दल

ओलीले आफूलाई टिकट देलान् भन्नेमा किन ढुक्क छैनन् भीम रावल ?

कमल विष्ट |
भदौ २६, २०७९ आइतवार १७:१९ बजे

काठमाडौं- नेकपा एमाले अछामको क्षेत्रीय समितिले भदौ १९ गते अछाम १ बाट प्रतिनिधि सभा निर्वाचनका लागि आफूलाई सर्वसम्मतिले सिफारिस गरेपछि भीम रावलले खुसी व्यक्त गरेका थिए । 

नाम सिफारिसमा सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए– 'यस निर्णयलाई मैले पाँच दशक लामो राजनीति जीवनमा राष्ट्रिय स्वाधीनता, स्वतन्त्रता, स्वाभिमान लोकतन्त्र, विधिको शासन, कम्युनिस्ट पार्टीको निर्माण र विस्तार तथा जनताको हक–हित एवम् विकास–निर्माणका लागि खेलेको भूमिकाको पक्षमा बलियो समर्थनको रूपमा लिएको छु ।' 


तर, आफूले चाहेकै क्षेत्रबाट पार्टीले सर्वसम्मत सिफारिस गर्दा पनि उनी ढुक्क हुन भने सकेका छैनन् । आइतबारइकागजले रावलसँग तपाईं सर्वसम्मत सिफारिस भइसक्नुभएको छ, के छन् तपाईंका चुनावी अजेन्डा भनेर सोध्दा जिल्लाको सिफारिसलाई केन्द्रले सदर गर्छ भन्नेमा उनी निश्चिन्त देखिएनन् ।

आफूबारे केन्द्रको दृष्टिकोण के छ भन्नेमा बेखबर रहेको उनले बताए । केन्द्रले सदर गर्न नसक्दासम्म आफूले केही भन्न नसक्ने भावको अभिव्यक्ति उनले दिए । ‘मलाई जिल्लाले सिफारिस गर्यो । अब केन्द्रले के गर्छ, कसो गर्छ त्यो हेर्न बाँकी छ । मेराबारे केन्द्रले निर्णय गरिसकेको छैन । त्यसैले, म अहिले नै केही भन्न सकिँदैन,’ रावलले भने, ‘मसँग उहाँहरूको छलफल नै भएको छैन । म बेखबर छु ।’

आफू केन्द्रमा नभएकाले पनि केही थाहा नभएको उनले बताए । आफूले नजिकबाट हेरिरहेको मात्र उनको भनाइ छ । 

अध्यक्ष केपी शर्मा ओलीले संसद् विघटनका बेला र पार्टीभित्र आफ्नो कार्यशैलीको विरोध गर्ने नेताहरूलाई पेल्ने नीति लिएको भन्ने चर्चा छ । बेलाबेला ओलीको विरोधमा उत्रिने केही नेताहरू एकल सिफारिसमा परेका छैनन् । पार्टीका उपाध्यक्षसमेत सुरेन्द्र पाण्डे चितवन १ बाट सर्वसम्मत सिफारिस हुन सकेनन् । त्यस्तै, रुपन्देही ३ बाट लड्न चाहेका स्थायी सदस्य घनश्याम भुसाल र ताप्लेजुङबाट एमाले सचिव योगेश भट्टराई पनि सर्वसम्मत रूपमा सिफारिस भएनन् । 

तपाईंले त झन् दशौँ महाधिवेशनमा अध्यक्षका लागि ओलीसँग प्रतिस्पर्धा नै गर्नुभयो, यसैकारण टिकट पाउनेमा विश्वस्त हुन नसक्नुभएको हो कि ? हाम्रो प्रश्नमा रावलले अध्यक्षसँग प्रतिस्पर्धा गरेकै कारण कसैलाई पाखा लगाउन खोज्नु पार्टीको मूल्यमान्यता तथा आदर्शविपरीत हुने बताए । 

‘म छैटौँ महाधिवेशनदेखि प्रतिस्पर्धा गरेर, प्रतिनिधिहरूको भोट पाएर केन्द्रीय कमिटी हुँदै उपसचिव भएको हुँ । प्रतिस्पर्धा गरेकै कुरालाई कसैले मनमा लिएर नकारात्मक निर्णय गर्छ भने त्यो पार्टीको विधि, पद्धति, प्रणाली र अभ्यास विपरीत हुन्छ,’ रावलले भने । 

उनले आफ्नो भूमिकालाई अछामीहरूले बुझिसकेको र पार्टी पनि बुझ्नेमा विश्वास व्यक्त गरे । 

रावल २०७४ सालको निर्वाचनमा पनि अछाम १ बाटै निर्वाचित भएका थिए । 

रावलले अछाम १ बाट नेपाली कांग्रेसका भरतकुमार स्वारलाई पराजित गरेका थिए । उनले २४ हजार ८९३ मत पाएका थिए ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x