दल

‘फेरि सांसद बन्‍न नैतिकताले दिएन, त्यसैले संसदीय राजनीतिबाट बिदा लिएँ’

कमल विष्ट |
भदौ २६, २०७९ आइतबार १४:३३ बजे

काठमाडौं– आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन आउन ६९ दिनमात्र बाँकी छ । सबै दलहरू चुनाव केन्द्रित भइसकेका छन् । पार्टीभित्र टिकट लिन नेताहरूको दाउपेच चलिरहेको छ । पार्टीले सिफारिस गरेको सूचीमा नाम नपरेका नेताहरूको असन्तुष्टि छताछुल्ल पोखिइरहेको छ । 

पटकपटक सांसद हुन नेताहरूको हानथाप चलिरहेका बेला नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने संसदीय राजनीतिबाट बिदा लिएको घोषणा गरेकी छन् । आफूले थुप्रै पल्ट सांसद तथा मन्त्री बन्ने अवसर पाइसकेकाले संसदीय राजनीतिबाट बिदा लिएको उनी बताउँछिन् । फेरि पनि चुनाव लड्नु भनेको पार्टीका लागि वर्षौँदेखि योगदान र त्याग गरेको पंक्तिप्रति अन्याय गर्नु भएको उनको ठहर छ ।


‘मैले प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रियसभा तीनै ठाउँमा पुग्ने मौका पाइसकेँ । म संघीय सरकारको मन्त्रीदेखि प्रदेश सरकारको मुख्यमन्त्री पनि भइसकेँ । त्यो पनि धेरै पल्ट । मैले यथेष्ट अवसर पाइसकेँ,’ इकागजसँग शाक्यले भनिन्, ‘मैले अब थप मन्त्री बन्ने अपेक्षा राख्नु भनेको पार्टीका लागि लामो समय त्याग र दुःख गरेका नेताहरूप्रति अन्याय गर्नु हो ।’

नेपालका अधिकांश पार्टीमा पार्टीका लागि साँच्चिकै त्याग र समर्पण गरेका नेताहरूले स्थान नपाएको उनको मूल्यांकन छ । संसदीय राजनीतिमा वास्तवमै योगदान भएकाभन्दा नेतृत्वको चाकडी र पछिपछि लागेका व्यक्तिहरूले अवसर पाएको उनी बताउँछिन् । यो प्रवृत्ति गलत भएको उनको भनाइ छ । 

‘संसदीय राजनीतिका कारण इमान्दार र नौतिकवान मान्छेहरू पछाडि परे । शीर्ष तहका नेताहरूको पछाडि लाग्नेहरूले मात्र पटकपटक मौका पाए । यो राजनीतिक विकृति हो’ उनले भनिन् ।

संसदीय राजनीति कारण सिर्जत यो विकृतिलाई चिर्न आवश्यक रहेको उनको बुझाइ । एउटा व्यक्तिलाई पार्टीले दुई वा बढीमा तीनपटक मात्र अवसर दिनुपर्ने उनी बताउँछिन् । उनको प्रश्न छ– एउटै मान्छेले कति पटक अवसर पाउने ? 

उनले २०७२ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री प्रस्ताव राख्दा आफूले इन्कार गरेको सम्झिइन् । उनले आफ्नो सट्टा शान्ता मानवीलाई मन्त्री बनाउन अनुरोध गरेको बताइन् । ‘मैले अध्यक्ष ओलीजीलाई मेरो साटो उहाँलाई मन्त्री बनाउनुस् । म बाहिर बसेर सहयोग गर्न तयार छु भनेपछि मानवीजी मन्त्री हुनभयो’ उनले स्मरण गरिन् । 

अवसर पाइसकेका नेताहरूले नयाँलाई आउन दिन सहयोग गर्नुपर्ने उनको भनाइ छ । 

संसदीय राजनीतिबाट बिदा लिए पनि सिंगो राजनीतिबाट नटाढिने उनको योजना छ । पार्टीले आफूलाई दिएको जिम्मेवारी पूरा गर्न सधैँ लाग्ने उनले बताइन् । 

उनको राजनीतिक यात्रा 

विसं २०१० मा काठमाडौंको एक सम्पन्न परिवारमा जन्मिएकी शाक्य नेपालको पहिलो महिला मुख्यमन्त्री हुन् । उनी २०७८ सालमा तीन महिनाका लागि बागमती प्रदेशको मुख्यमन्त्री बनेकी थिइन् । 

२०२६ सालमा एसएलसी दिएपछि उनले राजनीतिक जीवन सुरु गरेकी थिइन् । २०३६ सालमा घरबाट विवाहको भोज खान जाने भन्दै उनी भूमिगत राजनीतिमा सक्रिय बनेकी थिइन् । उनी २०४५ सालमा इलामबाट पक्राउ परिन् । 

२०४६ सालमा बहुदलसहितको प्रजातन्त्र पुनःस्थापना भएपछि बनेको राष्ट्रियसभामा उनी दुई वर्षका लागि सदस्यसमेत भइन् । त्यसपछि उनी थुप्रैपल्ट संविधान तथा प्रतिनिधिसभा सांसद बनिन् । नेपाली राजनीतिमा ठूलो योगदान दिएकी उनी दुईपटक मन्त्री पनि भइन् । 

उनी एमालेकी हालकी उपाध्यक्ष पनि हुन् ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x