संसद्

गणतन्त्र दिवस र बजेट भाषण एकै दिन नराख्न निधिको माग

इकागज |
जेठ २३, २०८० मंगलबार १७:२७ बजे

काठमाडौँ– नेपाली कांग्रेसका संघीय सांसद विमलेन्द्र निधिले गणतन्त्र दिवस र बजेट भाषण एकै दिन नराख्न सरकारसँग माग गरेका छन् । बजेट र गणतन्त्र दिवस एकै दिन परेकाले गणतन्त्र दिवस ओझोलमा परेको उनले बताए । 

आगामी वर्ष २०८०–८१ का लागि सरकारले प्रस्तुत गरेको बजेटमाथि टिप्पणी गर्ने क्रममा जेठ १५ गते गणतन्त्र दिवसमात्र राख्न संविधान संशोधन गर्न आवश्यक रहेको बताए ।


‘जेठ १५ गते गणतन्त्र दिवस हो । गणतन्त्र दिवसमा बजेट आउने संवैधानिक व्यवस्था छ । यसले गणतन्त्र ओझेलमा परेको छ,’ उनले भने, ‘अरु कुराका लागि नभए पनि आगामी दिनमा यस कुराका लागि संविधान संशोधन गर्ने सहमति होस् । आगामी दिनमा १५ गतेलाई बजेटको दिन नराखेर अन्य दिन राखियोस् ।’

अहिले संसदमा बजेटमाथि छलफल चलिरहेको छ । 

बजेट निर्माणका क्रममा अर्थमन्त्री प्रकाशशरण महतले करका दर हेरफेर गर्न पूर्व नासु रामकृष्ण श्रेष्ठलाई संलग्न गराएको भन्दै सांसदहरूले विरोध गर्दै बैठक बस्न दिएका थिएनन् । अर्थमन्त्री महतले संसदमा जवाफ दिएपछि बैठक निर्धारित समयभन्दा दुई घण्टा ढिलो गरी सुरु भएको थियो ।
 


Author

थप समाचार
x