दल

एमालेको सचिवालय, माओवादी र लोसपाको केन्द्रीय समिति बैठक बस्दै

इकागज |
असार १९, २०७९ आइतबार ९:२३ बजे

काठमाडौँ - नेकपा (माओवादी केन्द्र) केन्द्रीय कमिटी बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट सुरु हुनेछ । 

आजको बैठकमा चुनावी समीक्षा, आगामी चुनावको तयारी र रिक्त पार्टी पदाधिकारीको बारेमा छलफल हुने माओवादीले केन्द्रले जनाएको छ ।


गत पुस १९ गते बसेको केन्द्रीय समितिको पहिलो बैठकबाट पार्टी अध्यक्षका रूपमा पुष्पकमल दाहाललाई सर्वसम्मत चयन गरेको थियो । अध्यक्ष बाहेकका अन्य पद भने हालसम्म पूर्ति हुन सकेका छैनन् । 

यस्तै लोकतान्त्रिक समाजवादी पार्टी लोसपाको केन्द्रीय कार्यकारिणी बैठक बस्दैछ । बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माण लगायतका एजेण्डाहरूमा छलफल हुने छ । लोसपाको केन्द्रीय कार्यकारिणी बैठक शनिबार पनि बसेको थियो । 

शनिबारको बैठकमा संगठन निर्माण, गठबन्धन, कार्यकारिणी समिति विस्तार, भातृ संगठन निर्माणका विषयहरूमाथि नै छलफल र एजेण्डा प्रस्तुत गरिएको थियो ।

यता नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । बैठक बिहान ११ बजेबाट पार्टी कार्यालयमा सुरु हुनेछ । आजको बैठकमा आगामी निर्वाचनको तयारी, प्रचारप्रसारको व्यवस्थापन, सदस्यता विस्तार र नवीकरण, विभागहरूको काम व्यवस्थापनलगायत विविध समसामयिक विषयमा छलफल हुने एमालेले जनाएको छ ।
 


Author

थप समाचार
x