दल

माओवादीबाट जितेका लेखराज भट्टलाई एमालेबाट जित्न कति कठिन ?

कमल विष्ट |
असोज ३, २०७९ सोमबार १९:९ बजे

२३ फागुन २०७७ मा सर्वोच्च अदालतको फैसलाले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएपछि ६ माओवादी नेता एमालेमै बसे । आफैँले मलजल गरेर हुर्काएको पार्टी माओवादी छाडेर एमालेतिर जानेमा रामबहादुर थापा बादल, टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह, मणि थापा र गौरीशंकर चौधरी थिए । माओवादीभित्र प्रभावशाली मानिने ६ जनाले एमाले रोजे पनि भविष्यमा उनीहरूलाई एमालेले राम्रोसँग ‘ट्रिट’ गर्दैन भन्ने चर्चा राजनीतिक वृत्तमा चलेको थियो । धेरैले त उनीहरूलाई एमालेले चुनावमा टिकटसमेत दिँदैन भन्ने आँकलन गरेका थिए ।

तर, अहिले त्यो अनुमान गलत सावित भएको छ । बरु अध्यक्ष ओलीको संसद् विघटन र कार्यशैलीको विरोध गर्ने एमालेकै ‘दश भाइ’मध्ये धेरै प्रतिनिधिसभा सदस्यका लागि सर्वसम्मत सिफारिसमा परेनन् । तर, आफ्नो पार्टी त्याग गरेर एमालेमै बसेका यी नेताहरूलाई भने एमालेले विभिन्न ठाउँबाट सर्वसम्मत रूपमा अगाडि सारेको छ । एमालेले बादल र मणि थापालाई समानुपातिक र बाँकी चारलाई प्रत्यक्षतर्फ प्रतिनिधिसभाका लागि एकल रूपमा सिफारिस गरेको छ । तीमध्येका एक लेखराज भट्ट कैलाली– ४ बाट सिफारिस भएका छन् ।


यस आलेखमा आज हामी कैलाली–४ मा भट्टलाई जित्न कति गाह्रो र कति सहज छ भन्ने विषयमा चर्चा गर्नेछौँ । पार्टीको क्षेत्रीय कमिटीले सर्वसम्मत सिफारिस गरे पनि माथिल्लो तहले उनलाई गर्न बाँकी नै छ । तर, एमालेका एक नेताका अनुसार भट्टले यस क्षेत्रबाट टिकट पाउने पक्का भइसकेको छ । 

यस्तो छ गत निर्वाचनको अंकगणित 

पार्टीको केन्द्रीय सचिव तथा सुदूरपश्चिम प्रदेश इन्चार्ज भट्टले यसै क्षेत्रबाट पछिल्ला तीन आम निर्वाचन माओवादी केन्द्रबाट चुनाव लडेका छन् । तीमध्ये उनले २०७० सालको संविधान सभाको निर्वाचनबाहेक दुवैमा विजय हासिल गरेका थिए । २०७४ को निर्वाचन उनले नेपाली कांग्रेसका सुनिलकुमार भण्डारीलाई पराजित गरेका थिए । भट्टले ३१ हजार ३ सय ५९ मत ल्याउँदा भण्डारीले २० हजार ९ सय ६० मत प्राप्त गरेका थिए । 

२०६४ संविधान र २०७४ प्रतिनिधिसभा निर्वाचन जितेका भट्टलाई यसपालि जितको ह्याट्रिक गर्न त्यति सहज देखिँदैन । यसका मूलतः दुई कारण छन् । पहिलो र सबैभन्दा मुख्य कारण गठबन्धन नै हो । उनले पाँच दलीय सत्तागठबन्धनसँग एक्लै भिड्नुपर्ने छ । गत वैशाखको स्थानीय निर्वाचनमा गठबन्धन र एमालेको वडागत मत हेर्दा एमाले धेरै पछाडि देखिन्छ । यसलाई विस्तृत रूपमा हेरौँ । 

