दल

स्थानीय तह निर्वाचन : जताततै खुम्चियो एमाले

जीवन कुँवर |
जेठ १३, २०७९ शुक्रबार १०:५५ बजे

काठमाडौँ- २०७९ सालको स्थानीय तह निर्वाचनमा पहिलो दलबाट खस्केर नेकपा एमाले दोस्रो दल बनेको छ । २०७४ सालको स्थानीय तह निर्वाचनमा देशभर २९४ पालिका प्रमुख जितेर एमाले पहिलो दल बनेको थियो । यो पटक भने एमालेको सातै प्रदेशको नतिजा खस्केको छ ।

यो समाचार तयार पार्दासम्म एमालेले यो निर्वाचनमा २०५ पालिका जितेको छ । एमालेले अघिल्लो निर्वाचनमा २९४ पालिका प्रमुखमा जित निकालेको थियो । अघिल्लो निर्वाचनमाभन्दा यो पटक ८९ वटा पालिका प्रमुख एमालेले गुमाएको छ ।


प्रदेश १ मा १३७ पालिका छ । यो प्रदेशमा एमालेले अघिल्ल‍ो पटकभन्दा २२ पालिका प्रमुख गुमाएको छ । अघिल्लो पटक ६९ पालिका प्रमुख जितेको एमालेले यो पटक ४७ पालिका मात्रै जितेको छ । प्रदेश–१ मा पहिलो दलबाट यो निर्वाचनमा एमाले दोस्रो बनेको छ ।

त्यस्तै मधेश प्रदेशमा १३६ पालिकामध्ये यो निर्वाचनमा एमालेले ३० पालिका जितेको छ । मधेशमा अघिल्लो निर्वाचनमा भन्दा यो पटकमा निर्वाचनमा एमालेले सुधार गरेको छ । अघिल्लो निर्वाचनमा १८ पालिका मात्र एमालेले जितेको थियो । मधेशमा पनि एमाले पहिलो दलबाट झरेर दोस्रो दलमा आइपुगेको छ ।

बागमती प्रदेशमा ११९ पालिका छ । जसमध्ये अघिल्लो निर्वाचनमा ६४ पालिका जितेर एमाले पहिलो दल बनेको थियो । बागमतीमा यसपालि एमालेको नतिजा राम्रैसँग खस्किएको छ । यो पटक एमालेले २६ पालिका मात्र जितेको छ । यो पहिलेको भन्दा ३८ वटा पालिका कम हो । बागमतीमा पनि एमालेको नतिजा खस्केर दोस्रो दल बनेको छ ।

गण्डकी प्रदेशमा ८५ पालिकामध्ये अघिल्लो निर्वाचनमा ३४ पालिका एमालेले जितेको थियो । तर यसपटक एमालेले गण्डकीमा केही सुधारेको छ । यो पटक एमालेले गण्डकीमा ३५ पालिका जितेको छ । यो अघिल्लो पटकभन्दा १ बढी हो । गण्डकीमा अघिल्लो पटक पनि दोस्रो स्थानमा रहेको एमालेले यो पटक पनि दोस्रो स्थानमा रहेको छ ।

लुम्बिनीमा १०८ पालिकामध्ये ४३ पालिका जितेर २०७४ सालको स्थानीय तह निर्वाचनमा एमाले पहिलो दल बनेको थियो । तर यो निर्वाचनमा एमाले निकै खस्किएको छ । यो पटक एमालेले २७ पालिका मात्रै जितेको छ । अघिल्लोभन्दा यो पटक १६ पालिका कम जितेर लुम्बिनीमा एमाले दोस्रो दल बनेको छ ।

कर्णाली प्रदेशमा ७९ पालिका छ । जसमध्ये एमालेले यो निर्वाचनमा १५ पालिका मात्र जितेको छ । अघिल्लो निर्वाचनमा २७ पालिका जितेर पहिलो दल बनेको एमाले यो निर्वाचनमा दोस्रो दल बनेको छ । कर्णालीमा यो पटक एमालेले १२ पालिका कम जितेको छ ।

त्यसैगरी सुदूरपश्चिम प्रदेशमा ८८ पालिकामध्ये अघिल्लो निर्वाचनमा एमालेले ३९ पालिकामा जित हात पारेको थियो । तर यो पटक सुदूरपश्चिममा २५ पालिका मात्रै एमालेले जितेको छ । यो अघिल्लो पटक जितेकोभन्दा १४ पालिकामा कम हो । सुदूरपश्चिममा पनि एमाले पहिलो दलबाट खुम्चेर दोस्रो दलमा झरेको छ ।

र, यो पनि


Author

जीवन कुँवर

राजनीति तथा समसामयिक विषयमा कलम चलाउने कुँवर सिनियर करेस्पाेन्डेन्ट तथा डेस्क संयोजक हुन् ।


थप समाचार
x