दल

आरजु देउवा राणा समानुपातिक उम्मेदवार बनेपछि अब कैलाली–५ मा के हुन्छ ?

कमल विष्ट |
असोज ९, २०७९ आइतवार १८:३७ बजे

नेपाली कांग्रेसले आरजु देउवा राणालाई समानुपातिक उम्मेदवार बनाएपछि अब कैलाली–५ मा के हुन्छ भनेर अनेक अड्कलबाजी सुरु भएका छन् । प्रतिनिधिसभा सदस्यका लागि कैलाली–५ बाट प्रत्यक्ष चुनाव लड्ने मनसाय बनाएकी राणाको नाम समानुपातिकतर्फ सुदूरपश्चिम प्रदेशको खसआर्य महिलामा परेपछि अनेकन चर्चा–परिचर्चा सुरु भएको हो ।

प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणालाई यो क्षेत्रसहित देशका अरू पाँच स्थानबाट पनि सिफारिस भएकी थिइन् । धेरैतिरबाट सिफारिस भए पनि उनले कैलालीलाई आफ्नो चुनावी क्षेत्र बनाउने योजनामा थिइन् । त्यसका लागि उनी पाँच वर्षयता गृहकार्यमा समेत जुटेकी थिइन् । तर, अन्तिम समयमा आएर उनी प्रत्यक्षबाट उम्मेदवार बन्न पछि हटेकी छन् । उनी हटेसँगै केही प्रश्नहरू बहसको सतहमा आएका छन् । 


पहिलो प्रश्न हो– उनी पछाडि किन हटिन् ? यसपालिको निर्वाचनमा पनि आफूलाई पुष्करनाथ ओझाले असहयोग गर्ने भएपछि राणा पछाडि हटेको अनुमान राजनीतिक वृत्तमा छ । यसलाई बुझ्न अलि पछाडि फर्कनुपर्छ । ओझा २०५६ मा प्रतिनिधिसभा सदस्य हुँदै राज्यमन्त्रीसमेत भएका थिए । उनी सुदूरपश्चिममा लोकप्रिय नेता मानिन्छन् ।

२०७० सालको निर्वाचनमा कांग्रेस सभापति शेरबहादुर देउवा साविकको कैलाली–६ र डडेल्धुरा दुवै ठाउँबाट निर्वाचित भए । नियमअनुसार दुवै ठाउँबाट सांसद बन्न नमिल्ने भएपछि उनले कैलाली–६ छाडे, डडेल्धुरा रोजे । देउवाले कैलाली छाडेपछि रिक्त रहेको ठाउँको परिपूर्तिका लागि उपनिर्वाचन भयो । कांग्रेसको आधार क्षेत्रसमेत मानिने यस क्षेत्र फेरि कांग्रेसले नै जित्यो ।

मुलुक संघीयतामा गएपछिको पहिलो निर्वाचन (२०७४) मा पनि ओझा उम्मेदवार बन्न चाहन्थे । तर, पार्टीले उनलाई टिकट दिएन । कांग्रेसले सभापति देउवाकी श्रीमती राणालाई टिकट दिएपछि ओझा रुष्ट बन्न पुगे । आफूलाई टिकट नदिएकै कारण उनले कांग्रेसलाई निर्वाचनमा असहयोग गरे । जसका कारण कांग्रेस, नेकपा एमाले र माओवादीको संयुक्त गठबन्धनसँग हार्न पुग्यो । उनी एमालेका नारदमुनि राणासँग पराजित भइन् । नारदमुनिले २७ हजार २०२ मत प्राप्त गर्दा राणाले २२ हजार ३२२ मत पाएकी थिइन् । त्यसपछि पार्टी हार्नुको मुख्य दोषी ओझा रहेको ठहर गरी कांग्रेसले उनलाई साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निकाल्यो ।

राणा ब्याक हुनुको कारणपछि अब चर्चा गरौँ ओझा पार्टीमा फर्किएलान् कि नफर्किएलान् भन्ने विषयबारे । यो प्रश्न हामीले उनैलाई सोध्यौँ । ओझाले दसैंअगाडि आफू ‘राजनीतिक कुरा’ गर्ने मनसायमा नभएको बताए । ‘म अहिले महायज्ञको तयारीमा जुटिरहेको छु । धनगढीमा हुन गइरहेको यस गायत्री महायज्ञका विषयमा केही प्रश्न छन् भने सोध्नुस्,’ उनले इकागजसँग भने, ‘म दसैंअगाडि राजनीतिक कुरा गर्ने मनसायमा छैन ।’

राजनीतिको ‘र’ पनि उच्चारण गर्न तयार नभएका उनीलाई हामीले सोध्यौँ– तपाईं चुनाव लड्नुहुन्छ कि नाइँ, यति मात्र बताइदिनुस् न ?

‘म कैलाली–५ मा चुनाव लड्छु । मेरो प्राथमिकता कांग्रेसको टिकट हो । नदिए पनि चुनाव लड्छु,’ उनले भने ।

उनले धेरै बोल्न नचाहे पनि उनी कांग्रेसबाटै चुनाव लड्न इच्छुक देखिएको कुरा चाहिँ प्रष्ट बुझ्न सकिन्छ । कांग्रेसले नदिएको खण्डमा उनी कुनै पार्टी वा स्वतन्त्रबाट लड्ने देखिन्छ । 

ओझा पार्टीले आफूमाथिको कारबाही खारेज गरोस् र टिकट देओस् भन्ने चाहिरहेका छन् । तर, उनले यसका लागि धेरै प्रयास भने गरेका छैनन् । कांग्रेसका एक नेताका अनुसार पार्टीले उनीसँग थुप्रैपल्ट पार्टीमा फर्किन प्रयास गरेको छ । ‘तर, उनी पार्टीमा फर्किने कुरामा सकारात्मक देखिएनन् । न त उनले अहिलेसम्म आफूमाथिको कारबाही फुकुवा गरोस् भनेर पार्टीमा निवेदन वा अनुरोध नै गरेका छन्,’ ती नेताले भने । 

कांग्रेस पनि उनलाई फर्काउन अब थप प्रयास नगर्ने निष्कर्षमा पुगेको छ । बरू, अन्य उम्मेदवारलाई सिफारिस गर्ने पक्षमा देखिएको छ । सुनिलकुमार भण्डारी, डिल्लीराज पन्त, प्रकाश देउवा, नृप वडलगायत थुप्रै नेताहरूले यहाँबाट उठ्ने आकांक्षा देखाएका छन् ।

तर, कैलाली जिल्ला सचिव केशव मिश्रले भने यस विषयमा निर्णय नभइसकेको बताए । ‘आरजुजीको नाम समानुपातिकमा सिफारिस भएपछि यहाँबाट धेरैले उठ्ने आकांक्षा देखाएका छन् । तर, यस क्षेत्रबाट कसलाई सिफारिस गर्ने भनी औपचारिक रूपमा छलफल भएको छैन,’ मिश्रले भने ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x