जिल्लाका १३ पालिका मध्ये चार पालिका क्षेत्र नं–४ मा पर्छन् । मोहन्याल गाउँपालिकाको वडा नम्बर ५, चुरे गाउँपालिका, गौरीगंगा नगरपालिका र गोदावरी नगरपालिका यस क्षेत्रमा पर्छन् । कुल ३० वडाबाट गठबन्धनले ३७ हजार ३४१ मत प्राप्त गरेको छ भने एमालेले २० हजार ८१ ल्याएको छ । एमालेभन्दा गठबन्धन १७ हजार बढी मतले अगाडि छ ।

भट्टको जितलाई कमजोर पार्ने अर्को कारण एमालेको अन्तर्विरोध मानिएको छ । भट्ट माओवादीबाट आएकाले उनलाई एमालेको एउटा पंक्तिले सहयोग नगर्ने संशय छ । 

माओवादीबाट आएको भनेर विभेद हुँदैन– एमाले प्रदेश सचिव

तर, एमालेका सुदूरपश्चिम प्रदेश सचिव धर्मराज पाठक गठबन्धनले जसलाई उठाए पनि भट्टको जित निश्चित भएको बताउँछन् । स्थानीय तहमा गठबन्धन अगाडि भए पनि संघीय चुनावमा एमाले नै प्रमुख दल बन्ने पाठकको दाबी छ । उनले गठबन्धनलाई परास्त गर्ने चार आधार प्रस्तुत गरे । 

‘पहिलो कारण, गठबन्धनका संविधान, सुशासन र विकास विरोधी कामले नागरिकहरूमा व्यापक असन्तुष्टि छ । गठबन्धनका कर्तुतहरू एकपछि अर्को गर्दै बाहिर आइरहेका छन् । चोलेन्द्रको बयानदेखि सीसीटीभी काण्ड यसका ज्वलन्त उदाहरण हुन् । यसपालि जनताले गठबन्धनलाई भोट दिनेवाला छैनन्,’ प्रदेश सचिव पाठकले इकागजलाई भने । 

उनले थपे, ‘दोस्रो, यस क्षेत्रमा एमालेको आफ्नै संगठन बलियो छ । एमाले एक्लै हुँदा पनि स्थानीय चुनावमा त्यहाँका चार पालिकामध्ये एक–एक पालिकामा प्रमुख र उपप्रमुख जित्यो । जित्न नसकेका पालिकामा पनि हामी मतका आधारमा अगाडि नै छौँ । कैलालीका पाँच क्षेत्रमध्ये २, ४ र ५ मा हाम्रो जित निश्चित छ । १ र ३ मा भने हाम्रो कडा प्रतिस्पर्धा हुन्छ ।’

कैलालीमा मात्र नभएर पूरै प्रदेशमा एमाले नै अगाडि रहेको उनले बताए । 

उनले प्रस्तुत गरेको तेस्रो आधार हो, एमालेको काम । एमालेले साढे तीन वर्ष सरकार चलाउँदा शान्ति स्थापना, सुशासन स्थापनासहित धेरैभन्दा धेरै विकासका काम गरेको उनको भनाइ छ । एमालेको विकास र जनप्रेमी कामबाट नागरिकहरू प्रभावित भएको उनी बताउँछन् । ‘अहिले देशैभर हाम्रो पार्टीको जनलहर छ । माओवादीबाट एमाले प्रवेश गर्नेहरूको लहर छ, तर एमालेबाट अन्य पार्टीमा कोही गएका छैनन् । हाम्रो संगठन दिनप्रतिदिन बलियो हुँदै गइरहेको छ,’ उनले प्रष्टाए ।

अन्तिम आधार स्वयं उम्मेदवार नै भएको उनी बताउँछन् । भट्ट राष्ट्रिय स्तरको नेतामात्र नभएर नागरिकका समस्या तथा मुद्दा पहिचान गरी तिनलाई समाधान गर्न सक्ने व्यक्ति भएको उनले जिकिर गरे । उनी भन्छन्, ‘नागरिकले उहाँलाई अत्याधिक मत दिएर विजय गराउनुहुनेछ ।’

एमालेको एउटा पंक्तिले भट्टलाई सहयोग गर्दैन भन्ने कुरा भ्रमपूर्ण र निराधार रहेको पाठक बताउँछन् । त्यस्तै, उनले कैलालीमा नागरिक उन्मुक्ति पार्टीको पकड बलियो रहेको कुरा पनि पूर्ण रुपमा सत्य नभएको जिकिर गरे । ‘स्थानीय तहमा उन्मुक्ति पार्टीले चार पालिका जिते पनि मतका हिसाबले एकदमै कमजोर छ,’ उनले दाबी गरे । 

