दल

मलाई नमिल्ने कारबाही गरियो भने पार्टी विधिमा चलेको छैन भन्‍ने प्रमाणित हुन्छ : भुसाल

'मैले उठाउनै पर्ने विषय उठाएको हुँ, गल्ती गरेको छैन'

कमल विष्ट |
जेठ २२, २०७९ आइतबार ११:३७ बजे

फाइल तस्‍बिर

काठमाडौँ - नेकपा एमालेका स्थायी समिति सदस्य घनश्याम भुसालले आफूमाथि कारबाही गर्न नमिल्ने तर्क गरेका छन् । अध्यक्ष केपी शर्मा ओलीको आलोचना गरेको भन्दै अनुशासन आयोगको कारबाही सिफारिस गरेपछि नेता भुसालले आफूमाथि कारबाही गर्न नमिल्ने टिप्पणी गरेका हुन् । 

नमिल्ने कारबाही गरिए आफूले उठाउँदै आएको विषय प्रमाणित हुने उनको तर्क छ । 'पहिलो कुरो कारबाही गर्ने भन्ने कुरो अनौपचारिकरूपमा सुनेको मात्रै छु । औपचारिकरूपमा कसैले भनेको छैन,' इकागजसँग उनले भने, दोस्रो कुरा कारबाही गर्न मिल्दैन । नमिल्ने कारबाही यदि उहाँहरूले गर्नुभो भने मैले भनेकै कुरा प्रमाणित हुन्छ । पार्टी विधिमा चलेको छैन र पार्टीमा समस्या छ ।'


उनले आफूले कुनै गल्ती नै नगरेको दाबी गरे । उठाउनै पर्ने विषयमात्र आफूले उठाएको उनको भनाइ छ । 'मैले केही कुरा गल्ती भनेको छैन । उठाउनै पर्ने विषय उठाएको हुँ । व्यक्तिको कुरा गरेको छैन । समूह र आन्दोलनको कुरा गरेको छु,' उनले भने, 'मैले बेलाबेलामा मेरा कमजोरीबारे खुलेरै कुरा गर्ने गरेको छु । मेरा गल्ती छन् भने म स्वीकार्न तयार छु ।'  

उनले पार्टीमा समस्या रहेको पुन: दोहोर्‍याए । पार्टीमा देखिएका मूलभूत समस्याबारे छलफल नगरी अन्त मोड्न खोजे कसैको भलो नहुने उनको भनाइ छ । 'अहिले पार्टीमा मूलभूत मुद्दामा समस्या छन्,' उनले भने, 'त्यो मूलभूत मुद्दामा छलफल नगरेर वा त्यसमाथि हुने छलफललाई अन्त मोडेर पार्टीको भलो हुँदैन ।'

बुधबार बसेको अनुशासन आयोगको सचिवालय बैठकले भुसालले अध्यक्ष ओलीविरुद्ध आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै कारबाहीका लागि पार्टी केन्द्रीय कमिटी समक्ष सिफारिस गरेको थियो । अनुसाशन आयोगले सोझै कारबाही गर्न नमिल्ने भएपछि सिफारिस पत्र हाल एमाले सचिवालयमा पुगेको छ । 

भुसालले अध्यक्ष ओलीको कार्यशैलीकै कारण स्थानीय निर्वाचनमा पार्टीले पराजय बेहोरेको बताउँदै आएका छन् । उनले एक टेलिभिजन अन्तर्वार्तामा पनि ओलीको कार्यशैलीको कडा आलोचना गरेका थिए ।


Author

कमल विष्ट

विष्ट रिपोर्टर हुन् ।


थप समाचार
x