दल

न्यायको माग राख्दै कांग्रेसका शेखर समूहद्वारा पार्टी कार्यालयमा धर्ना

इकागज |
असोज १२, २०७९ बुधबार १५:३ बजे

काठमाडौँ- आगामी निर्वाचनका लागि समानुपातिक सूचीमा असन्तुष्टि जनाउँदै आएका नेपाली कांग्रेसका डा शेखर कोइराला समूहले पार्टी कार्यालय सानेपामा धर्ना दिएका छन् ।

आगामी निर्वाचनमा समान अवसर र न्यायको माग राख्दै कांग्रेसका कोइराला समूहले बुधबार धर्ना दिएका हुन् । पार्टीले निर्वाचन आयोगमा बुझाएको समानुपातिक सूचीमा आफ्नो पक्षको थोरै मात्र नेताहरू परेको उनीहरूको आरोप छ । सो समूहले ४० प्रतिशत आफूले पाउनुपर्ने माग गर्दै आएको छ । यसै विषयमा पार्टीको ध्यानाकर्षण गराउँदा पनि उपेक्षा गरिएकाले बाध्य भएर धर्नामा बस्नुपरेको कांग्रेस नेता जगदिश्वर नरसिंह केसीले बताए ।


उनले पार्टीभित्र सबैलाई समान अवसर दिनुपर्ने आफूहरूको धारणा रहेको बताए । आफूहरूको माग सम्बोधन गर्ने सुनिश्चित भए आफूहरूले पार्टीभित्रको विद्रोहलाई कम गर्दै लैजाने उनको भनाइ छ ।

त्यस्तै कांग्रेसका अर्का नेता अजयबाबु शिवाकोटीले पार्टी नेतृत्वले गरेको निर्णय प्रक्रियामा आफूहरूको विरोध रहेको बताए । पार्टीको एउटा पक्षलाई बाहिर राख्ने काम देखिएकाले नेतृत्वलाई ध्यानाकर्षण गराउन दबाब सिर्जना गर्नुपरेको उनले उल्लेख गरे ।

उनीहरूले आफूहरूको विषय व्यक्तिका लागि मात्रै नभएर समग्र पार्टीको विषय भएकाले बिहीबारसम्म समानुपातिक सूची सच्चाउने विश्वास व्यक्त गरेका छन् । यता संस्थापन पक्षले भने सबैको सहमतिमा सर्वसम्मत रूपमा नै समानुपातिक सूची तयार गरेको जनाएको छ ।


Author

थप समाचार
x