संसद्

कोशी प्रदेशको नामाकरणमा चित्त नबुझे दुई तिहाई बहुमतबाट परिवर्तन गर्नुहोस् : योगेश भट्टराई

इकागज |
जेठ २६, २०८० शुक्रवार १२:१५ बजे

काठमाडौँ– नेकपा एमालेका सांसद् योगेश भट्टराईले कोशी प्रदेशको नामकरणमा चित्त नबुझेको भए दुई तिहाई बहुमतबाट परिवर्तन गर्न सत्तापक्षीय दललाई चुनौति दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा विशेष समय माग गरेर बोल्दै उनले कोशी प्रदेशका नामाकरणको विषयमा एमाले नेतामाथि आक्रमण भएको भन्दै उनले यस्तो चुनौती दिएका हुन् । 

‘प्रदेशको नाम के राख्ने त्यो हामीसँग मतलब छैन । प्रदेशसभाको कुरा हो । यदि प्रदेशको नाम राख्ने कुरामा कुनै पार्टीलाई चित्त बुझेको छैन भने कोशी प्रदेशमा बैधानिक प्रक्रियाबाट दुई तिहाई बहुमतबाट तपाईँ नाम परिवर्तन गर्नुहोस्,’ उनले भने, ‘हामीलाई त्यो स्वीकार्य छ । त्यो प्रक्रियाबाट आउनुहोस् ढुंगामुढा गरेर हुँदैन ।’


प्रदेश दुईको नाममा आफूले जानकी प्रस्ताव गरेपनि मधेश प्रदेश बहुमतले पारित भएकाले स्वीकार गरेको बताए । कोशी प्रदेशको नामाकरणमा पनि विमति भए संवैधाननिक प्रक्रियाले राख्नुपर्ने उनको भनाइ छ ।

उक्त आन्दोलनले देशलाई साम्प्रदायिक हिसाबले विभाजन गर्न खोजिएको भन्दै उनले त्यसको विरोध गरे । सत्तारुढ दलका केही घटकले कोशी प्रदेशको नामको विषयलाई लिएर एमाले नेताहरूप्रति आक्रमण गरेको उनको आरोप छ ।

उनले गृहमन्त्रीले नेताहरूको सुरक्षा  गर्न नसकेको भन्दै सरकारले सुरक्षा नदिए एमालेले आफ्नो सुरक्षा आफैँ गर्ने समेत बताए । ‘एमाले माथि पार्टीगत हिसाबले नेतागत हिसाबले निसाना लगाइन्छ भने यदि गृहमन्त्रीजी तपाईँले हाम्रो सुरक्षा दिनुहुन्न भने एमालेको सुरक्षा एमालेले गर्छ,’ उनले भने, ‘यसको स्पष्ट जवाफ दिनुपर्छ ।’
 


Author

थप समाचार
x