प्रदेशमै पहिलो बन्ने उन्मुक्ति पार्टीको दाबी

तर, उन्मुक्ति पार्टीका केन्द्रीय महासचिव रतन थापा कैलालीसहित बाँके, बर्दिया, कञ्चनपुरमा आफ्नै पार्टी हाबी भएको बताउँछन् । क्षेत्र नम्बर १, २ र ३ मा उन्मुक्तिले जित्ने एक संस्थाले हालसालै गरेको अध्ययनले समेत देखाइसकेको थापाले बताए । ‘नागरिकहरू पहिला पुराना दल तथा नेताहरूबाट वाक्कदिक्क भइसकेका छन् । उनीहरू विकल्प खोजिरहेका छन् । र, विकल्पका रूपमा हामीलाई रोजेका छन्’ थापाले भने । 

उन्मुक्ति पार्टी थारु पार्टीका रूपमा आए पनि अहिले यसमा सबै समुदाय अटाएको उनी बताउँछन् । भन्छन्, ‘हामीलाई अहिले पहाडी समुदायको पनि उत्तिकै साथ छ ।’ पार्टी सुदूरपश्चिम प्रदेशमा पहिलो वा दोस्रो बन्ने आफूहरूको आँकलन रहेको पनि उनले बताए । 
उन्मुक्ति पार्टीले यस क्षेत्रबाट उम्मेदवार टुंगो लगाउन भने बाँकी नै छ । 

यता, पाँच दलीय सत्ता गठबन्धनमा यहाँ कसलाई साझा उम्मेदवारका रूपमा अगाडि सार्ने भन्नेमा पनि सहमति जुट्न सकेको छैन । गठबन्धनमा सम्मिलित दलहरूले आ–आफ्नै उम्मेदवार सिफारिस गरेका छन् । 

कांग्रेसले नैनसिंह महर, सुनिलकुमार भण्डारी, प्रकाश बम, भोजराज भट्ट, प्रदीपराज जोशी र डा. लक्ष्मीराज पाठकलाई सिफारिस गरेको छ भने नेकपा एकीकृत समाजवादीले जिल्ला इन्चार्ज दीर्घ सोडारीलाई सर्वसम्मत सिफारिस गरेको छ ।

गठबन्धनको अर्को घटक माओवादी केन्द्रले यस क्षेत्रबाट प्रतिनिधिसभा सदस्यका लागि कृष्णकुमार चौधरी, लक्षीराम आचार्य र पुष्पराज भुसालको नाम माथिल्लो कमिटीलाई सिफारिस गरेको छ । 

गठबन्धनका दलको आआफ्नै अडान

सत्ता घटक कांग्रेस, माओवादी र एकीकृत समाजवादीले यो क्षेत्र आफूले पाउनुपर्ने दाबी गर्दै आइरहेका छन् । यद्यपि, गठबन्धनबाट कांग्रेस वा माओवादीमध्ये एकले पाउने चर्चा छ । माओवादीका कैलाली जिल्ला इन्चार्ज लालबहादुर सोडारी सबैको दाबी रहे पनि यहाँ माओवादीले पाउनुपर्ने थुप्रै कारणहरू भएको बताउँछन् । माओवादीले पाएको खण्डमा जित सुनिश्चित रहेको उनको दाबी छ । ‘कैलालीमा माओवादीको बलियो पकड छ । गत निर्वाचनमा पनि हामीले पाँचमध्ये ३ र ४ जितेका छौँ । त्यसैले पनि यी क्षेत्रमा हाम्रो मुख्य दाबी छ,’ सोडारीले बताए । 

भट्ट एमाले प्रवेश गरेको कुराले माओवादीलाई थोरै पनि असर नपर्ने उनले बताए । आफ्नै संगठन र गठबन्धन माओवादीको जितको मुख्य आधार रहेको सोडारीले बताए । एमालेलाई गठबन्धनले सहजै हराउने उनको जिकिर छ ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x