दल

प्रचण्ड भन्छन्- पार्टी बिग्रियो, हामी  हिजोको जस्तो क्रान्तिकारी छैनौँ

'सामूहिक भावनाद्वारा अघि बढ्नेभन्दा स्वार्थ समूह बनाउनेतिर जान थाल्यौँ'

इकागज |
भदौ २, २०७९ बिहीबार १०:१२ बजे

फाइल तस्बिर

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पछिल्लो समय पार्टीमा विचलन देखापरेको टिप्पणी गरेका छन् । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा आयोजित  रामवृक्ष यादवको २८औं स्मृति दिवसलाई सम्बोधन गर्दै उनले पार्टीमा पछिल्लो समय क्रान्तिकारी नरहेको दाबी गरे । 

उनले पार्टी पहिलाको जस्तो नरहेको भन्दै केही बिग्रिएको बताए। व्यक्तिवादी, आत्मकेन्द्रित र स्वार्थीपन पार्टीमा देखिएको उनको भनाइ छ। अध्यक्ष दाहालले क्रान्ति, परिवर्तन, समाज, राष्ट्रको निम्ति प्रतिस्पर्धा गर्नेतिर नभइ आफ्नै निम्ती कसरी गर्ने भन्नेतिर बढी केन्द्रित हुने गरेको उनले बताए ।  सामूहिक भावनाद्वारा अघि बढ्नेभन्दा स्वार्थ समूह बनाउनेतिर पार्टी अघि बढेको प्रचण्डले गुनासो गरे । 


उनले पार्टीका नेताहरूको मुखमा क्रान्तिकारी रहे पनि व्यवहार, आचरण, दैनिकीमा नरहेको दाबी गरे । 

‘हाम्रो पार्टी अहिले पहिलाको जस्तो छैन । धेरै नै बिग्रेको छ । हामी हिजोको जस्तो क्रान्तिकारी छैनौँ । व्यक्तिवादी भएका छौँ, आत्मकेन्द्रित भएका छौँ । स्वार्थी भएका छौँ । हामीले क्रान्ति, परिवर्तन, समाजको निम्ती प्रतिस्पर्धा गरेर त्याग गर्नेतिर होइन, आफ्नै निम्ति कसरी गर्ने भन्नेतिर उद्धत हुन थालेका छौँ,' उनले भने, 'हामी सामूहिक भावनाद्वारा अघि बढ्ने भन्दा स्वार्थ समूह बनाउनेतिर जान थालेका छौँ । यसले पार्टीको वर्गचरित्र वा क्रान्तिकारी गतिमा नराम्रोसँग असर परेको छ । हामी विचार, कुरा, र मुखमा त अहिले पनि क्रान्तिकारी नै छौँ तर हाम्रो व्यवहार, आचरण, दैनिकीसँग त्यो मिल्दैन । हाम्रा भनाइ र हाम्रा गराइ कति हो कति ठूलो अन्तर आइसकेको छ । यो अन्तरबिरोधलाई हल गर्ने आवश्यक्ता निकै ठूलो छ । यसलाई हल गर्न सकेनौँ भने हामीले क्रान्तिकारी हौँ र हुनुपर्छ भन्ने कुराको औचित्य समाप्त हुन्छ ।’

अध्यक्ष दाहालले अबका दिनमा पनि माओवादी पार्टी नै क्रान्तिकारी बन्ने सम्भावना भएको दाबी गरे । उनले सिद्धान्त र व्यवहारलाई एक ठाउँमा ल्याएर अघि बढ्नुपर्ने आवश्यक रहेको बताए। अध्यक्ष दाहालले पुरानै तरिकाले राष्ट्रको आवश्यकता पूरा नहुने भएकाले वामपन्थी आन्दोलनलाई एकीकृत र ध्रुवीकृत गरेर अगाडि बढ्नुपर्ने अहिलेको आवश्यक्ता भएको पनि बताए। 
 


Author

थप समाचार
x