संसद्

संसद् बैठकमा प्रम दाहालकाे स्पष्टीकरण

'पशुपतिको जलहरीको विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन'

इकागज |
जेठ १३, २०८० शनिवार १७:२७ बजे

काठमाडौँ– प्रधानमन्त्री पुष्पकमा दाहाल 'प्रचण्ड'ले पशुपतिको जलहरीको विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर संसदमा विचार व्यक्त हुनु उचित नभएको प्रष्ट पारेका छन् । शनिबार संसद्को बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

‘पशुपतिको जलहरीको विषयमा प्रमुख प्रतिपक्षी दलको नेतालाई जोडेर सम्मानित सदनमा विचार व्यक्त हुनु उचित होइन,’ प्रचण्डले भने, ‘यस्ता विषय संसदको रेकर्डबाट हटाउने प्रचलन पनि रहेकै छ ।’ 


नेकपा एमालेले आफ्नो सरकार हुँदा पशुपतिमा लगाएको सुनको जलहरीलाई पित्तलको भनेर सत्ता पक्षले आरोप लगाएको भन्दै शुक्रबार संसद् अवरोध गरेको थियो । एमालेले संसद् अवरोध गरेपछि आज (शनिबार) सम्मका लागि स्थगित भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेकाले सरकारले यसमा सहयोग गर्ने समेत बताए ।

‘श्री पशुपतिनाथ मन्दिरमा रहेको जलहरीबारे सम्मानित सदनमा कुरा उठेको छ,’ उनले भने, ‘पशुपतिनाथको जलहरी लगायतको विषयमा काम गर्ने क्षेत्राधिकार पशुपति विकास कोषको हो । र सोही संस्थाले काम गरेको विषयमा कुनै विवाद छैन । जलहरीका केही विषयबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा निवेदन परी छानबिन अनुसन्धान भइरहेको छ । यस विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वतन्त्र एवं निष्पक्ष छानबिन गर्नेछ । यसमा सरकारले सहयोग गर्नेछ ।’ 


Author

थप समाचार
x