दल

शेखर समूहको बैठक बस्दै, समानान्तर समिति गठनदेखि केन्द्रीय समिति बहिष्कारसम्मको तयारी

इकागज |
असार १५, २०७९ बुधबार २०:४९ बजे

फाइल फोटो

काठमाडौँ - नेपाली कांग्रेसका नेता डा. शेखर कोइराला समूहको बैठक बिहीबार बस्दैछ । कहाँ, कतिबेला बस्ने स्थान र समय तय नभएपनि समूहको बैठक बस्न लागेको कोइरालाको सचिवालयले जनाएको छ । 

स्थानीय निर्वाचनपछि पार्टीभित्र निर्वाचन समीक्षाबारे कुनै छलफल नभएपनि शेखर समूहले भने निर्वाचन समीक्षा, भ्रातृ संस्थामा गरिएको एकलौटी मनोनयनलगायत विषयमा छलफल गर्न बैठक बोलाएको हो । 


पार्टीभित्र निर्वाचन समीक्षाका बारेमा छलफल गर्न भनेपनि सभापति शेरबहादुर देउवाले बैठक डाकेका छैनन् । त्यसैगरी चार वटा भ्रातृसंस्थाका अध्यक्षहरूको मनोनयन गर्दासमेत शेखर समूहका नेतासँग छलफल गर्नसमेत सभापति देउवाले आवश्यक ठानेनन् । 

यसअघि तरुण दल र नेपाल विद्यार्थी संघको अध्यक्ष मनोनयन गर्दा देउवाले एकलौटी गरेका थिए । त्यसबाट रुष्ट भएका शेखर समूहका नेता तथा कार्यकर्ताहरूले त्यसको विरोध गरेका थिए । शेखर समूहलाई तरुण दल र नेविसंघमा समानान्तर समिति बनाउन दबाब समेत परेको थियो ।

सभापति देउवाले शेखरलाई बोलाएर अब जे हुनु भइगयो अब मनोनयन गर्दा तपाईंहरुसँग छलफल गरेर मात्रै गर्छु भनेपनि त्यसको कार्यान्वयन नभएको कोइरालाको सचिवालयले जनाएको छ । 

केही दिनअघि मात्रै सभापति देउवाले पुनः किसान संघ र आदिवासी जनजाति संघको अध्यक्ष मनोनयन गरेका छन् । त्यसरी मनोनयन गर्दा शेखर समूहका पदाधिकारीहरूसमेत  सँग कुनै सल्लाह नगरी एकलौटी गरेको शेखर समूहको निष्कर्ष छ । 

सभापति देउवाले एकलौटी ढंगले किसान संघ र आदिवासी जनजाति संघका अध्यक्ष मनोनयन गरेको भोलिपल्टै शेखर समूहका युवा नेताहरूको बैठक शेखरको सचिवालय बालुवाटारमा बसेको थियो । 

उक्त बैठकमा कांग्रेस केन्द्रीय सदस्यहरू डा. गोविन्दराज पोखरेल र प्रतिमा गौतम, नेविसंघका पूर्व अध्यक्षहरू केशव सिंह र रञ्जित कर्ण, युवा नेताहरू सुवास पोखरेल र मनोजमणि आचार्यले रहेका थिए ।  

सभापति देउवाले शेखर समूहलाई पेलेर अगाडि जान खोजेकोले अब सबै भ्रातृ संस्था र विदेशस्थित जनसम्पर्क समितिमा समानान्तर समिति बनाएर जानुपर्ने र आगामी केन्द्रीय समितिको बैठक बहिष्कार गर्नुपर्ने सम्मको निष्कर्ष उक्त बैठकले गरेको थियो ।

नेता कार्यकर्ताहरूबाट धेरै दबाब आएको र त्यसलाई सम्बोधन गर्न समानान्तर समिति बनाउनै पर्ने र आगामी केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने सम्मको अवस्था आएको शेखर निकट एक केन्द्रीय सदस्यले बताए ।

उनले भने, `सभापति ज्यूले पार्टीभित्रको ४० प्रतिशतलाई अवमूल्यन गरेर पाखा लगाउँदै निरन्तर एकलौटी रुपमा निर्णय गर्दै आउनु भएको छ, हामीलाई नेता कार्यकर्ताको दबाब थेग्नै गाह्रो भएको छ, भोलिको बैठकमा समानान्तर समिति गठन गर्ने र आगामी केन्द्रीय समिति बैठक बहिष्कार गर्नेसम्मको निर्णय हुनसक्छ ।` 

सभापतिमा अत्यन्तै कम भोट ल्याएका कल्याण गुरुङलाईसमेत केन्द्रीय सदस्य मनोनयन गर्ने सभापति देउवाले शेखर समूहबाट उपसभापति पदका उम्मेदवार चन्द्र भण्डारी, महामन्त्रीका उम्मेदवार डा. मिनेन्द्र रिजाल र एक भोटले चुनाव हारेका केन्द्रीय सदस्यका उम्मेदवार हृदयराम थानीलाई केन्द्रीय समितिमा मनोनयन नगरेकाले शेखर समूह आक्रोशित छ । 


Author

थप समाचार
x