दल

स्वास्थ्यकर्मीलाई जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन लोसपाको माग

इकागज |
असार १९, २०७९ आइतवार २२:४ बजे

फाइल फोटो

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले देशभरका स्वास्थ्यकर्मीलाई कोभिड–१९ महामारीका बेला घोषणा गरिएको जोखिम भत्ता अविलम्ब उपलब्ध गराउन माग गरेको छ ।

पार्टी अध्यक्ष महन्थ ठाकुरको अध्यक्षतामा बबरमहलस्थित केन्द्रीय कार्यालयमा दुई दिनसम्म चलेको बैठकले तमाम स्वास्थ्यकर्मीलाई लगातार लामो समय ‘डिउटी’ बस्न बाध्य रहेको अवस्थामा सरकारले तलबको ५० प्रतिशत बराबर जोखिम भत्ता दिने घोषणा गरे पनि हालसम्म सो रकमबाट देशभरका स्वास्थ्यकर्मीहरु वञ्चित रहेको जनाएको छ ।
    
बैठकले भैरहवा भीम अस्पताललगायतको लुम्बिनी प्रदेशका स्वास्थ्यकर्मीले गरिराखेको धर्ना र आन्दोलनप्रति समर्थन जनाउने निर्णय गरेको छ । त्यस्तै लोसपाले बाढी पहिरोको समुचित व्यवस्थापनका साथै महँगी नियन्त्रणका लागि आवश्यक कदम चाल्न र किसानलाई मलखाद अविलम्ब उपलब्ध गराउन जोडदार माग गरेको छ ।


बैठकले लोसपाको अन्तरिम विधान २०७८ संशोधनसहित पारित गरेको छ । हालै सरकारले जारी गरेको नियमावली राजपत्र समेतमा प्रकाशित गरी ल्याएको भू–उपयोग नीतिप्रति लोसपाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै उक्त नियमावली तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

 ‘भू–उपयोग नीति अव्यावहारिक र हाम्रो संस्कृतिमाथिको प्रहार हो यसबाट ग्रामीण तथा सहरी क्षेत्रमा बसोबास गर्ने गरिब किसानको सामाजिक, आर्थिक सांस्कृतिकरूपले अति नै प्रभाव पार्छ । बिहेबारी, पठनपाठन वर–व्यवसाय समेतमा यस नीतिले नकारात्मक प्रभाव पारेको छ’, लोसपाले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
रासस


Author

थप समाचार
x