दल

कैलाली–३ मा राप्रपाको साथ पाए पनि पूर्वमाओवादी गौरिशंकर चौधरीलाई एमालेबाट जित्न कठिन

कमल विष्ट |
असोज ७, २०७९ शुक्रबार १८:३२ बजे

२३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्युँत्याइदियो । ब्युँतिएपछि माओवादीका ६ नेताहरू आफ्नो पार्टीमा फर्किएनन् । एमालेमै बसे । तीमध्ये एक थिए, गौरिशंकर चौधरी । चौधरीसहित ६ जना एमालेमै बसे पनि उनीहरूलाई एमालेले चुनावमा टिकट नदिने मात्र होइन, पार्टीले उनीहरूलाई अन्य नेतासरह व्यवहार नगर्नेसमेत चर्चा चलेको थियो । 

तर, त्यो गलत सावित भयो । धेरैको अनुमानविपरीत एमालेले ६ मध्ये चारलाई प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ र दुईलाई समानुपातिकतर्फ सिफारिस गरेको छ । त्यो पनि सर्वसम्मत रूपमा । यसै अनुरूप चौधरी एमालेबाट कैलाली–३ मा प्रत्यक्षतर्फ सिफारिस भएका छन् । क्षेत्रीय समन्वय समितिबाट सर्वसम्मत सिफारिस उनलाई केन्द्रले पनि सदर गर्ने पक्काजस्तै छ । 


उनी २०७४ को निर्वाचनमा पनि यसै क्षेत्रबाट निर्वाचित भएका थिए । माओवादीबाट चुनाव लडेका चौधरीले नेपाली कांग्रेसका रामजनम चौधरीलाई पराजित गरेका थिए । उनले २४ हजार ८७९ मत ल्याउँदा रामजनमले २० हजार ४९४ मत प्राप्त ल्याएका थिए । 

तर, त्यतिबेला माओवादीबाट निर्वाचित चौधरीलाई यसपालि एमालेबाट जित्न भने सहज देखिँदैन । यसको पहिलो र महत्वपूर्ण कारण हो, गत वैशाखको स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनविरुद्ध एमालेले पाएको मत । 

यस्तो छ स्थानीय चुनावको मतपरिणाम 

कैलाली–३ मा जिल्लाका १३ मध्ये तीन पालिका पर्छन्– भजनी नगरपालिका, घोडाघोडी नगरपालिका र कैलारी गाउँपालिका । यी कुनै पनि तहमा एमालेले प्रमुख र उपप्रमुख जित्न सकेन । कैलारी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवैमा कांग्रेस विजयी भएको छ भने भजनी नगरपालिकाको प्रमुख र उपप्रमुख दुवैमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । त्यस्तै, अर्को नगरपालिका घोडाघोडीको प्रमुख नेकपा (एकीकृत समाजवादी)ले जितेको छ भने उपप्रमुख कांग्रेसले जितेको छ । 

वडामा पनि एमाले गठबन्धनभन्दा धेरै पछाडि छ । भजनी नगरपालिकाका १, २, ३, ४, ५, ६ ७, ८, घोडाघोडी नगरपालिकाका १२ र कैलारी गाउँपालिकाका १, २, ३, ४, ५, ७, ८ गरी कूल २७ वडा कैलाली–३ मा छन् । कूल २७ वडामध्ये कांग्रेसले १७, माओवादीले ४, उन्मुक्तिले २ र जनता समाजवाद पार्टी (जसपा)ले १ जितेका छन् । एमाले ३ वडामा मात्र विजयी भएको छ । 

त्यसैगरी, एमाले वडागत मतमा पनि गठबन्धनभन्दा पछाडि नै छ । २७ वडामा गठबन्धनले ३६ हजार ७७९ मत पाएको थियो भने एमालेले ११ हजार ६५३ मत पाएको थियो ।

राप्रपाको साथ पाउँदा पनि एमालेलाई सहज छैन

त्यसो त आसन्न निर्वाचनमा यो क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र एमालेबीच तालमेल हुने चर्चा छ । एमालेका एक नेताका अनुसार तालमेलका लागि छलफल पनि भइरहेको छ । दुईबीच सहकार्य भएको खण्डमा एमालेको जित निश्चित भएको उनले बताए । ‘देशैभर गठबन्धन होइन । स्थानीय आवश्यकतालाई हेरेर हामी केही ठाउँमा राप्रपासँग गठबन्धन गर्न सक्छौँ । यस क्षेत्रमा पनि तालमेलका लागि प्रयास भइरहेको छ,’ ती नेताले इकागजसँग भने । 

तर, राप्रपासँग चुनावी तालमेल भए पनि एमालेलाई जित निकाल्न सहज देखिँदैन । एमाले र राप्रपाले पाएको वडागत मत गठबन्धनसँग तुलना गर्दा कमजोर छ । राप्रपाले यहाँ ६ हजार ७०० मत प्राप्त गरेको छ । एमाले र राप्रपाको मत जोड्दा १८ हजार ३५३ मत हुन्छ । जुन गठबन्धनको भन्दा १८ हजार ४२६ ले कम हो । 

एमालेलाई यहाँ जितमा बाधा पुर्‍याउने एउटा अर्को कारण हो, एमाले विभाजन । एमाले विभाजित मात्र छैन, विभाजनपछि बनेको पार्टी समाजवादी गठबन्धनमा पनि सम्मिलित छ । यसले एमालेलाई दोहोरो मारमा पारेको छ । 

