ७९९ मात्र मत पाएको छ । यो कुल अनुमानित सदर मतको २ दशमलव ०९ प्रतिशत हो । 

राष्ट्रिय दलको सूचीमा सूचीकृत हुन उसले अहिलेसम्म गनिएको मतमा ३ प्रतिशत अर्थात् २ लाख ५१ हजार ७६८ मत ल्याएको हुनुपथ्र्यो । यसका आधारमा नेकपा एस राष्ट्रिय दल बन्ने सम्भावना कम देखिएको हो ।

यद्दपि, मतगणना हुन बाँकी केही क्षेत्रमा उसको पकड राम्रो भएको र त्यहाँको मतले परिपूर्ति गर्नसक्ने सम्भावना भने बाँकी छ । 

अहिलेसम्म निर्वाचनमा सहभागी भएका ४८ मध्ये पाँच दल मात्र राष्ट्रिय पार्टी हुने निश्चित भएको छ । नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रिय पार्टी बन्ने निश्चित भएको हो । 

नेकपा एससँगै जनमत पार्टी र जनता समाजवादी पार्टी पनि राष्ट्रिय दल बन्ने–नबन्ने यकिन छैन । 

हालसम्मको मतगणनामा एमाले २३ लाख बढी भोटसहित शीर्ष स्थानमा छ भने २२ लाख बढी मतसहित कांग्रेस दोस्रो स्थानमा छ । त्यस्तै, माओवादी केन्द्र ९ लाख बढी भोट ल्याएर तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी ९ लाख ६७ हजार ९७० मत ल्याएर चौथो स्थानमा छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x