दल

माओवादी प्रवेश गर्न काठमाडौँ हिँडेका द्वारिकालाल चौधरी भन्छन् : एमालेलाई धुलो चटाउँछु

इकागज |
असोज १५, २०७९ शनिबार १४:५२ बजे

काठमाडौँ- इटहरी उपमहानगरपालिकाका पूर्वमेयर तथा एमाले नेता द्वारिकालाल चौधरी नेकपा (माओवादी केन्द्र)मा प्रवेश गर्ने भएका छन् । एमाले सुनसरीका पूर्वअध्यक्षसमेत रहेका चौधरीले आफू माओवादी प्रवेशका लागि केहीबेर अघि काठमाडौँ हिँडेको जानकारी दिए । 

चौधरीका अनुसार उनी आइतबार बिहान माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'का हातबाट टीका ग्रहण गरी माओवादी प्रवेश गर्नेछन् । उनले माओवादीबाट चुनाव लड्ने–नलड्नेबारे केही बताउन भने चाहेनन् । ‘सबै कुरा अहिले नै भन्दिनँ । सबै कुरा असोज २३ गते थाहा हुन्छ,’ इकागजसँग उनले भने ।


स्थानीय तह चुनावमा इटहरीको मेयरमा आफ्ना नाम सर्वसम्मत सिफारिस नगरेपछि उनी एमालेसँग रुष्ट थिए । तर, मेयरको टिकट नपाएकै कारण आफूले पार्टी परिवर्तन गर्ने निर्णय नगरेको बताए । ‘मलाई एमालेले सिफारिस गरेको छ । तर, जुन टिकटबाट उठेर जितिँदैन त्योबाट किन उठ्ने ?’ उनले भने । 

उनले आफूलाई जसले जस्तोसुकै आरोप लगाए पनि फरक नपर्ने बताए । ‘सँगै काम गर्दा महान् क्रान्तिकारी भन्छन् । छुट्टिँदा भने दक्षिणपन्थी, पथभ्रष्ट भन्छन् । वामपन्थीहरूको रेडिमेड प्रतिक्रियाको मलाई मतलब छैन,’ उनले सुनाए । 

चौधरीले एमाले परित्याग गरेर एमालेलाई धुलो चटाउने दाबी गरे । 

माओवादी स्रोतका अनुसार चौधरी प्रदेश सभा सदस्यको टिकट पाउने शर्तमा माओवादी प्रवेश गरिरहेका छन् । इटहरीको मेयर हुँदा चौधरी आफ्ना अभिव्यक्तिका कारण थुप्रै पल्ट विवादमा तानिएका थिए । उनले एक पत्रकारलाई दुर्व्यवहारसमेत गरेका थिए ।


Author

थप समाचार
x