तर, एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठक भने पार्टी विभाजनले एमालेलाई असर नपरेको जिकिर गर्छन् । ‘स्थानीय तहको चुनावमा एकीकृत समाजवादीले यस प्रदेशमा ल्याएको भोटले उसमाथि धेरैको आशा थियो । तर, समाजवादी माओवादीमा मिसिने चर्चा चलेपछि कैलाली, कञ्चनपुरसहित विभिन्न ठाउँमा शीर्ष नेतादेखि कार्यकर्ताहरू एमालेमा फर्किरहेका छन् । माओवादीमा जानुभन्दा एमालेमै फर्किनुपर्छ भन्ने उनीहरूलाई भएको छ । घर फर्किनेको संख्या दिनप्रतिदिन बढिरहेको छ,’ प्रदेश प्रमुख पाठकले भने । 

फर्किनेको संख्या टिकटको घोषणा भइसकेपछि अझ बढ्ने पाठकको दाबी छ । केही नेताहरू गठबन्धनबाट प्रत्यक्ष र समानुपातिकतर्फको टिकटको आशामा उतै बसिरहेको उनले बताए । 

केन्द्रले चौधरीको सिफारिस सदर गरेमा यसपालि पनि जित्ने कुरामा ढुक्क रहेको पाठक बताउँछन् । ‘यो क्षेत्रमा थारूको बाहुल्य छ । थारू समुदायले उहाँलाई नै भोट दिनुहुन्छ,’ उनले थपे, ‘स्थानीय चुनावताका हामी केही ठाउँमा कमजोर देखिए पनि संघीय चुनावमा त्यस्तो हुँदैन । अहिले हाम्रो संगठन अझ बलियो भएको छ ।’

प्रदेशमै पहिलो बन्ने उन्मुक्ति पार्टीको दाबी

वैशाख ३० गतेको निर्वाचनमा कैलालीका चार स्थानीय तहको प्रमुख र तीन उपप्रमुखमा विजयी भएर उन्मुक्ति जिल्लाकै पहिलो दल बनेपछि यहाँ उसलाई पनि मुख्य दाबेदारका रूपमा हेरिएको छ । क्षेत्र नं ३ मा पर्ने भजनी नगरपालिकमा पार्टीको पकड राम्रो मात्र छैन, उसले यो पालिकाका प्रमुख र उपप्रमुख दुवैमा जित निकालेको छ । क्षेत्र नं ३ का २७ वडामध्ये उन्मुक्ति पार्टीले दुई वडा जितेको छ भने उसले ६ हजार ४७ मत पाएको छ । 

पार्टीले यस क्षेत्रबाट गंगा चौधरीलाई प्रत्यक्षतर्फ प्रतिनिधि सभाका लागि सिफारिस गरेको छ । उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव रतन थापा कैलालीसहित बाँके, बर्दिया, कञ्चनपुरमा आफ्नो पार्टी बलियो भएको बताउँछन् । क्षेत्र नम्बर १, २ र ३ मा उन्मुक्तिले जित्ने एक संस्थाले हालसालै गरेको अध्ययनले समेत देखाइसकेको थापाले बताए । ‘नागरिकहरू पुराना दल तथा नेताहरूबाट वाक्कदिक्क भइसकेका छन् । उनीहरू विकल्प खोजिरहेका छन् । र, विकल्पका रूपमा हामीलाई रोजेका छन्,’ थापाले भने । 

उन्मुक्ति पार्टी थारू पार्टीका रूपमा आए पनि अहिले यसमा सबै समुदाय अटाएको उनी बताउँछन् । भन्छन्, ‘हामीलाई अहिले पहाडी समुदायको पनि उत्तिकै साथ छ ।’ पार्टी सुदूरपश्चिम प्रदेशमा पहिलो वा दोस्रो बन्ने आफूहरूको आँकलन रहेको पनि उनले बताए ।

कांग्रेस र माओवादीको आआफ्नै अडान

यता, अर्को मुख्य दाबेदार गठबन्धनले यस क्षेत्रमा साझा उम्मेदवार टुंगो लगाउन सकेको छैन । माओवादी केन्द्र र कांग्रेस दुवैले यो क्षेत्र आफूले पाउनुपर्ने अडान छाडेका छैनन् । गत निर्वाचनमा आफूले जितेकाले माओवादी फेरि पनि यो क्षेत्र आफैँले पाउनुपर्ने दाबी गरिरहेको छ भने यता आफू बलियो भएकाले यो ठाउँ आफ्नो भागमा पर्नुपर्ने कांग्रेसको जिकिर रहेको छ । 

यही कारण दुवैले आआफ्ना उम्मेदवार अगाडि सारेका छन् । कांग्रेसले प्रतिनिधि सभाका लागि प्रत्यक्षतर्फ गोविन्दराज जोशी, भीम बडुवाल र प्रेम चौधरीलाई सिफारिस गरेको छ भने माओवादीले वीरमान चौधरी, विनिता चौधरी र कृष्णकुमार चौधरीलाई सिफारिस गरेको छ । 

कैलालीका कांग्रेस जिल्ला सचिव केशव मिश्रले यहाँ कांग्रेसको मुख्य दाबी रहेको बताए । गठबन्धनबाट कांग्रेसले टिकट पाएको खण्डमा जित निश्चित भएको मिश्रको भनाइ छ । ‘प्राविधिक कमजोरीका कारण कांग्रेस एक-दुईपल्ट हारे पनि यहाँ हाम्रो पकड छ । अहिले कांग्रेस ट्रयाकमा आइसकेको छ,’ उनले भने ।
 


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x